बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
विचार

देशको निकास र विकासका लागि नयाँ राजनीतिक केन्द्र

मङ्गलबार, १७ भदौ २०८२, १६ : ४४
मङ्गलबार, १७ भदौ २०८२

नेपालमा मुख्य राजनीतिक दल र तिनका नेताहरुबाट निकास र विकास सम्भव छैन भन्ने आम नागरिकले बुझिसकेका छन् । त्यही पनि जनता उही नेताको पछि किन लागिरहेका छन् ? 

यो प्रश्नको जवाफ खोज्ने बेला भएको छ । यसको जवाफ कसले खोज्ने र दिने भन्ने गोलचक्करमा देश निस्सासिएको छ । आजको दिनमा निश्चित रुपमा हामीले यसको सही जवाफ र निकासको बाटो दिने बेला भएको छ । 

नेपालमा जनता मात्र होइन, राजनीतिक दलको नेतृत्व नै यो व्यवस्थाबाट सम्भव छैन भन्ने बुझाइमा पुगेको छ । नेताले पनि यो व्यवस्थाबाट पार लाग्दैन भन्ने उही व्यवस्थालाई नै टिकाउनतिर लाग्ने, जनता पनि यो व्यवस्था, नेतृत्व र पार्टीबाट हुँदैन भन्ने, तर उही नेता र पार्टीको पछि लाग्ने विचित्रको परिवेश नेपालमा सिर्जना भएको छ । यो अवस्था कहिलेसम्म रहने हो भन्ने बहस थोरै सचेत वृत्तमा सुरु भएको छ । 

प्रजातान्त्रिक भनिने र लोकतन्त्रको मसिया ठान्ने नेपाली कांग्रेसमा उमेरलाई आधार मानेर मूल नेतृत्व परिवर्तन गरेर समस्याको हल गर्नुपर्ने बहस सुरु भएको छ । तर त्यो बहस आजको भोलि सार्थकता पाउने स्थितिमा पुगेको छैन । यो कुनै विकल्पको बहस पनि होइन, नेतृत्वमा पुग्ने थोत्रो नारा मात्रै हो । 

नेपालमा कम्युनिस्ट पार्टीहरु दुई धारमा विभाजित छन् । विद्ममान संसदीय व्यवस्थालाई नै आफ्नो मुख्य राजनीतिक मार्गचित्र मान्ने धार, जसको नेतृत्व केपी ओली, प्रचण्ड र माधव नेपालहरुले गरिरहेका छन् ।

नयाँ भनिने रास्वपाले पुरानो पार्टीको पुरानो नेताबाट देश बन्दैन भन्दै केही महिना त हु󠄻ङ्कार फुकेको थियो । तर आफ्नै ताल उही पुरानाकै जस्तफ भएपछि त्यसको व्याख्या गरिरहनु परेन । 

अब कुरा गरौँ, प्रगतिशील विचार बोक्ने कम्युनिस्ट क्रान्तिकारीहरुको । नेकपा एमाले जसले आफूले आफैँलाई नेपालको धर्ती नै ऊविना नचल्ने स्वघोषणा गरेको छ । आफ्नै पार्टीको पूर्वउपाध्यक्ष र राष्ट्रपति बनेकी विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण नगरेको विषयलाई लिएर पूरै पार्टी नै उनले कब्जा गरे जसरी अहिले एमालेमा रोइकराइ छ । पार्टी सदस्यता नवीकरण नै खारेज भएको, नवीकरण गर्न नमिल्ने बहादुरी देखाइरहेका छन् । यी सबै कुराले स्पष्ट हुन्छ कि एमाले विकल्प होइन, विकल्पविहीन विघटनको दिशामा उन्मुख छ । 

यस्तै अर्को कम्युनिस्ट पार्टी नेकपा माओवादी केन्द्र, जसका नेतृत्वकर्ता प्रचण्ड बिहानदेखि बेलुकासम्म आफ्नो अस्तित्व संकटको रक्षार्थ दायाँ र बायाँ, उत्तर र दक्षिण, पूर्व र पश्चिम, नयाँ र पुरानोको दैलो चहार्दा ठिक्क छन् । अब उनीबाट के आशा राख्न सकिन्छ ? आफू बाँचुञ्जेल जसरी भए पनि, जसको पाउ परेर भए पनि आफ्नो निजी जीवन र आफू वरिपरिको निश्चित आसेपासे समूहको रक्षासम्म गर्न सक्छ, उसबाट विकल्पको आश गर्नु मरेको लासलाई जिउँदो बनाउँछु भन्नुजस्तै हो । 

अब अर्को अन्तिम विकल्पको रुपमा नयाँ राजनीतिक केन्द्र निर्माण गर्न लागिपरेका कम्युनिस्ट पार्टीको चर्चा गरौँ । नेपालमा कम्युनिस्ट पार्टीहरु दुई धारमा विभाजित छन् । विद्ममान संसदीय व्यवस्थालाई नै आफ्नो मुख्य राजनीतिक मार्गचित्र मान्ने धार, जसको नेतृत्व केपी ओली, प्रचण्ड र माधव नेपालहरुले गरिरहेका छन् । त्यसको मूल चरित्रबारे माथि नै चर्चा गरियो । 

अर्को विद्यमान संसदीय व्यवस्थाबाट आजको समस्याको निकास र समाधान सम्भव छैन भन्ने निष्कर्ष निकाली समाजवादी यात्रामा लामबद्ध विप्लव लगायत केही साना कम्युनिस्ट पार्टीको नेतृत्व गरिरहेको धार हो । 

विशेषगरी यो आलेखमा चर्चा र व्याख्या गर्न खोजिएको विषयमा प्रवेश गरौँ । गत साउन ६ गते राष्ट्रिय सभागृहमा ४७ औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा ‘स्कुल अफ मार्क्सिज्म’ले आयोजना गरेको वर्तमान राजनीति र कम्युनिस्ट आन्दोलन विषयक कार्यक्रममा युवाजमातको बाक्लो उपस्थिति थियो । सम्भवतः निकै समयपछि क्रान्तिकारी युवाहरुको जोसिलो र उत्साहपूर्ण उपस्थिति भएको कार्यक्रम थियो त्यो । 

त्यसको कारण थियो, उक्त कार्यक्रममा वक्ताको रुपमा उपस्थित नेकपाका महासचिव विप्लव, नेकपा एकृकृत समाजवादीका महासचिव घनश्याम भुसाल र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा । यी तीनै जना नेता आजको नेपालको कम्युनिस्ट आन्दोलनमा चर्चाको शिखरमा छन् ।

नयाँ राजनीतिक केन्द्र निर्माणको पहलकदमी, नेतृत्व र संरचना कसरी बन्छ भन्ने विषयमा जाऔँ । नेपालको आम जनमत कम्युनिस्ट मत हो । त्यो आजका दिनमा यो भन्दा बाहिर जाने सम्भावना छैन र जान दिनु पनि हुँदैन ।

 

कार्यक्रममा पहिलो वक्ताको रुपमा बोलेका जनार्दन शर्माले आफ्नै पार्टी अध्यक्ष प्रचण्डबाट अबको माओवादी आन्दोलनको उपलब्धिको रक्षा असम्भव रहेकाले नेतृत्व युवापुस्ताले लिनुपर्ने उद्घोष गरे । 

दोस्रो वक्ता भुसालले पनि उही शैलीमा केपी ओलीको विचलन र विघटनको फेहरिस्तदेखि माधव नेपालको भ्रष्टाचार काण्डसम्मको व्याख्या गरे । उनले अबको निकास र नेतृत्व उनीहरुबाट असम्भव भन्दै आफू र आफ्नो पुस्ताले लिने उद्घोष गरे । 

अन्तिम वक्ताको रुपमा बोल्दै विप्लवले नेपालको कम्युनिस्ट आन्दोलन विघटनको दिशातिर उन्मुख रहेकाले त्यसको पुनर्गठन जरुरी रहेको बताए । कम्युनिस्ट पार्टीमा ध्रुवीकरण, नयाँपुस्ता, नयाँ नेतृत्व र नयाँ केन्द्र निर्माणको आवश्यकता भएको र त्यसका लागि आफू तयार भएको उनको घोषणा थियो । 

यसै सन्दर्भमा विप्लव लेख्छन्- ‘जसले संगठन र नेतृत्वमा नयाँ भन्छन्, तर तिनको राजनीतिक विचार, व्यवस्था, प्रणालीसम्बन्धी दृष्टिकोण पुरानो नै छ । यही व्यवस्थालाई ठिक मान्ने तर नेता मात्र फेरे पुग्छ भन्ने सोच वास्तवमा नयाँ होइन, हुन सक्दैन, पुरानै हो र हुन्छ । नयाँ पाटो यो हो, जसले विचार, व्यवस्था, नेतृत्व, व्यवहार सबै नयाँ आवश्यक ठान्छ । जे भए पनि एकदमै छर्लङ्ग छ जति नै विधि, नियम, मान्यताका झ्याली छाँटे र डण्डा बर्साए पनि पुराना पार्टी, नेतृत्व र केन्द्रले काम गर्नेवाला छैनन् । नयाँको उदय अवश्यम्भावी भइसकेको छ । नयाँको आगमनलाई सचेततापूर्वक भित्र्याउन तयार हुनैपर्छ ।’ 

यति कुरा स्पष्ट भइसकेपछि नयाँ राजनीतिक केन्द्र निर्माणको पहलकदमी, नेतृत्व र संरचना कसरी बन्छ भन्ने विषयमा जाऔँ । नेपालको आम जनमत कम्युनिस्ट मत हो । त्यो आजका दिनमा यो भन्दा बाहिर जाने सम्भावना छैन र जान दिनु पनि हुँदैन । तर आज केही ‘पपुलिस्ट’ पार्टीहरुले तोडमोड गर्ने कोसिस गरिरहेको भए पनि त्यो सम्भव छैन, केही दायाँबायाँ भएको पनि आजको विद्यमान फासिस्ट, अराजक, पदलोलुप, अवसरवादी कम्युनिस्ट खोल ओढेको दानवी तत्वका कारण हो । 

यति भन्न सकिन्छ, नेकपाका महासचिव विप्लवले तत्कालीन माओवादीको मूल नेतृत्व प्रचण्डको पुरानो सत्तासामु आत्मसमर्पण र वर्ग विचलनता विरुद्ध विद्रोह गर्दै निरन्तर क्रान्तिको बाटो पकडिरहेका कारण उनकै पहलकदमी र नेतृत्वमा नयाँ राजनीतिक केन्द्र निर्माण हुने सम्भावना बढेको छ । तर समग्र नयाँ राजनीतिक केन्द् निर्माणको संरचना नेपालको भूराजनीतिक अन्तरसम्बन्धका कारण विप्लवबाट मात्र अलि कठिन छ, त्यो सत्यलाई हामीले लुकाउनु हुँदैन । 

त्यसका लागि घनश्याम भुसाल, जनार्दन शर्मा लगायत कम्युनिस्ट आन्दोलनको वर्ग संघर्षको भट्टीबाट निखारिएर स्पात भएका कैयौँ योद्धाहरुको आवश्यकता पर्नेछ । त्यो समयको माग बमोजिम पूर्ति हुँदै जानेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरवीर सी
सुरवीर सी
लेखकबाट थप