शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नेपालको राजनीति, जनतालाई सास्ती

आइतबार, ०८ भदौ २०८२, १३ : ०२
आइतबार, ०८ भदौ २०८२

जीवन पथमा हिँडिरहेको एउटा बटुवाले बाटोबाटै बोटमा पाकिरहेको मिठो, आकर्षक फलको राजा आँप उसका तिखा आँखाले देख्यो तर टिप्न ती आँखाले कसरी सक्थे र ? रूखमा चढेर देखे मात्र  । आँखाले देखेपछि खान मन त लागिहाल्यो  । तब शरीरको सरकारले गोडालाई भन्यो, ‘जा, टिपेर ले  ।’ तब गोडा रूखमा चढ्यो  । रूखमा गोडा त पुग्यो तर टिप्न त सकेन, अनि भन्यो, ‘ए हात ! तँ टिप  ।’ हातले टिप्यो तर खान त सकेन । तब भन्यो, ‘ए मुख ! तँ खा ।’ खान त मुखले खायो तर स्वाद त थाहा भएन । तब भन्यो, ‘ए जिब्रो ! ल भन् स्वाद कस्तो छ ?’ 

मिठो ।

‘त्यसो भए राख ।’

म चाख्ने हुँ, राख्ने होइन । 

ए त्यसो भए पेट ! तँ राख ।’ 

‘हस्’ भन्ने स्वीकृति दिँदै राखेर भन्न थाल्यो, ‘आँखाले देख्यो, चढ्न सकेन; गोडाले चढ्यो, टिप्न सकेन; हातले टिप्यो, खान सकेन; मुखले चाख्यो, खायो, राख्न सकेन तर मैले राख्न सकेँ ।’ 

फलको मालिक आएर दनादन लौराले गोद्यो । पिटाई त न आँखाले खायो, न गोडाले, न त हातले, न मुखले, न त पेटले । पिटियो को ? ढाड । दुख्यो कसलाई ? ढाडलाई । तर अन्तमा रोयो को ? आँखा, जसले देखेको थियो । तसर्थ पीडा देख्नेलाई नै हुन्छ, जो अन्तर हृदयको अन्तरदृष्टिदेखि चर्मचक्षुसम्मले देख्न, बुझ्न र हेर्न सक्छ । जसले देख्छ, उसलाई दुख्छ, पीडा र सास्तीको कठोर अनुभूति गर्छ ।

त्यसैले यहाँ आँखा भनेको जनता हो । अनि जनता र नेताका कुरा आउँछन् । हाम्रो देशको सात सालदेखिको पद्धति परिवर्तन र हुन नसकेको व्यवस्थापनको कारण बिस–बिस वर्षमा यहाँ घुमिफिरी उही ‘रुम्जाटार’ फेरि कुरा आउँछ पद्धति परिवर्तनकै । भन्नैपर्छ, फेरि यहाँ पनि कुरा ‘खड्काको खेती’ जस्तै भयो— समय नचिन्ने, बाली नफेर्ने, प्रविधि नबदल्ने, बिउ नबदल्ने, पानी, वर्षा र माटोको ख्यालै नगर्ने । सबै कुरा पहिले, पोहोर, परार जे थियो, जे गरेको थियो, जसले जहिले गरेको थियो, त्यही गर्दागर्दै खड्काले त्यत्रो ‘चञ्चला श्री’बाट औल्याहा भई चितवन जान बाध्य भए । पहाडका आपति, चितवनका सभापति भए, फेरबदल र व्यवस्थापन गरेपछि ।

अर्को उपमा राजा ज्ञानेन्द्रकै लिन सकिन्छ । ज्ञानेन्द्रले बाउ महेन्द्रले जे गरे त्यही गर्छु, जसलाई उपयोग गरे उसैलाई गर्छु, जसरी गरे त्यसै गर्छु भनेर चार दशकअघिको बाउ महेन्द्रको पारामा माओवादी सोचले अवधि सकिएको औषधि प्रयोग नगरेर नयाँ सोचमा गएको भए, खड्का चितवन जान बाध्य भएझैँ राजा नारायणहिटी छोड्न सजिलै बाध्य हुने परिस्थिति सितिमिति आउने थिएन । यो पनि सत्य हो । विश्व इतिहासमै नेपाली राजाले सहजै ४४९ वर्षको सिंहासन र श्रीपेच जनताको नासो जनतालाई नै फिर्ता गरे भन्ने लेखियो, त्यो पनि आफ्नै ठाउँमा साँचो हो । अनि यता हामीले पद्धति फेर्‍यौँ, पात्र फेरेनौँ, त्यसैले प्रवृत्ति फेरिएन । प्रवृत्ति परिवर्तन नभएपछि प्रक्रिया र प्रविधि परिवर्तन हुने कुरै भएन । त्यसैले त हामी नेपालीलाई बाख्रीलाई बेतैपिच्छे रुनुपरेको छ । किनकि जति पद्धति परिवर्तन गरे पनि जनजीवनमा प्रत्यक्ष प्रभाव पर्ने र मुलुकको दिगो उन्नतिको खाका नै कोरिएन । त्यसैले मुलुकमा उन्नति र समृद्धि उन्मुख व्यवस्थापन पटक्कै भएन । पात्र उही, प्रवृत्ति उही । अनि भ्रष्टाचार र स्वार्थमा निर्लिप्त नेतृत्वको पात्रबाट मुलुक र जनता झन् नयाँ–नयाँ बुनियादी काइदा र झुट्टा पुलिन्दा बाँड्ने र फट्याइँ अनि शोषणबाट पीडित हुनाले आक्रोश पोखिरहेका छन् । 

ओछ्यानमै मुत्न पनि नहिच्किचाउने भइसके तर पनि पद्धतिमा सरकार चलाउने र दलीय नेतृत्व कुनै साग, कुनै कुसाग नभई मकै–मकै सबै एकै छन् । यो पनि शाश्वत सत्य हो । हामी अलिकति बुझेका भनेकाले बुझ पचाएरै बहकिएका छौँ, यो पनि सत्य हो स्वार्थमा । यता बुद्धिजीवीबाट पनि नेपाली जनता ठगिएकै छन् व्यक्तिगत स्वार्थमा । यो देशका बुद्धिजीवी चिनी बिकेझैँ बिकेकै छन् स्वार्थको बजारमा । 

सबै परिवर्तनको आधार दृष्टि कुन हो ? जनता । आन्दोलन गर्ने, मर्ने–मार्ने, कष्ट बेहोर्ने, बुट–बुलेट खाने जनता; पीडा सहने जनता तर स्वाद लिने भित्र (सत्तामा) बस्ने । मुलुक मार्ने, कमाउने, ढुकुटी भर्ने, राख्ने किर्ना स्वरूपका नेता । फेरि पनि कुटिने, कर तिर्ने र रुने, मर्कामा पर्ने जनता नै, जसले केही देखेर मरिमेटेर गर्‍यो, त्यही पीडामा पर्‍यो । मस्ती गर्नेलाई मस्तीको मस्ती । जनतालाई सधैँको सास्ती, नेपालको राजनीति । जनतालाई सास्ती सात सालदेखि अहिलेसम्म भइरहेछ यस्तै भलिभाँती । कहिल्यै मुलुकमा व्यवस्थापन हुन सकेन । यसको कारक पद्धति होइन, प्रमुख कारक पात्र (नेता), दोस्रो नेतादेखि जनतासम्मको प्रवृत्ति हो । यिनै दुई कारणबाट उत्पन्न प्रक्रिया र प्रविधि पनि परम्परागत नै रहिरह्यो, फेरिएन । झन् टेबलमुनिबाट हात छिराएर खानेहरू हाकाहाकी टेबलमाथि नै बार्गेनिङ गरीगरी खाने भए । जनताको हितको जनशासन परिपाटी कहिल्यै आएन । भ्रष्टाचारमै डुबिरह्यो । मुलुक कङ्गाल हुँदै गयो । नैतिकता र निष्ठा कुन चराको नाम हो ? नेपाली राजनीतिमा लास्ट बेन्चबाट नेता बनेकालाई थाहा हुने कुरै भएन । अनि कसले गर्ने ? मुलुकमा समृद्धिको बाटोमा जाने बहुआयामिक व्यवस्थापन ।

जनतालाई सधैँको सास्ती, नेपालको राजनीति । जनतालाई सास्ती सात सालदेखि अहिलेसम्म भइरहेछ यस्तै भलिभाँती । कहिल्यै मुलुकमा व्यवस्थापन हुन सकेन । यसको कारक पद्धति होइन, प्रमुख कारक पात्र (नेता), दोस्रो नेतादेखि जनतासम्मको प्रवृत्ति हो । यिनै दुई कारणबाट उत्पन्न प्रक्रिया र प्रविधि पनि परम्परागत नै रहिरह्यो, फेरिएन ।

यसको सुधार हुन जनताकै प्रत्यक्ष संलग्नता र निर्णय चाहिन्छ । त्यसका लागि संविधान संशोधनको दिशामा जाने र राष्ट्रलाई बोझ भएका कुराहरू संशोधन गरी हटाइदिने । त्यो भनेको पहिले सङ्घीयताको नाममा केन्द्रीय शासन भइरहेछ, यो रोक्ने काम गर्नैपर्छ । सङ्घीय सांसदको हैकम हटाउनुपर्छ, नीति–नियम बनाउनेबाहेक पैसो छिरिक्क छुन दिनैहुन्न । सांसद मन्त्री बनाउनै हुन्न । सङ्घीय सांसद संख्या १२० देखि बढीमा १४० सम्म । १ प्रदेशमा बढीमा १५–२० जना । समानुपातिक नामको सांसद छिराउने सुरुङमार्ग बन्द गर्ने । माथिल्लो सदनमा पूर्ण समानुपातिक सांसद रहने व्यवस्था गर्ने, त्यहाँ पनि संख्या बढीमा ७० भन्दा बढी नगर्ने । नगर र गाउँपालिका समेत भइरहेको संख्यामा कटौती गर्ने । जिल्ला समन्वय परिषद् खारेज गर्ने ।

दोस्रो, हरेक दलको नेता वडा एकाइदेखि निर्वाचित हुँदै आएर छानिनुपर्ने, मनोनीतको टिको र समानुपातिकको कुर्थो आफैँभित्र मिलाएर सर्लक्क छानिएर आउनैपर्ने प्रावधान हुनुपर्छ । सांसद बनाउने सुरुङमार्ग बन्दै गर्नुपर्छ । नत्र नयाँ कुरा, पुरानो गुजाराबाहेक केही छैन, देखिँदैन । अहिले केन्द्रीय स्तरको सङ्घीय प्रणाली पो चलिरहेछ त, बाइ ! हुँदैनभाको काहीँ । संख्या र सुविधामा कटौती गरिएन भने मुलुक केही वर्षमै हरिताल हुने सङ्केत देखिइसकेको छ । भ्रष्टाचारीलाई खोजी–खोजी डाम्न अख्तियारलाई विनाहस्तक्षेप स्वतन्त्र रूपमा काम गर्न दिने । शोषक किर्ना निर्मूल गर्ने वातावरणको कानुन बनाउने, सरकारले न्यायालयमा नाङ्गो नाच लाउन नपाउने गरी स्वतन्त्र न्यायालय चल्न दिने कानुनमै व्यवस्था गर्ने । यसरी राज्यको हरेक इकाइमा समयसापेक्ष र मुलुकको व्ययभारलाई ध्यानमा राखेर अब पनि सुधार गरिएन भने हालका सबै नै चौरासीमा पर्ने, मुलुक हरिताल हुने पक्का छ । हेर ! ‘आँखा रोयो, मुलुक बन्दै गयो खोयो ।’

बेलैमा होसमा आउ, सबै दलका नेतृत्व पङ्क्तिका नेताहरू ! विसर्जन हुने दिशामा मति नबिगार । यही भन्छ, जनताको विपद्, विप्लव र विद्रोहको आँखाको भाकाले । कान खोलेर सुन्ने गर र म/हामी कति इमानदार वा बेइमान छु/छौँ भनेर आफैँमा आत्मालोचना गर, नत्र भोलिका दिनमा खैरियत रहला जस्तो छैन, यो पनि पक्का हो, याद गर । जनताको रगत र आँसुले कुनै पनि कृतघ्नलाई नपिरी किमार्थ छाड्नेछैन । यो पनि सत्य–सत्य सन्देश हो, बेलैमा बुझे राम्रो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरेश भट्ट
सुरेश भट्ट
लेखकबाट थप