बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘जब मेरो विवाह नेपालमा भयो, आफ्नो सपना पूरा गर्न मैले नेपाली  सिक्नैपर्‍यो’

शनिबार, ०७ भदौ २०८२, २० : ०४
शनिबार, ०७ भदौ २०८२

सारांश

  • राजविराजकी बन्दना मिश्रले ३६ वर्षको उमेरमा नेपाली भाषा सिकेर कविता संग्रह प्रकाशित गरिन्।
  • उनले मैथिली भाषाको संरक्षण र संवर्द्धनका लागि अभियान चलाइरहेकी छिन्।
  • मिश्रले मैथिली भाषाको वर्तमान अवस्था र यसको भविष्यबारे चिन्ता व्यक्त गरिन्।

मातृभाषा भोजपुरी भए पनि राजविराजकी बन्दना मिश्र ‘मधु’लाई नेपाली भाषाप्रति बेग्लै प्रेम थियो । त्यसैले त ३६ वर्षको उमेरमा उनले नेपाली भाषा सिकिन् । गोरखापत्र पढ्दै, नेपाल टेलिभिजन सुन्दै उनले नेपाली सिकिनन् मात्रै निखार्दै लगिन् । सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, इतिहास विभागकी शिक्षक बन्दनाको भाषा र साहित्यमा अगाध प्रेम छ । नेपाली भाषामा हजारौँ लेख लेखिसकेकी बन्दनाको पहिलो कविता कृति ‘कविताको अन्नप्राशन’ गत असार २९ गते विमोचन भइसकेको छ । 

महात्मा गान्धीको आत्मवृत्तान्त र चर्चित बंगाली उपन्यासकार शरतचन्द्र चट्टोपाध्यायको ‘देवदास’को मैथिलीमा अनुवाद गरिसकेकी बन्दनाले मैथिली भाषामा कथा, लोकगीत, बालकथा, बालकविता लेखेकी छन् । मैथिली भाषाको जगेर्नाका लागि विभिन्न अभियान समेत सञ्चालन गरेकी छन् । पर्यावरण, जल, महिला, हिंसाजस्ता विषयवस्तुमा कलम चलाउँदै आएकी बन्दना मैथिली महिला परिषद् राजविराजमा सल्लाहकार समेत छन् । प्रस्तुत छ, उनै मिश्रसँग रातोपाटीकर्मी नरेन्द्र रौलेले गरेको संवादको सम्पादित अंशः

तपाईंको बाल्यकाल र तपाईंको हुर्काइको बारेमा कुरा गरौँ, कहाँ जन्मिनुभयो ? कसरी बित्यो बाल्यकाल ?

मेरो जन्म भारतको बिहार राज्यको सुपौल जिल्लामा भयो । बुबाको त्यहाँ सर्वोदय आश्रम थियो; जुन गान्धी, जयप्रकाश, विनोबाजीको विचारधारामा आधारित थियो । त्यो समाजको विकासका लागि मेरो बुबाले संस्था खोल्नुभएको थियो । अहिले पनि त्यो ग्रामभारती भन्ने संस्था कार्यरत छ । त्यही ग्रामभारती संस्थामै हाम्रो पढाइ, लेखाइ र बाल्यावस्था बित्यो । भागलपुर युनिभर्सिटी, बिहारबाट मैले मास्टर डिग्री गरेँ । 

मातृभाषा मैथिली भए पनि यहाँले ३६ वर्षको उमेरमा नेपाली भाषा सिकेर नेपालीमा कविता सङ्ग्रह नै निकाल्नुभयो । कैयौँ लेख लेख्नुभयो । नेपाली सिक्न कतिको गाह्रो भएको थियो ? 

हिन्दीबाट मैले सन् १९९१ मा मास्टर डिग्री गरेँ, भागलपुर युनिभर्सिटीबाट । हाम्रो पढाइको भाषा त हिन्दी थियो, मातृभाषा भने मैथिली । बिहे भएपछि जब म नेपाल आएँ, अनि भाषा सिक्नुपर्छ भन्ने लाग्यो ।
सानैदेखि मलाई लाग्थ्यो— शिक्षण पेसामा लाग्नुपर्छ, शिक्षाको माध्यमले समाजलाई जागृत गर्नुपर्छ, समाजलाई शिक्षित गर्नुपर्छ । जब मेरो विवाह नेपालमा भयो, आफ्नो सपना पूरा गर्न मैले नेपाली  सिक्नैपर्ने भयो । 
कुनै पनि भाषा सिकेपछि गाह्रो हुँदैन, सिक्ने दृढ इच्छाशक्ति भने हुनुपर्छ । मेरो दिमागमा त्यही कुरा थियो ।  

ब्रेकर  भानुभक्तजीले रामायणलाई नेपालीमा अनुवाद गरेर जनताका लागि सुलभ गराइदिनुभयो । त्यसैले भानु जयन्ती पारेर मैले कवितासंग्रहको विमोचन गराएँ । नेपाली भाषाप्रति मेरो अगाध प्रेम छ र कवि भानुभक्तप्रति मेरो श्रद्धासुमन छ ।

जब महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा मेरो नियुक्तिको कुरा आयो, सरकारी कलेजहरूमा अंग्रेजी माध्यमले पठनपाठन हुँदैनथ्यो, त्यहाँ त नेपाली भाषा चाहिन्थ्यो । मैले नेपाली भाषा सिक्नैपर्ने भयो । म काठमाडौँ बस्दाखेरि नेपाल टेलिभिजन हेर्थें, गोरखापत्र पढ्थेँ । घरबाट बाहिर निस्केर ट्याक्सीवाला, ट्याम्पोवाला, रिक्सावाला, तरकारीवालाहरूसँग नेपाली सिक्न कोसिस गरेँ । कतिपय कुरामा मलाई अलिकति समस्या आउँथ्यो । 

घरमा नेपाली शब्दकोश राखेकी थिएँ । त्यसबाट पनि म सिक्थेँ । अहिले पनि केही उच्चारणमा र प्रस्ट रूपमा भन्न समस्या हुन्छ । व्याकरणसम्बन्धी पनि केही समस्या हुन्छ होला । यद्यपि मलाई लाग्छ कि म धाराप्रवाह नेपाली बोल्छु । 

३६ वर्षको उमेरमा नेपाली सिकेर, नेपालीमै कविता सङ्ग्रह ‘कविताको अन्नप्राशन’ विमोचन गर्नुभयो, कस्तो अनुभूति भएको छ ?

त्यो धेरै सुखद अनुभूति थियो । भानुभक्तलाई हामी आदिकविका रूपमा चिन्छौँ । त्यो समयमा पठनपाठन, जति पनि कुराहरू थिए, सबै संस्कृत भाषामा हुन्थ्यो । आम जनतालाई धेरै समस्या आउँथ्यो । भानुभक्तजीले रामायणलाई नेपालीमा अनुवाद गरेर जनताका लागि सुलभ गराइदिनुभयो । त्यसैले भानु जयन्ती पारेर मैले कवितासंग्रहको विमोचन गराएँ । नेपाली भाषाप्रति मेरो अगाध प्रेम छ र कवि भानुभक्तप्रति मेरो श्रद्धासुमन छ । 

मैथिली भाषामा के के लेख्नुभएको छ ?

मैथिली साहित्य परिषद् र मैथिली महिला परिषद्का तर्फबाट सामूहिक काव्य सङ्ग्रहको पुस्तिका प्रकाशित भएको छ । त्यसमा दुईवटा मेरा कविता छन् । विभिन्न समसामयिक विषयमा मैथिली भाषामा निबन्ध र अन्य रचना छन् । मैथिली भाषामा ६५ वटा कथा लेखेकी छु । मसँग पाण्डुलिपि तयार छन् । मैले महात्मा गान्धीको आत्मकथा मैथिली भाषामा अनुवाद गरेँ । यस्तै साहित्यकार शरतचन्द्र चट्टोपाध्यायको हिन्दीमा छापिएको उपन्यास ‘देवदास’को अनुवाद पनि गरिसकेकी छु । यसको फिल्म पनि बनेको छ । पाठकको समक्ष त्यो पुगोस् भन्ने मेरो चाहना हो । 

कतिवटा पाण्डुलिपि तयार छन् अहिले तपाईंसँग ?

पाण्डुलिपि एउटा त महात्मा गान्धीजीको आत्मकथा हो । एउटा त्यही ‘देवदास’ हो र अर्को कथासङ्ग्रह छ । बालकविता, बालकथा र केही लेख पनि छन् । यस्तै नेपालमा महिलाको आन्दोलनदेखि महिलाका विभिन्न पक्षलाई समेटेर लेखिएको एउटा निबन्धसंग्रह तयार छ, जो नेपाली र मैथिली दुवैमा छ । 

हिन्दीमा पनि मेरो एउटा कविता सङ्ग्रहको पाण्डुलिपि छ । त्यसको नाम हो ‘कलकल बहती धारा’ । त्यसमा ८० वटाजति कविता छन् । त्यो पनि अहिले प्रकाशनको क्रममा छ । 

साहित्यमा लाग्न के कुराले प्रेरित गर्‍यो यहाँलाई ?

मेरो पेसा त शिक्षण हो । यो पेसाकै क्रममा म लाइब्रेरीमा गएर विभिन्न पुस्तक पढ्थेँ । पटनामा एउटा सिन्हा लाइब्रेरी छ, त्यहाँ पनि म सानैदेखि बुबासँग जान्थेँ । त्यहाँ घण्टौँसम्म पढ्थेँ । सानैदेखि मैले म्यागजिन र किताबहरू पढ्थेँ । 

कसैले मलाई किताब उपहार दिन्थे । उपहार पाउँदा साह्रै खुसी लाग्थ्यो । मलाई बिस्कुट, टफी चाहिएन, किताब चाहियो । त्यो कुरा मेरो बुबालाई राम्ररी थाहा थियो । उहाँ दिल्लीबाट वा जहाँ–जहाँबाट घर आउनुहुन्थ्यो, मेरा लागि किताब नै गिफ्टमा ल्याउनुहुन्थ्यो । ‘गृहशोभा’, ‘सरिता’, ‘कादम्बिनी’जस्ता म्यागजिनहरू हामी पढ्थ्यौँ । 

हाम्रो जमानामा ‘हिन्दुस्तान टाइम्स’, ‘धर्मयुग’ जस्ता हिन्दी म्यागजिन आउँथे । नेपालमा आएर ‘नारी’ पत्रिका, ‘जागृति’, ‘युवा मञ्च’ नियमित पढेँ । राजविराज क्याम्पसमा हाम्रो लाइब्रेरी छ, त्यसमा छुट्टीको बेलामा गएर पढ्थेँ । 

राजविराजमा मैथिली साहित्य परिषद्को आफ्नो निजी पुस्तकालय छ, सन्दर्भ पुस्तकालय । त्यसमा विभिन्न लेखक तथा साहित्यकारका किताब छन्, त्यहाँ पनि पढ्थेँ । पढ्ने बानी मेरो सानैदेखिको हो, जुन अहिलेसम्म छ । त्यसमा बुबाको पनि योगदान छ । घर–परिवारको माहोल पनि त्यस्तो भयो । यी सबैले मलाई साहित्यिक कर्ममा लाग्न प्रेरित गरे । 

इतिहासमा कसरी रुचि जाग्यो ?

मेरा एक शिक्षक हुनुहुन्थ्यो, वैद्यनाथ झा । उहाँ मेरो नातेदार पनि हुनुहुन्थ्यो । उहाँले मलाई इतिहास पढ, इतिहास धेरै राम्रो छ भन्नुभयो । त्यो समयमा मलाई गाह्रो विषय लाग्थ्यो । त्यसपछि सहज रूपले अपनाएँ र पढेँ । पढ्दा धेरै आनन्द आयो । पछि इतिहासलाई आफ्नो प्रमुख विषय बनाएँ । 

नेपालमा नेपालीपछि दोस्रो सबैभन्दा बढी बोलिने भाषा मैथिली हो । अहिले मैथिली भाषा, साहित्यको अवस्था कस्तो छ ?

तपाईंले धेरै जुझारु र क्रान्तिकारी प्रश्न गर्नुभएको छ । मलाई के दुःख लाग्छ भने तराईतिर जति मैथिली भाषी छन्, उता धेरै ठुल्ठुला कुरा गर्छन् । लाइब्रेरी खोल्छन्, संस्था खोल्छन्, मैथिलीको विकासको बारेमा काम गर्छन्, किताबहरू निकाल्छन् तर काठमाडौँ आएपछि तिनीहरू आफ्नो भाषाप्रति एकदम नकारात्मक दृष्टिकोण राख्छन् । म तिनीहरुको नाम लिन चाहन्नँ । 

मैथिली भाषामा धेरै राम्रो साहित्यकारहरू पनि छन् । धीरेन्द्र प्रेमर्षि, रूपा झा हुनुहुन्छ । झा कान्तिपुर टेलिभिजनमा काम गर्नुहुन्छ । उहाँहरू काम गरिरहनुभएको छ । रामभरोस कापडी ‘भ्रमर’ मधेश प्रज्ञा प्रतिष्ठानको अध्यक्ष हुनुहुन्छ । 

मैथिली भाषाप्रति जुन प्रेम हुनुपर्ने, त्यसमा अलिकति शून्यता देख्छु । युवाहरू कि नेपाली बोल्छन्, कि अंग्रेजी । मलाई अलिकति मनमा दुःख छ, अलिकति कहीँकहीँ दर्द पनि छ, चोट पनि छ । यस्तो समृद्धिशाली भाषा लोप भइरहेको छ । त्यसलाई कसरी संरक्षण गर्ने, कसरी संवर्द्धन गर्ने, कसरी जोगाउने आफ्नो कलमका माध्यमबाट ? म यसैमा प्रयत्नशील छु । 

मेरो संस्था छ, मैथिली महिला परिषद्, त्यो पनि यसमा लागिपरेको छ । हामी आफ्नो मिथिला कल्चरलाई जोगाइरहेका छौँ । मिथिलाको संस्कृति, मिथिलाको लोकगीत जोगाउन प्रयत्नशील छौँ । हामीलाई यो धेरै गर्वको कुरा छ कि मैथिली भाषा हाम्रो नेपालमा द्वितीय भाषा हो । यो धेरै समृद्धिशाली र मिठो भाषा हो । यति समृद्धिशाली भाषा छ कि यसको आफ्नो लिपि, आफ्नो व्याकरण छ । 

यहाँको बुझाइ अनुसार अहिलेका युवापुस्ताले मैथिली भाषालाई बिर्सिंदै गए । आफ्नो संस्कार, संस्कृति र भाषालाई बिर्सिंदै गएकामा यहाँलाई चिन्ता छ । 

बिल्कुल । एकदम चिन्ता छ । तराईतिर मैले एउटा अभियान नै चलाएकी थिएँ—मैथिली भाषिक अभियान । त्यो दुई सालसम्म चल्यो, डेढ साल त राम्रै चल्यो । बोर्डिङ स्कुलहरूमा मैले आफ्नो महिला टिम लिएर जान्थेँ र भन्थेँ कि तपाईंहरू मलाई एक घण्टी (पिरियड) दिनुहोस् । म बच्चाहरूसँग कविताको प्रतियोगिता गराउँछु, मैथिली भाषामा । उनीहरूलाई मैथिली भाषामा लेख्न प्रेरित गर्छु । त्यो भएर म स्कुल–स्कुलमा गएर धेरै कार्यक्रम आयोजना गरेँ । हरेक महिना दुई–तीनचोटि राजविराजमा कार्यक्रम गरेँ । 

अहिले पनि त्यो चलिरहेको छ । आफ्नो टिमलाई लिएर म आयोजना गर्छु । ताकि बच्चाहरूलाई आफ्नो भाषाप्रति माया आओस्, प्रेम आओस् । लेखाइमा गल्ती गरे पनि त्यसलाई हामी सुधार्छौं । यसपालि मैले प्लस टुका कलेजहरूमा पुगेर फरक कार्यक्रम गरेँ । केटाकेटीलाई बोलाएर रामायणबाट प्रश्न लिएर तिनीहरूलाई दिएँ । तिमीहरू मैथिली भाषामा लेखेर बताऊ भन्ने प्रतियोगिता आयोजना गरियो । गल्ती गरेको ठाउँमा हामीले सिकायौँ । 

शिक्षा अधिकारीहरूलाई हामीले भेटेर भन्यौँ, ‘हरेक स्कुलमा कम्तीमा मैथिली भाषाको एक शिक्षक दिनुहोस् ।’ उल्टै जवाफ आयो, ‘खोइ, कहाँ छ मैथिली भाषाको टिचर ?’

हाम्रो राजविराज क्याम्पसमा मैथिली भाषाको पढाइ हुन्छ । त्यसमा मेरै परिवारकी एक काकी हुनुहुन्छ, शैलबाला मिश्रा । उहाँ अहिले मैथिली पढाउनुहुन्छ । अरू त रिटायर्ड हुनुभयो । जब विद्यार्थीहरू मैथिली पढेर निस्किन्छन्, तिनीहरूलाई जागिर भेटिँदैन । 

मैथिलीमा मास्टर डिग्री सकेर आएका दुई–तीन विद्यार्थीले मलाई भने, ‘म्याडम, हामीले मैथिलीमा डिग्री लियौँ तर जागिर कहाँ छ ?’ फेरि हामी गयौँ शिक्षा अधिकारीकहाँ । उहाँ भन्नुहुन्छ, ‘होइन, त्यो कुनै प्रावधान नै छैन । नियुक्ति कसरी दिने ? पैसा कहाँबाट ल्याउने ? त्यस्तो हाम्रोमा छैन ।’ त्यही भएर प्रिन्सिपलहरूले राख्न मान्दैनन् । म आफ्नै संस्थाबाट स्वयंसेवक शिक्षक दिने गर्छु । हामी प्रयत्नशील छौँ । 

मैथिली भाषा मासिँदै गएकामा यहाँलाई यति धेरै चिन्ता किन ? 

किनभने यो मेरो मातृभाषा हो । मातृभाषा हरेक व्यक्तिलाई प्यारो हुन्छ । यसमा अरू कुनै विशेष कारण छैन । तपाईं विदेश जानुहोस्, हरेक ठाउँको आफ्नो निजी भाषा पनि छ । हामी अरूको किन देखासिकी गर्ने ?

हाम्रा मातृभाषा यति समृद्धिशाली छन् । तिनलाई किन प्रमोट नगर्ने ? तिनलाई किन अगाडि नबढाउने ? फेरि मल्लकालकै प्रसङ्ग कोट्याउन मन लाग्यो मलाई । मल्लकालमा काठमाडौँमा कसरी राजकाजको भाषा मैथिली बन्यो ? त्यो पछि गएर कति सालदेखि हरायो ? कति सालदेखि त्यो बिलायो ? कसरी काठमाडौँबाट त्यो मैथिली भाषा लोप भयो ? मलाई जिज्ञासा भइरहन्छ । 

विद्यार्थी पढ्न चाहन्छ, शिक्षकको कमी छ । छात्र पढ्न जागरुक छ, तर त्यहाँ पढाउने मान्छे छैन । यसले सरकारी मान्यता पनि पाएन । हरेक कुरामा आर्थिक पाटो पनि जोडिन्छ । सायद यसरी यो लोप भयो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र रौले
नरेन्द्र रौले
लेखकबाट थप