बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

पार्टीभित्र गुटबन्दी र अराजक व्यवहार सह्य हुँदैन, पार्टीको नीति विपरीत गए स्पष्टीकरण सोधिन्छ : प्रचण्ड

सोमबार, १६ भदौ २०८२, २१ : ५८
सोमबार, १६ भदौ २०८२

सारांश

  • प्रचण्डले पार्टीभित्र गुटबन्दी र अराजकता सह्य नहुने बताए, पार्टी अनुशासन पालना गर्न जोड दिए।
  • प्रचण्डले सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गर्नुपर्ने र प्रवासी क्षेत्रका नेता कार्यकर्तालाई पार्टीमा ल्याउन पहल गर्ने बताए।
  • प्रचण्डले पार्टीलाई जनतामैत्री बनाउँदै जनविश्वास पुनः आर्जन गर्न कार्यकर्तालाई आह्वान गरे, र संगठन विस्तारमा जोड दिए।

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र गुटबन्दी र अराजक व्यवहार सह्य नहुने बताएका छन् । 

सोमबार साँझ सम्पन्न एशिया प्रदेश सङ्गठन समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । 

उनले जनवादको अभ्यास गर्दै केन्द्रीयता कायम गर्ने प्रयास भइरहेको र सबै नेता–कार्यकर्ताले आफूलाई लागेका विषय आन्तरिक बैठकहरूमा खुला ढङ्गले राख्दै पार्टी अनुशासन पालना गर्नुपर्नेमा जोड दिए । 

अनुशासनको स्पष्टीकरण सोध्दा पार्टीका आन्तरिक बैठकहरूमा जो–सुकैलाई पनि आफूलाई लागेको विचार राख्ने र बहसको वातावरण बनाउने काम गर्नुपर्ने उनले बताए । 

पार्टीलाई व्यवस्थित र अनुशासित बनाउन सबैले भूमिका खेल्न आवश्यक रहेको पनि उनले बताए । प्रचण्डले पार्टीलाई जनतामैत्री, सङ्गठित र एकीकृत बनाउँदै जनविश्वास पुनः आर्जन गर्नेतर्फ लाग्न सबै कार्यकर्तालाई आह्वान गरे ।

“हामी फेरि अभियानमा जाँदै छौँ। अब हरेक क्रान्तिकारी कमरेडले पार्टी एकताका लागि जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्छ,” उनले भने ।

त्यसक्रममा प्रचण्डले सीमा समस्या समाधानका लागि सरकारले कुटनीतिक पहल गर्नुपर्ने बताए । उनले आफू प्रधानमन्त्री भएको समयमा भारत भ्रमणका क्रममा लिपुलेक र कालापानीको विषयमा भारतीय प्रधानमन्त्रीसँग संवाद गरेर सार्वजनिक घोषणा गराएको स्मरण गराउँदै भने,“सीमा समस्या कुटनीतिक पहलबाटै समाधान गर्नुपर्छ भन्नेमा माओवादी केन्द्र स्पष्ट छ।” 

प्रचण्डले प्रवासी क्षेत्रमा क्रियाशील नेताकार्यकर्तालाई पार्टीको मूलधारमा ल्याउन विशेष प्रयास थालिएको जानकारी दिए । 

उनले भने,“पछिल्लो स्थायी समितिको बैठकपछि विभिन्न प्रदेशहरूको बैठक बस्ने क्रम जारी छ । केही प्रदेशहरूको बैठक बसेका छौँ । यो पाँचौँ प्रदेशको बैठक हो। अहिले समय अभाव भयो, छिट्टै प्रवासका सबै साथीहरूको कुरा सुन्ने गरी अन्तरक्रियात्मक अर्को बैठक बस्ने प्रतिबद्धता व्यक्त गर्दछु । अहिले प्रवासमा ठुलो सङ्ख्यामा जनशक्ति रहेका हुँदा प्रदेशहरू बढाउने र प्रवासलाई महत्त्व दिइएको छ ।”

प्रवासमा रहेकाहरूलाई पार्टीमा महत्त्व दिने गरी थप निर्णय गरिने समेत उनले बताए । पार्टीले मध्यपूर्व र एसियामा रहेका कार्यकर्ताको योगदानप्रति आभार व्यक्त गर्दै भने, “प्रवासी जनशक्तिलाई बेवास्ता गरेर पार्टी अघि बढ्न सक्दैन” । उनले सङ्गठन विस्तारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

पार्टीका विभिन्न अभियानमा देशभर जाँदा पार्टी नेतृत्व र नेतृत्वप्रति जनतामा मात्र नभई विपक्षी दलका नेताहरूमा पनि भरोसा रहेको उनले बताए । 

“केही मान्छेहरूले कांग्रेस, एमाले र माओवादी एउटै हो भन्न खोजे पनि आम जनताले जनताको पक्षमा काम गर्ने त माओवादी केन्द्र नै रहेछ भन्ने महसुस गरेका छन्। पछिल्लो समय म विभिन्न कार्यक्रममा बाहिर जाँदा कांग्रेस र एमालेका स्थानीय नेताहरूले मलाई भेट्दा, ‘यो परिवर्तन माओवादीले ल्याएको हो। यसको रक्षा पनि माओवादीले नै, प्रचण्डले नै भूमिका खेल्नुपर्छ,’ भन्छन्। मैले भन्ने गरेको छु—मलाई होइन, जनतालाई भन्नुहोस्, तपाईँहरूकै नेताहरूलाई भन्नुहोस्,” उनले भने ।

प्रचण्डले आफू प्रधानमन्त्री हुँदा प्रवासी नेपालीको पक्षमा गरेका कामहरूको स्मरण गर्दै नागरिकता दिने निर्णयको कार्यान्वयनलाई लिएर वर्तमान सरकारको गतिविधिको आलोचना गरे ।

प्रचण्डले माओवादी केन्द्रले विगतमा सामाजिक न्याय, सुशासन र अन्तर्राष्ट्रिय सम्बन्ध सुधारमा खेलेको भूमिकालाई जनताले सकारात्मक रूपमा लिएको उल्लेख गर्दै थप सुधार र अभियानका लागि तयारी अवस्थामा रहन निर्देशन दिए ।

बैठकमा केन्द्रीय सदस्य डिबी क्षेत्रीले आफ्नो रिपोर्ट प्रस्तुत गर्दै, रिपोर्टअनुसार एशिया क्षेत्रमै २८ लाखभन्दा बढी नेपाली श्रमिक कार्यरत रहेको र त्यसअनुसार महत्त्व दिनुपर्ने आवश्यकता औँल्याए । 

नेतृत्वले प्रवासी जनशक्तिको भूमिकालाई मूल्याङ्कन गर्दै आगामी रणनीति तय गर्न आवश्यक रहेको भन्दै उहाँले नेतृत्व समक्ष सुझाव पेस गरे ।

बैठकलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्दै प्रवास क्षेत्र इन्चार्ज ओम शर्माले संसारभरिका नेपाली युवालाई गोलबन्द गर्न सक्ने साझा प्लेटफर्मको आवश्यकता रहेको बताए । उनले काम गर्दै जाँदा आफूबाट कमी कमजोरी भएको भए त्यसलाई सुधार गर्दै सङ्गठन विस्तारमा आत्मआलोचनासहित सक्रिय हुने विश्वास समेत दिलाए । 

सङ्गठनका अध्यक्ष सनीकुमार ओलीको अध्यक्षतामा बसेको एशिया प्रदेश सङ्गठन समितिको बैठक सचिव भवानी पन्तले सञ्चालन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप