पहिरोले सडक अवरुद्ध हुँदा विद्यालय बन्द
सारांश
- कञ्चनपुरको भीमदत्त नगरपालिका-९ खल्ला मसेट्टी जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको छ।
- लगातारको वर्षाले गर्दा विद्यालयमा पठनपाठन बन्द भएको छ, र विद्युत सेवा पनि अवरुद्ध भएको छ।
- पहिरोले गर्दा स्थानीयलाई आवतजावतमा समस्या भएको छ, र सडक खुलाउन प्रयास भइरहेको छ।
दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टी जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएपछि खल्लास्थित भीमदत्त स्मृति आधारभूत विद्यालयमा पठनपाठन बन्द भएको हो ।
विभिन्न स्थानमा सडकमाथिबाट आएको पहिरोका कारण विद्यार्थीलाई विद्यालय आवागमनमा समस्या हुने भएपछि पठनपाठन बन्द गरिएको विद्यालयका शिक्षक सुरज जोशीले जानकारी दिए । ‘सडकका विभिन्न स्थानमा पहिरो आएको छ, आवतजावत गर्न निकै समस्या छ’, उनले भने, ‘नियमित सडक सञ्चालन नभएसम्म विद्यालयमा पठनपाठन गर्न सकिने अवस्था छैन ।’
‘यहाँको दुर्गम बस्ती खल्ला, मसेट्टी र टुँडिखेलको भौगोलिक बनावट पहाडी भेगको जस्तै छ । महेन्द्रनगर सदरमुकामबाट यहाँ पुग्न चुरे भएर बग्ने १३ वटा खहरेखोला तर्नुपर्दछ । यहाँ वर्षा हुँदा खोलामा आउने बाढीका कारण पनि विद्यार्थीहरूलाई आवागमनमा सास्ती हुन्छ’, जोशीले भने ।
आइतबारदेखि यहाँ भारी वर्षा भइरहेकाले सडकमाथिबाट आएको पहिरोले भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टी जाने सडक र विद्युत सेवा अवरुद्ध भएको भीमदत्त–९ का वडाध्यक्ष गगनसिंह कार्कीले जानकारी दिए । ‘पहिरोले विद्युत्का खम्बामा समेत क्षति गरेको छ भने हालसम्म सडक खुलाउन सकिएको छैन’, उनले भने, ‘सडक अवरुद्ध भएपछि खल्ला मसेट्टी आवतजावत बन्द भएको छ ।’
भीमदत्त नगरपालिकाका कार्यवाहक नगरप्रमुख केशवसिंह विष्टले वर्षाका कारण खल्ला मसेट्टीमा सडक र विद्युत् सेवा अवरुद्ध भएको बताए। ‘लगातारको वर्षाका कारण पहिरो हटाउने काम गर्न सकिएको छैन’, उनले भने, ‘विद्युत् र सडक सञ्चालनका लागि प्रयास भइरहेको छ ।’
कञ्चनपुरको दुर्गम भेगका रूपमा चिनिने भीमदत्त नगरपालिका–९ को खल्ला, मसेट्टी र टुँडिखेल विकासका पूर्वाधारबाट पछाडि परेको छ । उक्त बस्तीमा चार सय ७० परिवारको बसोबास छ । वर्षातमा बाढी पहिरोले सडक अवरुद्ध हुँदा यहाँका स्थानीयले सास्ती खेप्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीको बजेट सोमबार आउने
-
बागमतीको अर्थतन्त्र २४ खर्ब भन्दा बढी, राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण