बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
बचतकर्ता आक्रोशित

जीबी राईका जेठानलाई धरौटीमा छोडेपछि सहकारी पीडित आक्रोशित, आदेश खारेजीको माग

सोमबार, ०९ भदौ २०८२, १८ : ३३
सोमबार, ०९ भदौ २०८२

सारांश

  • सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष ज्ञान बहादुर बम्जनलाई १० लाख धरौटीमा रिहा गरेपछि बचतकर्ताहरू आक्रोशित भएका छन्।
  • पीडितहरूले सरकारी वकिलको अनुपस्थिति र सेटिङको आरोप लगाउँदै उक्त निर्णय खारेज गरी पुनः बहसको माग गरेका छन्।
  • पीडितहरूले अदालतको सीसीटिभी फुटेज सार्वजनिक गर्न र न्यायपरिषद्ले छानबिन गर्न माग गरेका छन्।

पोखरा । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष ज्ञान बहादुर बम्जनलाई अदालतले धरौटीमा छोडेपछि पीडित बचतकर्ताहरू आक्रोशित भएका छन् । आइतबार कास्की जिल्ला अदालतले उनलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियाे । 

आइतबार बमजन बिहान अदालत उपस्थित भएर साँझ धरौटीमा छुटेका हुन् । यसले न्याय प्रणालीमाथि नै गम्भीर प्रश्न उठेको पीडितहरूको आरोप छ । सरकारी वकिलको उपस्थितिविना नियोजित ढङ्गले उन्मुक्ति दिनुमा उनीहरुले सेटिङ देखेका छन् । सोमबार पोखरामा पत्रकार सम्मेलन गर्दै उनीहरूले उक्त निर्णय खारेज गरी पुनः बहस गराउन माग गरेका छन् । 

सूर्यदर्शन पीडित सङ्घर्ष समितिका संयोजक किरण श्रेष्ठले सरकारवादी मुद्दामा बहस हुँदा सरकारी वकिलको उपस्थिति अनिवार्य हुनुपर्नेमा बमजनको मुद्दामा उपस्थिति नभएको दाबी गरे । तर, अदालतबाट जारी आदेशमा भने नेपाल सरकारको तर्फबाट सहायक जिल्ला न्यायाधिवक्ता सुजाता पौडेल उपस्थित भएको दाबी गरिएको छ । 

'हामी बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म अदालत परिसरमै थियौँ । बहस चलिरहँदा प्रतिवादी र जाहेरवालाका वकिल मात्र थिए । सरकारी वकिलको तर्फबाट कोही पनि आएनन्,झ उनी भन्छन्, ’अदालतको आदेशमा उपस्थित भएको भनेर नाम लेखिन्छ भने यसलाई सेटिङ नभनेर के भन्ने ? यो त प्रमाण नै नष्ट गर्ने र न्याय मार्ने खेल भयो ।'

पीडितहरूले उक्त दिनको अदालतको सीसीटिभी फुटेज सार्वजनिक गर्न र न्यायपरिषद्ले यस घटनाको गम्भीर छानबिन गर्न माग गरेका छन् । जिल्ला न्यायाधिवक्ताको कार्यालयले समेत आफूहरूलाई अदालतबाट जानकारी नै नआएको जवाफ दिएको छ । 

अदालतले तोकेको १० लाख रुपैयाँ धरौटी रकम अत्यन्तै शङ्कास्पद रहेको उनीहरूको गुनासो छ । यही प्रकरणमा पक्राउ परेका सहकारीका तत्कालीन उपाध्यक्ष देवकुमार नेपालीलाई २० लाख रुपैयाँ धरौटी तोकिएको थियो । संस्थाका संस्थापक अध्यक्षलाई सामान्य रकममा छोड्नुमा शङ्का रहेको श्रेष्ठले बताए । 

केमा छ कैफियत ?

बम्जनको बयानमा उनले ‘मौकाको बयान’ सही भएको स्वीकार गरेको उल्लेख छ । तर, ‘मौकाको बयान’ प्रहरीले पक्राउ गरेपछि लिइने बयान हो । 

बम्जन आफैँ अदालतमा हाजिर भएकाले उनलाई प्रहरीले कहिल्यै पक्राउ गरेर बयान नलिएको अवस्थामा ‘मौकाको बयान’ उल्लेख गर्नु गलत प्रष्ट देखिने पीडितहरू बताउँछन् ।

अर्का पीडित भीमप्रसाद चपाईंले न्याय प्रणाली र राजनीतिक दलहरू मिलेर गरिबको पैसा लुटेको आरोप लगाए । 'सरकारवादी मुद्दामा सरकारी वकिल नै नआउनु भनेको सबै मिलेर सेटिङ गरेको हो भन्ने स्पष्ट भयो,झ उनले भने, ’हामी अन्याय सहदैनौँ । अब म एक थोपा रगत भए सम्म बेचेर लड्छु, तर यो अन्यायविरुद्ध आवाज उठाउन छाड्दिनँ ।’

उनले मुख्य अभियुक्त जीवी राईलाई समेत राजनीतिक संरक्षणमा लुकाइएको र अहिले उनका नातेदारलाई पनि सामान्य प्रक्रिया पूरा गरेर उन्मुक्ति दिन खोजिएको आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप