शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मधेसी समुदायप्रति भेदभाव कायमै छ : अध्यक्ष यादव

शनिबार, १४ भदौ २०८२, १५ : २५
शनिबार, १४ भदौ २०८२

सारांश

  • जसपा अध्यक्ष उपेन्द्र यादवले मधेसी समुदायमाथि भेदभाव कायमै रहेको बताए।
  • उनले मधेसलाई आर्थिक विकासमा कमजोर बनाइएको र सरकारी निकायमा मधेसीहरूको प्रतिनिधित्व न्यून रहेको आरोप लगाए।
  • यादवले सत्ता साझेदारीमा मधेसले जनसंख्याको आधारमा हिस्सा पाउनुपर्नेमा जोड दिए।

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी समुदायमाथि भेदभाव कायमै रहेको जनाएका छन् । उनले मधेसी समुदायमाथिको भेदभाव अन्त्य नगरी समृद्ध समाज निर्माण सम्भव नहुने दाबी गरे ।

शनिबार जनकपुरधाममा आयोजित मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको दोस्रो प्रदेश महाधिवेशनलाई सम्बोधन गर्दै यादवले मधेसप्रति राज्यको व्यवहार अझै पनि भेदभावपूर्ण रहेको आरोप लगाए । मधेसलाई आर्थिक विकासमा कमजोर बनाइएको र कतिपय सरकारी निकायमा मधेसीहरूको प्रतिनिधित्व न्यून रहँदै आएको उनको भनाइ छ ।

‘मुलुकमा आधाभन्दा बढी मधेसी समुदाय भए पनि कुनै निकायमा समावेशीता अत्यन्तै न्यून छ । प्रतिनिधि सभामा केही हदसम्म प्रतिनिधित्व भए पनि राष्ट्रिय सभामा ५९ सदस्यमध्ये जम्मा ६ जनामात्रै मधेसी छन्,’ यादवले भने ।

जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्ने लोकतन्त्रको मूल्य–मान्यता विपरीत मधेसीहरूलाई न्यून कोटाको भरमा प्रवेश हुने अवस्था रहेको उनको भनाइ थियो । अध्यक्ष यादवले उच्च पदमा मधेसीहरूको प्रतिनिधित्व अझै पनि कमजोर रहेको उल्लेख गर्दै भने, ‘भेदभाव कम भएको छ, तर समाप्त भएको छैन ।’

यादवले सत्ता साझेदारीमा पनि मधेसले जनसंख्याको आधारमा बराबर हिस्सा पाउनुपर्नेमा जोड दिए । उनले यस्तो राजनीतिक अधिकारलाई आफूहरूले लक्ष्य बनाएको  प्रस्ट पारे । उनले शोषण र उत्पीडन अन्त्य नगरी समृद्ध समाज निर्माण सम्भव नहुने दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप