बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अन्तरवार्ता

दुई मिनेटको गफबाट नेता छानेकै कारण आजसम्म यो दुर्गति भएको हो : विपिन आचार्य

मङ्गलबार, १० भदौ २०८२, १४ : १४
मङ्गलबार, १० भदौ २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही-३ को उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया सुरु गर्यो।
  • पार्टीले उम्मेदवार छनोटका लागि लिडरशिप एकेडेमी, प्राइमरी निर्वाचन जस्ता विधि अपनाएको छ।
  • रास्वपाका अनुसार, उम्मेदवार छनोट प्रक्रिया २०८४ को चुनावका लागि पनि उपयोगी हुनेछ।

कात्तिक १७ गते रुपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भदौ १५ गते उम्मेदवारको टुङ्गो लगाउँदैछ । रास्वपाबाट उम्मेदवार बन्न ९ जनाले आवेदन दिएका छन् । तीमध्येबाट उम्मेदवार छनोट गर्न यसपटक पार्टीले दुई प्रक्रिया अवलम्बन गरेको छ ।

पहिलो प्रक्रिया अन्तर्गत रास्वपाले लिडरशिप एकेडेमी, पोलिटिकल प्रोग्जेमिटी र समावेशीलाई मुख्य आधार बनाएर मापन गरिरहेको छ । दोस्रो प्रक्रियामा उम्मेदवारहरूको प्राइमरी निर्वाचन भदौ १२ र १३ गते राखिएको छ । यी दुवै विधिबाट जसले बढी मत ल्याउँछ, त्यो नै पार्टीको आधिकारिक उम्मेदवार बन्नेछ ।

अन्य दलको तुलनामा उम्मेदवार छनोटमा पृथक अभ्यास गरेको रास्वपाले अहिलेसम्म के–के गर्‍यो ? यो प्रक्रिया कति झन्झटिलो रहेछ ? अघिल्लो निर्वाचनमा उम्मेदवार छान्न प्राइमरी निर्वाचनमात्र गरेको रास्वपाले योपटक किन यस्तो अभ्यास गर्‍यो ? यसै विषयमा केन्द्रित रहेर रास्वपाका लुम्बिनी प्रदेश इन्चार्ज तथा सहमहामन्त्री विपिन कुमार आचार्यसँग रातोपाटीकर्मी गणेश पाण्डेले कुराकानी गरेका छन् । प्रस्तुत छ, आचार्यसँग गरिएको कुराकानीको सम्पादित अंश-

  • रुपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार छनोट प्रक्रिया कहाँ पुग्यो ?

साउन २७ देखि भदौ ११ गतेसम्म लिडरशिप एकेडेमी, पोलिटिकल प्रोग्जेमिटी, समावेशिताका फरक एलिमेन्टहरूमा फरक तरिकाले हामीले क्यान्डिडेटलाई परीक्षण गरिरहेका हौँ । हामीले मापन गरिरहेको कतिपय कुरा क्यान्डिडेटलाई थाहा हुन्छ भने कतिपय कुराचाहिँ हामीले साइलेन्ट्ली पनि हेरिरहेका हुन्छौँ ।

अहिलेसम्म हामीले ९ जना आकाङ्क्षीसँग छलफल गरेका छौँ । त्यसमा पार्टीको तर्फबाट चार जना (आफूसहित प्रवक्ता मनिष झा, शिशिर खनाल र डाक्टर चन्दा कार्की भण्डारी) बसेर हरेक आकाङ्क्षीसँग छलफल गरेका थियौँ । त्यो सामाजिक सञ्जालमा पनि हेरिसक्नुभएको छ ।

त्योसँगसँगै हामीले दोस्रो चरणमा ‘उपसभापतिसँग उम्मेदवार भेट’ राख्यौँ । राष्ट्रिय स्वतन्त्र पार्टीमा विशेषगरी सभापति, उपसभापति, महामन्त्री भनेको सम्पूर्ण पार्टीको अभिभावकत्व पनि हो । त्यो अभिभावकत्व ग्रहण गर्ने पदमध्येको एक अर्थात् उपसभापतिसँग हरेक क्यान्डिडेटले ‘वान–टु–वान’, ‘अन द रेकर्ड’ र ‘अफ द रेकर्ड’ छलफल पनि गर्नुभएको छ । त्यसको ‘अन द रेकर्ड’ भिडियो एक–दुई दिनमा सामाजिक सञ्जालमा हाल्छौँ ।

त्यसपछाडि हामीले सबैजना आकाङ्क्षीलाई रुपन्देही–३ को आफूले छानेको क्षेत्रमा फिल्डमै गएर काम गर्नका लागि फरक–फरक ‘टास्क’ दिएका थियौँ । जस्तै घरदैलोका कुरा तपाईंले भिडियोहरूमा हेरिरहनुभएको छ । त्यो दिनभरिको भिडियोलाई आधा घण्टामा देखाउन त सम्भव छैन । घरदैलोमा उहाँहरूलाई हामीले बेसिक एउटा आउटलाइन दिएका थियौँ । त्यो आउटलाइनमा उहाँहरू आफैँ इनोभेटिभ भएर आफूले पनि कुराहरू थप्न मिल्थ्यो; यो गर्छु, त्यो गर्छु भन्न मिल्थ्यो । हाम्रो क्यामेराको टिमले पनि फलो गरेर सबै कुरालाई डकुमेन्टेड पनि गरेको थियो ।

त्यो सँगसँगै हामीले लुम्बिनी प्रदेशको संरचनामा रहेका साथीहरू, प्रदेश समितिमा रहेका साथीहरू र रुपन्देही जिल्लाको समितिमा रहेका साथीहरूले उहाँहरूलाई लोकल पर्स्पेक्टिभबाट उहाँहरूको एक्टिभिटिजहरूलाई मनिटर गरेर डकुमेन्ट दिएका थियौँ । त्यसमा उहाँहरूले आफ्नो हिसाबले अब्जर्भ गरेर मनिटर गर्‍यौँ ।

७ गते रुपन्देही–३ को पार्टीका सदस्यहरूको अगाडि नौ जना प्रतिनिधिले नै, ‘यदि म प्रतिनिधि सभा सदस्य भएँ भने यी–यी चिजहरू गर्छु’ भन्ने हिसाबले हाम्रो लिडरशिप एकेडेमीभित्र एउटा भिजन प्रस्तुत गर्ने, प्रोजेक्ट प्रस्तुत प्रस्तुत गर्नुभयो । त्यहाँ पार्टीका सदस्यहरूले सोधेका प्रश्नहरूको उत्तर उहाँहरूले दिनुभयो ।

भोलिसम्म हामी उहाँहरूलाई वान–टु–वान सोधेर आवश्यक इन्फर्मेसन सङ्कलन गर्दैछौँ । कति कुराहरू हामी साइलेन्ट्ली पनि परीक्षण गर्दैछौँ । अझै काम बाँकी छ, प्रक्रिया सकिएको छैन । 

  • लिडरशिप एकेडेमी, पोलिटिकल प्रोग्जेमिटी र समावेशीअन्तर्गत ५० प्रतिशतको परिणाम कहिले आउँछ ?

उम्मेदवारहरूको १२ र १३ गते प्राइमरी इलेक्सन छ । त्यसमा निष्पक्ष प्रतिस्पर्धा होस् भनेर हामीले सम्बन्धित निर्वाचन क्षेत्रका हाम्रा पार्टी सदस्यहरूको सूची पनि उहाँहरूलाई उपलब्ध गराएका छौँ । भदौ १४ गते बेलुकासम्म प्राइमरी इलेक्सनको रिजल्ट आउँछ । त्यसपछि विभिन्न चरणमा गरिएका मापनलाई आधार बनाएर १५ गते सिधै हामी उम्मेदवार घोषणा गर्छौं ।

  • त्यसो भए ५० प्रतिशतको परिणाम १२ गते बेलुकासम्म आउँदैन हैन ?

एकैचोटि आउँछ । कुनमा कसले कति पाउनुभयो भन्ने कुरा सबै आउँछ, तर त्यो आज–भोलि आउने भन्ने हुँदैन । हामी पार्टीबाट नै आधिकारिक रूपमा एउटा कार्यक्रम राखेर घोषणा गर्छौं ।

  • पाइलट सर्भेको रूपमा यो विधिलाई प्रयोग गरिएको भनिरहनुभएको छ, कत्तिको झन्झटिलो हुँदो रहेछ ? २०८४ को चुनावमा सबैतिर यसरी छनोट गर्न सम्भव छ कि छैन ?

मैले व्यक्तिगत रूपमा यसलाई दुई वटा भागको रूपमा लिएको छु । एउटा भनेको यसको स्केलेबिलिटी हो । धेरै जना साथीले प्रश्न गर्नुभएको छ– अहिले तपाईंहरूसँग समय थियो । यति गजब तरिकाले गर्नुभएको छ, २०८४ मा एकैचोटि गर्नुपर्ने भएकाले त्यसो गर्न सक्ने स्थितिमा हुनुहुन्छ कि हुनुहुन्न ? त्यो स्केलेबिलिटीको कुराहरू हामीले ‘डे वान’ देखि नै सोचेर यसलाई कार्यान्वयन गरेका छौँ । किनकि हामीलाई अहिले गर्ने तर २०८४ मा यी कुराहरूलाई गर्न सकिएन भने त्यसले त्यति धेरै अर्थ राख्दैन भन्ने हामीलाई थाहा छ । त्यसैका लागि नै पार्टीले लिडरशिप एकेडेमी र क्यान्डिडेट क्लबको त्यो महत्त्वाकांक्षी अवधारणा पार्टी सभापतिज्यूले हाम्रो राष्ट्रिय भेलामार्फत भन्नुभएको थियो ।

अहिले उम्मेदवार चयनमा देखिएका र नदेखिएका गतिविधि, क्यान्डिडेट क्लब र लिडरशिप एकेडेमीको संरचनाले गर्छ । २०८४ मा यी सबै कुरा कार्यान्वयन हुन्छन् । यसको मोडालिटी फरक होला, यसको अप्रोच फरक होला, यसको टाइमलाइन फरक होला, तर कार्यान्वयन हुन्छ ।

एउटा प्रतिनिधि सभा सदस्य छान्ने प्रक्रिया हलुका हुनु हुँदैन भन्ने हाम्रो मान्यता हो । किनकि फरक–फरक मानकहरूमा परीक्षण हुनुपर्छ । देश बनाउने कुरा हो । नेतृत्वमा पुगेर ३ करोड जनतालाई गाइड गर्ने कुरा सजिलो छैन । दुई मिनेटको गफबाट नेता छानेकै कारणले आजसम्म यो दुर्गति भएको हो ।

२०८४ मा यो सम्भव गर्नका लागि नै लिडरशिप एकेडेमी र क्यान्डिडेट क्लबमा हामी काम गर्दै छौँ र, यो प्रक्रिया कसैलाई झन्झटिलो लाग्छ भने पनि त्यत्तिको झन्झट बेहोरिएन भने यो बेथितिलाई हटाउन कहाँ सकिन्छ र ! मेहनत त गर्नैपर्छ । यो सानो चिज होइन । एउटा सानो कर्पोरेट अर्गनाइजेसनमा एउटा हेल्पर छान्नु पर्‍यो भने त्यसको आफ्नै प्रक्रिया हुन्छ । यहाँ त देश हाँक्ने मान्छे छान्ने कुरा हो ।

हामीले स्केलेबल कसरी बनाउने, लचकदार कसरी बनाउने, स्रोतको सदुपयोग कसरी गर्ने, विकेन्द्रीकरण कसरी गर्ने भन्नेमा काम गरिरहेका छौँ । कम्तीमा निष्पक्ष मापदण्डमा उम्मेदवारको परीक्षण हुनुपर्छ । कुन–कुन मानकमा कसरी परीक्षण भयो भन्ने कुरा जनताले पनि थाहा पाउनुपर्छ । त्यसकारण त्यहाँ कसैले पनि चलखेल गर्ने ठाउँ नहोस् । किनकि उम्मेदवारको परीक्षा भनेकै विधि बनाउने व्यक्तिहरूको परीक्षा पनि हो ।

  • रुपन्देही–३ मा रास्वपाले परम्परागत दलहरूलाई धक्का दिने देख्नुहुन्छ ?

अस्ति पनि मैले भनेको थिएँ, १५ गतेसम्म हाम्रो सम्पूर्ण ध्यान उम्मेदवार छनोटमै केन्द्रित छ । कात्तिक १७ को चुनावमा अहिले हामी कहाँ छौँ, के छौँ भन्ने कुराको आकलन गर्नु फेरि त्यति धेरै सही पनि नहोला । चुनावमा उत्रिने टिमले जहिले पनि हामी धक्का दिँदैछौँ, हामी खतरामुक्त छौँ, हामी जित्छौँ भन्छन् । दुई मत ल्याउने पार्टीले पनि चुनावभन्दा अगाडि  म जित्दैछु नै भन्छ । त्यो सही हो कि होइन भन्ने आकलन गर्ने काम तपाईंहरूको हो । तपाईंहरूले पो भन्दिनुपर्‍यो– हामी धक्का दिने स्थितिमा छौँ कि छैनौँ भनेर ।

हाम्रो यो यात्रालाई हामीले दुई भागमा बाँडेका छौँ । एउटा विधिसम्मत उम्मेदवार छान्नु, अनि छानिएको उम्मेदवारलाई तल्लो तहसँग जोडिन भदौ १५ देखि कात्तिक १५ गतेसम्मको समय हो । त्यो हिसाबले पहिला उम्मेदवार छानिसकेपछि फिल्डमा पठाउँछौँ । उम्मेदवारसँग को–को खटिनुपर्छ, कसरी जोडिनुपर्छ, पुराना निर्वाचनका सही कुराहरूबाट प्रेरणा लिँदै, गलत कुराहरूबाट पाठ सिक्दै अगाडि बढ्ने भन्ने नै एउटा यात्रा हो । अहिले हामी ठ्याक्कै कहाँ के छौँ भन्ने कुरा मैले भन्नेभन्दा पनि तपाईंहरूले ग्राउन्डमै बुझेर हेरिरहनुभएको छ ।

  • नौ जनामध्ये छनोट हुने सम्भावना कसको छ ?

विधिले सम्भावना देखाउँदैन, विधिले सम्भावना देखाउने भएको भए विधि नै बनाउनु पर्दैनथ्यो । मैले नौ जनाकै समान सम्भावना देखेको छु । यसमध्ये जो भए पनि रास्वपाको व्यक्ति आउँछ, त्यति कुरामा दुईमत छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप