‘सेतो एप्रोन’ नर्सहरूको कथा र नेपाली स्वास्थ्य प्रणालीको दर्पण
सारांश
- Anju Neupane's novel, 'Seto Apron', explores the nursing profession and Nepali healthcare.
- The novel portrays challenges in nurses' lives, relationships with patients, and political interference.
- 'Seto Apron' highlights issues like exploitation of healthcare workers and the impact of the health sector on Nepali society.
‘सेतो एप्रोन’ अन्जु न्यौपानेद्वारा लिखित एक सामाजिक यथार्थवादी उपन्यास हो, जसले नर्सिङ पेसाको भित्री संसार र नेपाली स्वास्थ्य प्रणालीको गहिरो चित्र प्रस्तुत गरेको छ ।
न्यौपानेको यसअघि ‘मोड’ र ‘लुकेको वासना’ उपन्यास प्रकाशन भइसकेका छन् । ‘सेतो एप्रोन’ भने यसै वर्ष रत्न पुस्तक भण्डार काठमाडौँबाट प्रकाशित तेस्रो कृति हो । ३११ पृष्ठको यस उपन्यासले सम्पूर्ण स्वास्थ्य संरचना, राज्यको नीतिगत कमजोरी र समाजको सोचाइलाई समेत प्रश्न गरेको छ । नर्सको पेसागत जीवनका चुनौती, बिरामीसँगको सम्बन्ध, अस्पतालभित्रका प्रशासनिक तथा राजनीतिक हस्तक्षेप र नेपाली समाजमा स्वास्थ्य पेसाप्रतिको दृष्टिकोणलाई गहिरो विश्लेषण गरिएको छ । यस दृष्टिले ‘सेतो एप्रोन’ नेपाली साहित्य मात्र नभई सामाजिक विमर्शमा योगदान पुर्याउने कृति बनेको छ ।
तृतीय पुरुष दृष्टिविन्दु संरचनामा प्रस्तुत गरिएको यस उपन्यासको कथावस्तु निकै सान्दर्भिक छ । उपन्यासमा मुख्य पात्र अप्सरा रहेकी छे भने सहायक पात्रको रूपमा छिरिङ, अभिषेक, तेजस्वी र रोशनी छन् । गौणपात्रको रूपमा श्रवण, मानुषी, सुमित्रा लगायत छन् । उपन्यासमा एउटा मात्र पात्रलाई नायकत्व प्रदान नगरी बहुनायकत्व प्रदान गरिएको छ ।
- कथावस्तु
सुर्खेत छिन्चुमा बस अनियन्त्रित भई पल्टिएर धेरै मान्छे हताहत हुन्छन् । दुर्घटनामा केहीको मृत्यु हुन्छ भने केही गम्भीर वा केही सामान्य घाइते हुन्छन् । घाइतेलाई कोहलपुर मेडिकल कलेजमा ल्याइन्छ । घाइतेको उपचार प्रक्रियाबाट ‘सेतो ऐप्रोन’को कथावस्तु सुरु हुन्छ ।
कोहलपुर मेडिकल कलेजभित्रको मुख्य परिवेश रहेको यस उपन्यासमा बस दुर्घटना क्षेत्र सुर्खेत, छिरिङको दुर्गम गाउँ मुगु, अस्ट्रेलियाजस्ता केही परिवेश छिटफुट रूपमा आउँछन् । निम्नमध्यम वर्गको अवस्था, प्रेममा हुने धोका, स्वास्थ्य क्षेत्रमा भएको विकृति विसङ्गति र त्यसलाई राजनीतिले पारेको प्रभाव, स्वास्थ्यकर्मीले भोग्नुपरेका समस्या, स्वास्थ्य संस्थामा हुने विभिन्न आन्दोलन र त्यसले स्वास्थ्य क्षेत्रमा परेको असर, त्यसमा बिचौलियाको चलखेल जस्ता विषयवस्तुमा उपन्यासको कथावस्तु केन्द्रित छ । देशभित्रै बिरामीको सेवा गर्ने इच्छा हुँदाहुँदै स्वास्थ्यकर्मी माथिको श्रमशोषण, नर्स पढ्दा लागेको ऋण तिर्न नसक्दा विदेश पलायन हुनुपर्ने बाध्यतासम्म पुगेर उपन्यासको कथा टुङ्गिन्छ ।
कथावस्तु यति मिठो र सरल ढङ्गले अगाडि बढ्छ, पाठकलाई कतै कति पनि झर्को लाग्दैन । कतिपय ठाउँमा त कथावस्तुको प्रस्तुतिले पाठकलाई यति भावविह्वल बनाउँछ कि पत्तै नपाई दुईपटक मेरा आँखा रसाउन पुगे ।
अप्सराले नर्स बन्ने सपना देख्छे । उसको सपना पूरा गर्न बुबाले भारतबाट कमाएर ल्याएको पैसाले बजारछेउ जग्गा किनेका थिए, त्यही जग्गा बेचे । बाँकी ऋण लिएर उसलाई नर्स पढाएका थिए । त्यतिबेला बुवाले भनेका थिए, ‘तँलाई पढाउन जग्गा बेचेपछि हामीसँग बहिनीलाई पढाउन पैसा हुनेछैन । त्यसैले पहिला तँ पढ्, बहिनी तेरो जिम्मा ।’ नर्सिङ पढाइ सकाएर जागिर खाइसक्दा पनि बुबाको वाचा पूरा गर्न सक्ने स्थिति थिएन । उसको कमाइबाट ऋणको ब्याज तिर्न पनि पुगेन । त्यो क्षणले पाठकलाई निकै भावुक बनाउँछ ।
यस्तै कोरोनाको समयमा संक्रमित बढ्न थालेपछि रोशनीले कोरोना नसरोस् भनेर श्रीमान् र छोरालाई घरमा पठाउँछे । यता घरबेटीले तिमीले हस्पिटलमा काम गछ्र्यौ, हामीलाई कोरोना सर्ने डर भयो भन्दै रूममा बस्न दिँदैन । रुम छाडेर ब्याग बोकी रोशनी हस्पिटल जान्छे । आफू महिनावारी भएको समयमा आफ्नो स्वास्थ्य ठिक नहुँदानहुँदै कोरोना संक्रमित बिरामीको सेवामा लाग्छे । ड्युटी सकेर कहाँ जाने अन्योलमा पर्छे । उसको मिल्ने साथी रेनुकालाई सम्झन्छे र फोन गर्छे, रेनुकाले बहाना गर्छे । रोशनीलाई सहयोग गर्दिन । एउटी नर्स कोरोना संक्रमित बिरामीको सेवा गर्दागर्दै आफैँ अस्वस्थ छे, उसको साथमा कोही छैन । रुमबाट घरबेटीले निकालेको छ । आफ्नो नजिकको साथीले सहयोग गरेन । अन्त्यमा उसले अप्सरालाई सम्झन्छे । अप्सरा र तेजस्वीले उसलाई सहारा दिन्छन् । त्यो क्षणले निकै भावविह्वल बनाउँछ । यस्ता कैयौँ ठाउँमा पाठकको मन–मस्तिष्क छोइदिन्छ उपन्यासले ।
नर्स बनेर जागिर खाएपछि सबै सपना पूरा हुने सोचेकी थिई अप्सराले । समस्या नै समस्याले गाँजिएको स्वास्थ्य क्षेत्रमा श्रमशोषण, नर्सिङ पेसाप्रतिको हेपाहा प्रवृत्तिले उसको सपना पूरा हुन सकेन । देशप्रतिको अथाह प्रेम हुँदाहुँदै अन्ततः ऊ सपनालाई पछ्याउँदै अस्ट्रेलिया जान बाध्य हुन्छे । उपन्यासको मुख्य पात्रको रूपमा रहेकी अप्सरालाई यथार्थ पात्रका रूपमा प्रस्तुत गरिएको छ ।
बस दुर्घटनापछि हस्पिटल भर्ना भएको छिरिङलाई मौन पात्रका रूपमा उभ्याए पनि उसको उपस्थितिले सम्पूर्ण पात्र, उपन्यासको कथावस्तु र परिवेशलाई जोड्ने काम गरेको छ । उपन्यासमा उल्लेख गरिएको छ, ‘अभिषेक, तेजस्वी, अप्सरा सबैको उद्देश्य छ तर उसको (छिरिङको) छैन ।’ छिरिङ पात्रमार्फत नेपालको दूरदराजका क्षेत्रको अवस्था उजागर गरिएको छ ।
डा. अभिषेक, जो सुन्दर छ । यस पात्रमार्फत एकोहोरो प्रेमको परिणाम के हुन्छ, त्यसले कस्ता–कस्ता शारीरिक र मानसिक असर पार्न सक्छ, यसका साथै बिरामीको सेवामा समेत असर पर्ने कुरा उपन्यासमा देखाइएको छ । साथै, यस पात्रका माध्यमबाट हरेक मान्छे हरेक ठाउँमा सफल हुन नसक्ने कुरा बुझाउन खोजिएको छ । डा. अभिषेक अन्तर्मुखी पात्रका रूपमा आएको छ ।
आफ्नो पेसा (नर्सिङ)मा समर्पित पात्रका रूपमा तेजस्वीलाई देखाउन खोजिएको छ । तेजस्वीमार्फत नर्सिङलाई सेवाको भावनाले ओतप्रोत पेसाका रूपमा प्रस्तुत गरिएको छ । नितान्त सेवाभावका साथ नर्सिङ पेसामा प्रवेश गरेकी तेजस्वीलाई डा. अभिषेकको अथाह प्रेमले कहिल्यै पगाल्न सक्दैन ।
यस्तै रोशनीलाई यस्तो पात्रका रूपमा उभ्याइएको छ, जसले आफैँ मरेर अरूलाई बचाउँछे । कोरोना महामारीका बेला संक्रमितको सेवा गर्दागर्दै ऊ आफैँ संक्रमित हुन्छे र अन्ततः अस्ताउँछे ।
सबै क्षेत्रमा सबै मान्छे नराम्रा हुँदैनन् र सबै मान्छे राम्रा पनि हुँदैन भन्ने पनि उपन्यासले देखाउन खोजेको छ । स्वास्थ्य क्षेत्रमा दिवाकरजस्तो स्त्रीभोगी र श्रवणजस्तो घमण्डी तथा अहङ्कारी पात्र छन्; स्वास्थ्यकर्मीको अधिकारका लागि अगुवाइ गर्ने मानुषी र सुमित्राजस्ता दोहोरो चरित्र भएका बिचौलिया पात्र पनि छन्, जसले पैसाको प्रलोभनमा आन्दोलन तुहाउँछन्— यस्ता खराब पात्रलाई पनि उपन्यासमा उजागर गरिएको छ ।
भनिन्छ, इतिहासमा तिथिमितिबाहेक अरू सबै कुरा काल्पनिक हुन्छन् भने उपन्यासमा तिथिमितिबाहेक सबै कुरा सत्य हुन्छन् । यो उपन्यास पनि केवल कल्पनामा आधारित नभई; प्रत्यक्ष अनुभव, देखेका घटनाक्रम र महसुस गरिएका भावनाको मिश्रण हो । किनभने लेखिकाले आफ्नै पेसागत अनुभवलाई आधार बनाएर कथावस्तु प्रस्तुत गरेकी छन् । स्वास्थ्य क्षेत्रमा रहेको विकृति र विसङ्गतिलाई औँल्याउँदै तिनको निराकरणको चाहना राखी आलोचनात्मक दृष्टिकोण उपन्यासमा आएको छ ।
प्रेमको अर्थ शारीरिक सम्बन्धसँग मात्र नभई आत्मिक सम्बन्धसँग सम्बन्धित रहेको कुरा पात्र तेजस्वीका माध्यमबाट प्रकट गरिएको छ । यस उपन्यासमा सूक्ष्म मनोविश्लेषण पाइन्छ, डाक्टर अभिषेकलाई एकोहोरो प्रेमका कारण परेको प्रभावले निम्त्याएका समस्याको चित्रण गर्दा उपन्यासकारले कथानकमा स्वाभाविक पृष्ठभूमि प्रदान गरेकी छन् । बिरामीको उपचार, बिरामी र नर्सबिचको सम्बन्धजस्ता कुराको मनोवैज्ञानिक विश्लेषणले उपन्यासलाई सौन्दर्य थपेको छ । त्यसमाथि भाषाशैली सुन्दर छ, गद्य कविता पढेझैँ लाग्छ ।
- केही सुझाव
एरिस्टोलले भनेझैँ साहित्य समाजको अनुकरण मात्र नभई पुनर्सिजना पनि हो । त्यसैले समाजको यथार्थलाई समस्याका रूपमा प्रस्तुत मात्र नगरी समाधानको पाटोलाई साहित्यिक विमर्शको विषय बनाउनसक्नुपर््थ्यो उपन्यासकारले ।
लेखकमा सामाजिक वर्गीय दृष्टिकोण, विद्रोही चेतना, द्वन्द्ववादी मनोविज्ञान प्रशस्त पाइन्छ । यद्यपि कोरोना संक्रमणले मृत्यु भएकी रोशनीको पार्थिव शरीरका सम्बन्धमा भनिन्छ, ‘अहिले सास अर्को शरीरलाई आवश्यक पर्यो होला ! यस्ता प्रसङ्गले लेखकमा भौतिकवादी दृष्टिकोणको विषयमा अलमल हो कि भन्ने दर्शाउँछ ।
कोहलपुर मेडिकल कलेजमा हुने विभिन्न खाले आन्दोलनलाई पनि समस्याका रूपमा प्रस्तुत गर्न खोजिएको छ । आन्दोलनका कारण समस्या होइन कि समस्याका कारण आन्दोलन भएको हो भन्ने कुरामा जोडदिँदा उपयुक्त हुन्थ्यो कि !
कथावस्तुमा असफलता र निराशालाई बढी प्राथमिकता दिइयो । कुनै पात्रको प्रेम पनि सफल हुँदैन र भविष्य पनि । समस्याको बिचबाट सङ्घर्ष गर्दै सफलताको बाटो खोज्नु सचेत र सङ्घर्षशील नागरिकको दायित्व हो । जीवनमा सङ्घर्षले समस्याको बिचबाट पनि सफलता दिलाउँछ भनी सन्देश दिँदा उपयुक्त हुन्थ्यो कि ! नत्र त असफलता र निराशा मात्र देखिन जान्छ ।
उपन्यासको आधारभूत तत्त्वहरू भाषा, प्रतीक र विम्ब, गति र लयजस्ता विषयमा गहिरो गरी छिचोल्ने समीक्षकको रूपमा मैले आफूलाई उभ्याउन सकेको छैन । सामान्य पाठकका दृष्टिले हेर्दा भाषा सरल छ, कथावस्तु आकर्षक छ, एकपटक पढ्न थालेपछि रोकिन गाह्रो हुन्छ । यस दृष्टिले ‘सेतो एप्रोन’ नेपाली उपन्यास साहित्यमा मात्र नभई सामाजिक विमर्शमा पनि महत्त्वपूर्ण योगदान गर्ने कृति बनेको छ ।
अन्त्यमा, ‘सेतो एप्रोन’ केवल नर्सहरूको कथा होइन, यो नेपाली स्वास्थ्य प्रणालीको दर्पण हो । यसलाई पढ्दा पाठक केवल कथामा डुब्दैन, उनै स्वास्थ्यकर्मीको जीवन र पीडासँग भावनात्मक रूपमा गाँसिन्छ र स्वास्थ्य प्रणाली सुधारको आवश्यकता महसुस गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण