रुपन्देही–३ उपनिर्वाचन : रेशम र रञ्जिताको छुट्टाछुट्टै तयारी
सारांश
- रुपन्देही क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीबाट दुई जना उम्मेदवार उठ्ने सम्भावना देखिएको छ।
- पार्टी संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठले छुट्टाछुट्टै उम्मेदवार उठाउने तयारी गरेका छन्।
- पार्टीभित्रको विवादका कारण दुई पक्षबाट दुई उम्मेदवार उठाउने तयारी भइरहेको छ, तर नेताहरूले एउटै उम्मेदवार बनाउने प्रयास गर्ने बताएका छन्।
काठमाडौँ। रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट दुई जना उम्मेदवार हुने देखिएको छ ।
यद्यपि नागरिक उन्मुक्ति पार्टी निर्वाचन आयोगमा दर्ता छैन । तैपनि पनि पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठले स्वतन्त्ररुपमा छुट्टाछुट्टै उम्मेदवार उठाउने तयारी गरिरहेका हुन् ।
संरक्षक चौधरीले लगभग उमाशंकर चौधरीको नाम टुंगो लगाइसकेका छन् । उमाशंकर निजामती क्षेत्रबाट अवकाश प्राप्त गरेपछि थारु आयोगको सदस्यमा नियुक्त भएका थिए । अहिले उनलाई रुपन्देही–३ बाट उम्मेदवार बनाउने तयारी भएको हो ।
यता, पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ पनि रुपन्देही–३ का लागि उम्मेदवार घोषणाको छुट्टै तयारीमा छिन् । भदौ १५ गते सम्पन्न उनीपक्षीय केन्द्रीय समितिको बैठकमा रुपन्देही ३ को उम्मेदवारबारे कुराकानी भएको थियो । जसअनुसार उम्मेदवारका लागि तल्लो कमिटीसँग कुरा गर्ने र त्यहाँबाट जसको नाम सिफारिस हुन्छ, त्यसको नाम नै अनुमोदन गर्ने तयारी रञ्जिता श्रेष्ठको रहेको छ ।
पार्टीभित्र विवाद रहेको बेला यसरी दुई पक्षले दुई वटा उम्मेदवार खडा गर्ने देखिएको छ । रञ्जिता श्रेष्ठ पक्षका एक नेताले भने, ‘उमाशंकर चौधरी पार्टीका व्यक्ति होइन, उहाँ पूर्ण ब्युरोक्र्याट्स हुनुहुन्छ, पार्टीका नेता तथा कार्यकर्ताले उहाँलाई मन पराइरहेको छैन । रेशम चौधरीको तर्फबाट उमाशंकरको नाम कायम नै रह्यो भने तल्लो तहका पार्टी कमिटीले स्वीकार गर्दैनन् र अर्को उम्मेदवार उठाउने कुरा हुनसक्छ ।’
रेशम चौधरीले उमाशंकरको पक्षमा हुँदा रञ्जिताको तर्फबाट डा.सरोज चौधरीलाई उठाउने कुरा भइरहेको बताइएको छ । सरोज चौधरीले लामो समयदेखि पार्टीमै सक्रिय भएर काम गरिरहेका छन् । २०७९ मा प्रदेश सभाको चुनावमा उनी पराजित भएका थिए । यसपटक रुपन्देही ३ का लागि उनी सुरुदेखि तयारीमा लागेका छन् । पार्टीबाट उनको नाम सिफारिस हुने सम्भावना रहेको ती नेताको भनाइ छ ।
नागरिक उन्मुक्ति पार्टीका नेता एवं सांसद लालवीर चौधरीले भने रुपन्देही ३ मा दुइटा उम्मेदवार नहुने दाबी गरे । उनले भने, ‘अहिले चर्चा भएपनि अन्ततः अन्त्यमा एउटै उम्मेदवार बन्छ । त्यसका लागि पार्टीभित्र आन्तरिक छलफल चलिरहेको छ ।'
पार्टीका केही आन्तरिक कुरा नमिलेको कारण बाहिर विवाद जस्तो देखिए पनि सबै मिलाइने उनको दाबी छ ।
पार्टीका नेता डा.सरोज चौधरीले पनि उम्मेदवार एउटै बनाउन प्रयास गरिने बताए । रुपन्देही–३ का लागि आफूले पनि उम्मेदवारीको तयारी गरिरहेको बताउँदै उनले पार्टीले आफूलाई सिफारिस गर्नेमा विश्वस्त रहेको बताए ।
पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ विवादमा तानिएपछि संरक्षक रेशम चौधरी पक्षको राष्ट्रिय भेला बोलाएर अध्यक्ष श्रेष्ठलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी अध्यक्षबाट हटाएको थियो । त्यसपछि लालवीर चौधरीलाई अध्यक्ष बनाइएको थियो । तर निर्वाचन आयोगले मान्यता नदिई रञ्जिता श्रेष्ठलाई नै कायम गरेको थियो ।
रञ्जिता नै अध्यक्ष कायम भएपछि पार्टीमा आन्तरिक द्वन्द्व झन् तीव्र भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण