बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

ललितपुर महानगरको एक विद्यालय—एक सम्पदा कार्यक्रम सुरु

बुधबार, १८ भदौ २०८२, १९ : २७
बुधबार, १८ भदौ २०८२

ललितपुर । ललितपुर महानगरले एक विद्यालय–एक सम्पदा कार्यक्रम सुरु गरेको छ । महानगरभित्र रहेका सम्पदा संरक्षण गर्न र विद्यार्थीलाई सम्पदाको बारेमा जानकारी दिन यो कार्यक्रम ल्याएको महानगरले जनाएको छ  । 

ललितपुर महानगरले बुधबार सामुदायिक विद्यालय र संस्थागत विद्यालयका प्रधानाध्यापक र सरोकारवालासँग छलफल गरी यो कार्यक्रम सुरुवात गरेको हो । 

उक्त कार्यक्रम अन्तर्गत विद्यार्थीले विद्यालयको नजिक रहेका वा पायक पर्ने स्थानमा रहेका सम्पदाको सरसफाइ गर्ने, संरक्षण गर्ने काम गर्छन् ।

महानगरभित्रका ढुंगेधाराहरु, पाटी (फल्चा), बौद्ध विहारहरु, मठमन्दिर, बौद्धस्तुपा , प्रमुख पोखरीको संरक्षण र सरसफाइमा विद्यार्थी जुट्ने छन् ।

महानगर प्रमुख चिरीबाबु महर्जनले यो महानगरको ‘ड्रिम प्रोजेक्ट’ भएको बताए । विद्यार्थीको लागि यो पढाइको प्रयोगात्मक कक्षा भएको बताउँदै भने, ‘यो कार्यक्रम विद्यार्थीलाई जानकारी र संरक्षण दुवैको बारेमा ज्ञान दिन ल्याएका हौँ, आफूले संरक्षण गरेको कुराको माया लाग्छ , यसले जीवनपर्यन्त संरक्षणमा चासो र चिन्तन गर्न सहयोग गर्छ ।’ 

महानगर प्रमुख महर्जनले विद्यार्थीलाई यो कार्यक्रममा सक्रिय भएर सहभागी हुन अनुरोध गरे । सामाजिक विकास समितिका संयोजक एवम् प्रवक्ता राजु महर्जनले यो कार्यक्रमले विद्यार्थीलाई प्रयोगात्मक शिक्षासँग जोड्ने बताए । 

उनले भने, ‘सम्पदा महत्त्व बुझाउन मद्दत गर्छ, सम्पदाको प्रचारप्रसारको लागि पनि यो कार्यक्रमले सहयोग पुर्‍याउँछ ।’

यो कार्यक्रम महानगरभित्र २९ वटै वडामा सञ्चालन गरिएको शिक्षा महाशाखा प्रमुख देवीप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार यो कार्यक्रमका अनुगमनका लागि पाँच सदस्यीय तीन वटा अनुगमन समितिको समेत गठन गरिएको छ ।

 उक्त समितिले दिएको मूल्याङ्कन प्रतिवेदनका आधार संरक्षणमा उत्कृष्ट तवरले काम गर्ने विद्यालयलाई पुस २ गते महानगरको सातौँ स्थापना दिवसको अवसरमा पुरस्कृत गरिनेछ ।

नगर प्रमुख महर्जनले भने, ‘पुरस्कार प्रोत्साहन हो, यसले संरक्षणको काममा सक्रिय हुन प्रेरित गर्छ । ’ सरसफाइ क्रममा सङ्कलन भएको फोहोरको वातावरण शाखाले तत्काल व्यवस्थापन गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप