शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पर्यटकीय सम्भावना बोकेको सुदूरपश्चिममा लगानी गर्न आह्वान

शुक्रबार, १३ भदौ २०८२, १३ : ३६
शुक्रबार, १३ भदौ २०८२

सारांश

  • सुदूरपश्चिमलाई 'भर्जिन ल्यान्ड' भन्दै लगानीका लागि आह्वान गरिएको छ।
  • मन्त्री पाण्डेले सुदूरपश्चिममा पर्यटन पूर्वाधारमा लगानी गर्न आग्रह गरे।
  • सुदूरपश्चिममा आगामी मङ्सिर १ र २ गते धनगढीमा लगानी सम्मेलन आयोजना हुने भएको छ।

काठमाडौँ । सुदूरपश्चिम पर्यटकीय दृष्टिकोणले ‘भर्जिन ल्यान्ड’ भएको उल्लेख गर्दै लगानी गर्न आह्वान गरिएको छ । सुदूरपश्चिम लगानी तथा विकास सम्मेलनको पूर्व सन्ध्यामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सुदूरपश्चिम सरकारसँगको आयोजना र नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको पर्यटन क्षेत्रसम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सुदूरपश्चिमको पर्यटकीय पूर्वाधारमा लगानीका लागि आह्वान गरेका हुन् ।

मन्त्री पाण्डेले भने, ‘सुदूरपश्चिम पर्यटक आकर्षणका मुख्य आधार नेचर, कल्चर र एड्‌भेन्चरको सम्मिश्रण भएको प्रदेश हो । सुदूरपश्चिमका थुप्रै पर्यटकीय सम्भावनाहरू उजागर भइरहेका छन् । यस लगानी सम्मेलनमार्फत सुदूरपश्चिमका पर्यटकीय पूर्वाधारमा लगानी गर्न लगानीकर्ताहरूलाई आह्वान पनि गर्दछु ।’ 

मन्त्री पाण्डेले लगानी सम्मेलनको सम्पूर्ण आयामहरु मार्फत् पूर्ण तयारीमा उल्लेख गर्दै भने, ‘हामीले यसका लागि निजी क्षेत्रलाई विश्वासमा लिने र लगानीको वातावरण सिर्जना गर्न कानुनी उल्झन समाधान गर्ने र लगानीमैत्री नीति बनाउनेतर्फ ध्यान दिनुपर्दछ ।’ 

सुदूरपश्‍चिमको पर्यटन विकासका लागि सूदूरपश्‍चिममा नेपाल पर्यटन बोर्डको कार्यालय यही वर्ष स्थापना गर्न बजेट विनियोजन गरिएको पनि मन्त्री पाण्डेले जानकारी गराएका छन् । त्यसैगरी सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम सरकार निजी क्षेत्रलाई लगानीका लागि स्वागत गर्न आतुर रहेको उल्लेख गरे ।

उनले भने, ‘हामी सुदूरपश्चिमका सम्भावनाहरूलाई लगानी सम्मेलनमार्फत राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चिनाउन चाहन्छौँ । यसका लागि स्वदेशका निजी क्षेत्रलाई लगानीका लागि आवश्यक कानुनी तथा लगानी सुरक्षाको ग्यारेन्टी हामी लिन तयार छौँ ।’ 

मुख्यमन्त्री शाहले लगानी सम्मेलनमा सहभागी हुन र त्यहाँका सम्भावनाको अध्ययन गर्दै लगानी गर्न आह्वान गरेका हुन् ।  सुदूरपश्चिममा आगामी मङ्सिर १ र २ गते धनगढीमा लगानी सम्मेलन आयोजना हुने भएको छ । यसै सन्दर्भमा विभिन्न विधामा लगानीका लागि सुदूरपश्चिम सरकार काठमाडौँमा आएर विभिन्न निकायसँग छलफल गरिरहेको छ ।

शुक्रबार  बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सभाहलमा भएको अन्तर्क्रिया कार्यक्रममा सुदूरपश्चिम सरकारका तर्फबाट सुदूरपश्चिममा पर्यटकीय सम्भावना र लगानीको वातावरणको स्थितिबारे प्रस्तुतीकरण गरिएको थियो । 

अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल होटल व्यवसायी संघका अध्यक्ष विनायक शाह, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, नाटाका सीईओ यूविकाराज भण्डारी, एनएमएका उपाध्यक्ष ठाकुरराज पाण्डे, सिद्धार्थ होटल एन्ड ग्रुप अफ कम्पनीका सीईओ कृष्ण न्यौपाने, टानका महासचिव रामप्रसाद सेढाई, नेपाल उद्योग परिसंघको पर्यटन समिति सभापति पम्फा धमला, नाराका महासचिव देवराज जोशीलगायत पर्यटन सम्बद्ध निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

पर्यटनसम्बन्धी सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूले सुदूरपश्चिममा लगानी गर्न आफूहरू तयार रहेको भए पनि सरकारले आवश्यक नीति र लगानीको क्षेत्र पहिचान गर्नुपर्ने सुझाव दिएका हुन् ।

सरकारले पछिल्लो समय सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमालहरूको आरोहण दुई वर्षका लागि निः शुल्क गरेको छ । सुदूरपश्चिममा पछिल्लो समय धनगढी विमानस्थलको स्तरोन्नति र कञ्चनपुर विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको छ ।

छलफलमा सुदूरपश्चिम धार्मिक दृष्टिले पनि पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै लगानीका लागि आह्वान गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप