माधव र झलनाथबिच फेरि सुरु भयो ‘दन्तबझान’
सारांश
- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनालबीच पार्टीको वैचारिक नीति र एमालेसँगको विद्रोहबारे मतभेद देखिएको छ।
- दुई नेताले एकअर्कालाई राजीनामा दिन सुझाव दिएका थिए, तर दोस्रो तहका नेताको मध्यस्थतामा उनीहरू पुरानै अवस्थामा फर्किएका छन्।
- अध्यक्ष नेपालले एमालेसँगको विद्रोहको औचित्य पुष्टि गरे भने खनालले जबजको रटानको कुनै अर्थ नभएको बताएका छन्।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबिच दुई वटा विषयमा मत मिल्न सकेको देखिँदैन । पहिलो, नेकपा एमालेसँग गरेको चार वर्ष अघिको विद्रोह र दोस्रो, पार्टीले अवलम्बन गर्ने वैचारिक नीति ।
यी दुई विषयमा दुई नेताबिच बेलाबेला मतभेद हुँदै आएको छ । यसै कारण यी दुई नेताले एक–अर्कालाई राजीनामा दिन समेत सुझाव दिने गरेका छन् । दुई नेतालाई दोस्रो तहका नेताहरूको मध्यस्थतामा पार्टीका मतभेदबारे सार्वजनिक रूपमा नबोल्ने गरी मिलाए पनि उनीहरू पुनः पुरानै पारामा फर्केका छन् ।
दुवै नेता जबजको नीति र एमालेसँगको विद्रोह ठिक कि बेठिक भन्नेमा एक अर्काप्रति अभिव्यक्ति दिएर ‘दन्तबझान’लाई निरन्तरता दिएका हुन् । सो पार्टीका एक पदाधिकारी भन्छन्, ‘केही दिन अघि मात्र एकले अर्काविरुद्ध घोचपेच नगर्ने समझदारी गरेका नेताद्वय नेपाल र खनाल जबज र एमालेसँगको विद्रोहबारे पुनः वाकयुद्धमा उत्रन थालेका छन् । उनीहरूको वाकयुद्धले हामी नै अलमलमा पर्नुपरेको छ ।’
पार्टी निकट समाजवादी प्रेस संगठनको बैठकमै दुई नेताबिच घोचपेच चलेपछि कार्यकर्ताहरू अलमलमा परेका थिए ।
अध्यक्ष नेपालले शनिबार बिहान पार्टी निकट पत्रकारहरूको संगठन प्रेस संगठनको बैठक थापागाउँमा उद्घाटन गर्दै सम्मानित नेता झलनाथ खनाललाई लक्षित गर्दै एमालेसँगको विद्रोहबारे औचित्य पुष्टि गर्ने गरी टिप्पणी गरे ।
‘हामीले त्यो वेलामा विद्रोहको आँट नगरेको भए हाम्रो कम्ताविजोक हुन्थ्यो, विद्रोहको औचित्य के छ भन्नेहरूको दुई कौडीको पनि महत्त्व छैन, कुनै अर्थ छैन’, अध्यक्ष नेपालको भनाइ थियो ।

उनले आफूहरूले विद्रोह गरेकै कारण संविधान जोगिएको र निरङ्कुशतालाई चुनौती दिने काम भएको दाबी गरे । ‘हामीले लोकतन्त्रको मूल्य र मान्यतालाई जोगाउने काम पनि गर्यौँ’, अध्यक्ष नेपालले एमाले फुटाएर अत्यन्त ठिक गरेको दाबीसहित भने ।
नेता झलनाथ खनालले औचित्य पुष्टि नभएको बताइरहेका वेलामा अध्यक्ष नेपालले त्यस्तो अभिव्यक्तिको कुनै अर्थ नभएको जिकिर गरे । ‘यो कुनै निजी हित र स्वार्थको लागि होइन, अहिले पनि हाम्रो पार्टीको सम्भावना धेरै छ । त्यसमा सबैले अत्यन्तै मेहनत गर्नुपर्छ’, नेपालले भने, ‘अरू पार्टी पनि सङ्कटमा छन्, हामी सबैसँग संवाद गर्छौँ । कुनै पार्टीसँग विलय हुँदैनौँ ।’
अध्यक्ष नेपालले विचार, सिद्धान्त र नीति मिलेपछि मात्रै पार्टी मिल्ने बताए । ‘अहिले हामी समाजवादी मोर्चालाई विस्तार गर्दैर्छौं । सबै कुरा मिलेपछि वामपन्थी एकतालाई अगाडि बढाउँछौँ’, नेपालको भनाइ छ ।
अध्यक्ष नेपालले ०८४ को चुनावका लागि अहिलेदेखि नै तयारीमा जुटेमा र शक्ति प्रयोग गरेमा पहिलो शक्तिका रूपमा स्थापित गर्न सकिने दाबी गरे । अध्यक्ष नेपाल जनताको बहुदलीय जनवाद (जबज)को अझै आवश्यकता रहेको बताउँदै आएका छन् ।
अध्यक्ष नेपालले सम्बोधन गरेर हिँडेको ६ घण्टापछि सम्मानित नेता झलनाथ खनाल बैठकको समापन गर्न पुगे । त्यसक्रममा खनालले जबज इतिहास भइसकेको भन्दै त्यसैको रटान लिएर बस्नुको कुनै अर्थ नभएको टिप्पणी गरे ।

बरु खनालले २०६२/०६३ को आन्दोलनपछि समाजवादको औचित्य सकिएको र अब वैज्ञानिक समाजवादको दिशामा अघि बढ्नुपर्ने धारणा राखे । ‘हामीले अब जबजको रटान होइन, वैज्ञानिक समाजवादको कार्यक्रम अघि बढाउनुपर्छ’, उनले भने, ‘हामी वैज्ञानिक समाजवादको दिशामा अघि बढ्नुपर्छ । त्यसलाई नै प्रस्ट पार्नुपर्छ ।’
त्यसक्रममा खनालले माधव नेपालप्रति लक्षित गर्दै कुनै पनि पार्टीको वैचारिक, सांगठनिक कार्यदिशा ठिक नभएसम्म पार्टी सही ढंगले चल्न नसक्ने भनाइ राखे । उनले नेकपा एकीकृत समाजवादी पार्टीको वैचारिक सांगठनिक कार्यदिशा नै उपयुक्त नभएको र विचार नै सकिँदै गएको आशय व्यक्त गरे ।
‘मेरो यो ६० वर्षको अनुभवले के बताउँछ भने जब नेताहरूमा विचार र तर्कहरू सकिँदै जान्छ, तब उनीहरूमा अर्कैखालको रौद्ररुप देखिन थाल्छ’, खनालले भने, ‘अनुशासन भनेको संगठनात्मक कार्यदिशाको एउटा अङ्गमात्र हो ।’
नेपाल र खनालबिच वाकयुद्ध जारी रहेको बेला खनाल र महासचिव घनश्याम पक्षीय नेताहरु अलग छलफलमा जुटेका छन् । उनीहरुले आगामी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालविरुद्ध अलग प्रस्ताव पेस गर्ने तयारी गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण