शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

धनधान्यकी देवी महालक्ष्मीको १६ दिन विशेष पूजा आराधना सुरु

सोमबार, १६ भदौ २०८२, ०७ : १८
सोमबार, १६ भदौ २०८२

सारांश

  • आजदेखि १६ दिन लामो महालक्ष्मी व्रत आरम्भ भएको छ, जुन धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न पार्न गरिन्छ।
  • यो व्रत आश्विन कृष्ण अष्टमीसम्म विधिपूर्वक गरिन्छ, जसमा ब्रह्मचर्य, भूमिमा सुत्ने, र एक छाक फलाहार गर्ने नियमहरू छन्।
  • व्रत गर्नाले धन, सम्पत्ति, वैभव प्राप्त हुने र दुःख दारिद्रय नाश भई सुख शान्ति मिल्ने धार्मिक विश्वास रहेको छ।

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले भाद्रशुक्ल अष्टमी अर्थात् आजैका दिनदेखि १६ दिन लामो महालक्ष्मी व्रत आरम्भ गरेका छन् ।

 धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रूपमा यस पर्वलाई लिइन्छ । आजदेखि आश्विन कृष्ण अष्टमीसम्म विधिपूर्वक यो व्रत गरिन्छ । यसवर्ष भदौ २९ गते आइतबारसम्म यो व्रत गरिन्छ । यो व्रतका क्रममा ब्रह्मचर्यमा रहनुपर्ने, भूमिमा सुतेर व्रत पूरा गर्नुपर्ने नियम छ । 

प्रत्येक दिन हविष्य भोजन अर्थात् एक छाक फलाहार र दिनमा एकपटक मात्र नुन खाएर महालक्ष्मी व्रत गरिन्छ । १६ दिनसम्म प्रत्येक दिन बेलुकी चन्द्रमालाई अर्घ्य दिने गरिन्छ । यसरी व्रत गरेमा धन, सम्पत्ति, वैभव प्राप्त हुने विश्वास छ । यो व्रत विशेष गरेर नारीले गर्ने गरेका छन् । यो व्रतले घरमा महालक्ष्मीको वास भई दुःख दारिद्रय नाश भई सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।

साक्षात् भगवान् शङ्करले यो व्रत विधि भगवती पार्वतीलाई बताएको विभिन्न ग्रन्थमा उल्लेख गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले जानकारी दिए । यो व्रतका प्रभावले मृत्युपछि दिव्यधाम प्राप्त हुने, अलक्ष्मी नाश हुने छ । 

देवराज इन्द्रले महालक्ष्मीको व्रत एवं पूजा आराधना गरी महालक्ष्मी अष्टकम् नामक स्तोत्र समेत रचना गरेको महालक्ष्मी व्रत विधिमा उल्लेख छ । बिहान, मध्याह्न र साँझसमेत तीन पटक महालक्ष्मी अष्टकम् पाठ गरेमा धनधान्य, सुख वैभव प्राप्त गर्नुका साथै शत्रु समेत नाश हुने विश्वास गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप