शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
समाचार

बक्यौता रकममा सरकारले पीडित किसानलाई अपमानित गर्‍यो : माओवादी केन्द्र

बिहीबार, १२ भदौ २०८२, १६ : ५३
बिहीबार, १२ भदौ २०८२

सारांश

  • माओवादी केन्द्रले उखुको समर्थन मूल्य घटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ।
  • पार्टीले अघिल्लो सरकारले किसानलाई दिएको अनुदान कटौती गरेको आरोप लगाएको छ।
  • माओवादीले किसानको जायज मागप्रति समर्थन जनाउँदै बक्यौता रकम भुक्तानीको माग गरेको छ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रले बक्यौता रकम नपाएर पीडित किसानहरूलाई सरकारले अपमानित गर्ने गरी उखुको समर्थन मूल्य घटाउने निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिहीबार प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै उखु किसानको समर्थन मूल्य घटाएकोमा सरकारको ध्यानाकर्षण गराएका हुन् । 

सापकोटाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले किसानलाई प्रति क्विन्टल ७० रुपैयाँ अनुदान तोकेर न्याय दिएको तर अहिलेको सरकारले मूल्य घटाएको आरोप लगाए । 

‘बक्यौता रकम नपाएर पीडित किसानहरूलाई सरकारले अझ अपमानित गर्ने गरी हालै उखुको समर्थन मूल्य घटाउने निर्णय गर्नु किसान विरोधी र गैरजिम्मेवार कदम हो भन्ने हाम्रो ठम्याइ छ ।

हाम्रो पार्टी नेतृत्वको सरकारले किसानको हितलाई केन्द्रमा राख्दै उखुको समर्थन मूल्यमा प्रति क्विन्टल ७० रुपैयाँ अनुदान तोकेर उनीहरूलाई न्याय दिने विषय प्राथमिकतामा राखेको स्मरणीय छ । तर, वर्तमान सरकारले किसानको हित प्रतिकूल हुने गरी उक्त अनुदान मूल्य घटाएर रु. ३५ बनाएको छ’, विज्ञप्तिमा भनिएको छ । 

सरकारले समर्थन मूल्य घटाएका कारण उत्पादन लागतसमेत धान्न नसक्ने अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

किसानको आन्दोलनप्रति ऐक्यबद्धता जनाउने समेत उल्लेख छ । ‘यो निर्णयले बक्यौता रकम नपाएर पहिल्यैदेखि सङ्कटमा परेका किसानमाथि अन्याय थपेको छ । हाम्रो पार्टी आन्दोलनरत किसानको जायज मागप्रति समर्थन जनाउँदै तत्काल उखु किसानले पाउनुपर्ने सम्पूर्ण बक्यौता रकम भुक्तानी गर्न सरकारसँग माग गर्दछौ’, विज्ञप्तिमा भनिएको छ ।

b

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप