सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

पञ्चाङ्ग निर्णायक विकास समितिको अध्यक्षमा शम्भु ढकाल

बिहीबार, १९ भदौ २०८२, ११ : ५४
बिहीबार, १९ भदौ २०८२

सारांश

  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा नयाँ पदाधिकारी नियुक्त गरेको छ।
  • प्रा शम्भुप्रसाद ढकाललाई समितिको अध्यक्षमा नियुक्त गरिएको छ, भने अन्य सदस्यहरूमा पनि नियुक्ति गरिएको छ।
  • नवनियुक्त अध्यक्ष र सदस्यहरूको कार्यकाल पाँच वर्षको हुनेछ, र कार्यकारी निर्देशक नियुक्त हुन बाँकी छ।

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा नयाँ पदाधिकारी नियुक्त गरेको छ ।  संस्कृतिमन्त्री बद्रीप्रसाद पाण्डेले बुधबार मन्त्रीस्तरीय निर्णय गरी समितिको अध्यक्षमा प्रा शम्भुप्रसाद ढकाललाई जिम्मेवारी दिएका हुन् ।

यसैगरी समितिका सदस्यमा धर्मशास्त्रविद् प्राडा.देवमणि भट्टराई, ज्योतिषी रतिदेवी श्रेष्ठ र ज्योतिष विषयका उपप्राध्यापक आर्यावर्त पात्रो (पञ्चाङ्ग) का पञ्चाङ्गकार नारायणप्रसाद निरौलालाई नियुक्त गरेका समितिले जनाएको छ । 

समितिको सदस्यमा ज्योतिष लक्ष्मणप्रसाद पन्थीको पदावधि भने बाँकी नै रहेको छ । समितिका नवनियुक्त अध्यक्ष र सदस्यलाई आजै समितिको कार्यालय नारायणहिटी दरबार सङ्ग्रहालयमा स्वागत गर्ने कार्यक्रम रहेको वरिष्ठ प्रशासन सहायक खिलहरि घिमिरेले  जानकारी दिए ।

अध्यक्ष र सदस्यहरुलाई पाँच वर्षे कार्यकालका लागि नियुक्त गरिएको हो । समितिमा यसअघि प्राश्रीकृष्ण अधिकारी नेतृत्वको समूह रहेको थियो । अधिकारी नेतृत्वको समितिको कार्यकाल गत असार २३ गते सकिएको हो । समितिको कार्यकारी निर्देशक भने नियुक्त गर्न बाँकी रहेको छ । 

कार्यकारी निर्देशक भने खुला प्रतिष्पर्धाबाट नियुक्तिको प्रक्रिया चलिरहेको छ । त्यसमा तीन जनाले आवेदन दिएको पनि समितिले जनाएको छ । मन्त्रिपरिषद्ले २०७७ पुस २० गते स्वीकृत गरेको समितिको गठन आदेश अनुसार चाड, पर्व, मुहूर्त, साइत, धर्म, संस्कृति लगायतका बारेमा निर्णय गर्ने र प्रत्येक वर्ष प्रकाशन हुने नयाँ पात्रो (पञ्चाङ्ग) तथा भित्तेपात्रो (क्यालेण्डर)लाई स्वीकृति दिने मुख्य काम समितिलाई दिइएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप