बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ

बुधबार, २४ असार २०८३, २२ : ३१
बुधबार, २४ असार २०८३

सारांश

  • नारायणकाजी श्रेष्ठले नेपालको असंलग्न परराष्ट्र नीतिबाट सरकार विचलित हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
  • उनले दलाई लामाको उत्तराधिकारी नेपालबाटै घोषणा गर्ने चर्चा र सरकारको औपचारिक अनुमतिमा मनाइएको दलाई लामाको जन्मोत्सवले परराष्ट्र नीतिमा विचलनको आशंका बढाएको बताएका छन् ।
  • श्रेष्ठले सरकार असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिबाट विचलित भएमा सशक्त प्रतिरोध हुने चेतावनी दिएका छन् ।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले सरकार नेपालको असंलग्न परराष्ट्र नीतिबाट विचलित हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता र स्वाधीनता विरुद्ध कुनै पनि गतिविधि नगर्न सरकारलाई चेतावनी दिएका हुन् ।

नेपालमा पछिल्लो समय विकसित घटनाक्रमप्रति शंका व्यक्त गर्दै नेता श्रेष्ठले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र वर्तमान बालेन सरकारलाई दलाई लामा र उनको कथित सरकारको तर्फबाट बधाई आएदेखि नै यसको अन्तर्यका बारेमा गम्भीर आशंका सहित चर्चा हुँदै आएको उल्लेख गरेका छन् । साथै, दलाई लामाको उत्तराधिकारी नेपालबाटै घोषणा गर्ने चर्चा समेत भइरहेको उनले औँल्याएका छन् ।

यसै बिच केही दिन अघि मात्र नेपालमा पहिलो पटक दलाई लामाको जन्मोत्सव सरकारको औपचारिक अनुमतिमा एक समारोहका साथ मनाइएको र त्यसमा कतिपय पश्चिमा राष्ट्रका काठमाडौँस्थित कूटनीतिज्ञहरूको उपस्थिति रहेको कुरा सार्वजनिक भएको भन्दै उनले यसलाई सामान्य घटनाका रूपमा लिन नसकिने बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘यो सामान्य घटना होइन । यसले वर्तमान सरकार नेपालको परराष्ट्र नीतिमा गम्भीर विचलनतर्फ उन्मुख हुँदैछ भन्ने आशंकालाई बल पुर्‍याएको छ ।’

नेता श्रेष्ठले सरकार असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिबाट विचलित भएर कुनै शक्ति राष्ट्रको स्वार्थमा लागेमा त्यसको परिणाम भयानक हुने चेतावनी दिएका छन् । उनले लेखेका छन्, ‘सरकारले नेपालले लिँदै आएको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई औपचारिकतामा सीमित गर्दै व्यवहारमा त्यसबाट विचलन भएर कुनै शक्ति राष्ट्रको रणनीतिक स्वार्थ पूरा गर्ने दिशामा अघि बढ्यो भने त्यसले नेपालको राष्ट्रिय सार्वभौमसत्ता र स्वाधीनतालाई गम्भीर जोखिम र संकटमा धकेल्नेछ । ’

परराष्ट्र नीतिमा हुने यस्तो विचलन देशभक्त नेपाली जनताका लागि किमार्थ स्वीकार्य नहुने भन्दै उनले त्यस्तो अवस्थामा ‘त्यसको सशक्त प्रतिरोध अनिवार्य हुने’ चेतावनी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप