बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जेनजीलाई सुमनाको सुझाव : बानेश्वरको निषेधित क्षेत्र नजानू, शान्तिपूर्ण उपस्थिति नै जीत हो

आइतबार, २२ भदौ २०८२, २१ : २५
आइतबार, २२ भदौ २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सोमबार हुने जेनजी पुस्ताको प्रदर्शनलाई पूर्ण समर्थन जनाएकी छिन् ।

उनले सामाजिक सञ्जाल पोस्टमार्फत यो आन्दोलनलाई ‘युवा विद्रोह’ को संज्ञा दिँदै यसको सफलताको कामना गरेकी छन् ।

सांसद श्रेष्ठले देशमा बढ्दो भ्रष्टाचार र बेथितिको अन्त्यका लागि युवाहरूले आवाज उठाउनुपर्नेमा जोड दिँदै यो देश कसैले आएर बनाइदिने नभएको बताएकी छन् ।

उनले सामाजिक सञ्जाल प्रतिबन्धबारे पनि आफ्नो धारणा स्पष्ट पार्दै वाक स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी सरकारलाई यति धेरै अधिकार दिने प्रावधानमा आफ्नो कडा असहमति रहेको उल्लेख गरेकी छन् ।

उनले यो विषयमा संसद् र सम्बन्धित समितिमा सरकारसँग जवाफ माग्ने र युवाहरूलाई सडकबाट जवाफ माग्न आग्रह गरेकी छन् । सांसद श्रेष्ठले आन्दोलनमा सहभागी सबैलाई अहिंसा र भद्र अवज्ञालाई हतियार बनाउन आग्रह गरेकी छन् । 

उनले बानेश्वर क्षेत्रमा जुलुस गर्न नजाने र शान्तिपूर्ण उपस्थितिलाई नै जित मान्न सुझाव दिएकी छन् । श्रेष्ठले आन्दोलनलाई राजनीतिक लाभको मञ्च नबनाउन राजनीतिक दल र नेताहरूलाई आग्रह गर्दै युवालाई देशको शक्ति रहन दिनुपर्नेमा जोड दिएकी छन् ।

अन्तमा, उनले सरकारलाई युवाका मागहरू सम्बोधन गर्न तत्काल कदम चाल्न चेतावनी दिएकी छन् । यदि आन्दोलनमा कुनै अप्रिय घटना भए त्यसको परिणाम भोग्न सरकार तयार रहनुपर्ने उनको भनाइ छ ।

यस्तो छ उनको भनाई :

भोलि (सेप्टेम्बर ८) को Gen Z Uprisingलाई पूर्ण समर्थन, म अहिले सुदूर पश्चिममा छु।
यो देश कोही आएर बनाइदिने होइन।  भ्रष्टाचारले सीमा नाघिसक्यो, कोही अरू आएर हटाइदिने होइन। त्यसैले जुट्नुस्, अघि बढ्नुस्।
सामाजिक सञ्जाल बन्द बारे - देशको कानुन बनाउने संसद्‌ले हो, सामाजिक सञ्जाल सम्बन्धी विधेयक संसद्‌मा विचाराधीन छ । म सङ्घीय सांसद हुँ, सम्बन्धित समितिमा पनि छु । व्यक्तिको वाक स्वतन्त्रतामा प्रश्न उठ्ने गरी सरकारलाई यति धेरै शक्ति दिने प्रावधानमा मेरो कडा विमति छ ।   निर्देशिका सञ्चार मन्त्रालयले बनाएको हो, मूल कानुनमा बहस नसकिँदै किन जोडबलका साथ कार्यान्वयनमा ल्याउन खोजियो? यसको जवाफ म सदनमा र समितिमा माग्छु । तपाईँहरू सडकबाट माग्नुहोला ।     

तीन पक्षसँग म स्पष्ट अनुरोध गर्न चाहन्छु:

१. युवाहरू र आन्दोलनमा सरिक हुने सबैलाई — आन्दोलनलाई सफल र दिगो बनाउन अहिंसा र भद्र अवज्ञालाई हतियार बनाऔँ । बानेश्वरक्षेत्र निषेधित क्षेत्र हो, त्यहाँ जुलुस गर्न दिइँदैन, त्यहाँ नजानुस्। असङ्ख्य सङ्ख्यामा शान्तिपूर्ण उपस्थिति नै जीत हो ।  
२. राजनीतिक दल र राजनीतिकर्मीसँग — यो युवाको आन्दोलनलाई राजनीतिक लाभको मञ्च नबनाऊँ। म पनि युवाका सपनाको समाज बनाउने अजेण्डामा समर्थन जनाएर अघि बढ्न चाहन्छु।  कसैले यो हाइज्याक नगर्नु होला। युवालाई देशको शक्ति रहन दिनु होला  ।
३. सरकारसँग — युवाका मागहरू हेर र  सम्बोधन गर्न तुरुन्त कदम चाल। आन्दोलन सुरु हुनु अगावै आत्मालोचना गरे राम्रो । आन्दोलनमा दायाँ बायाँ केही भए भोलिदेखि दिनगन्ति सुरु भएको मान्नु ।

धन्यवाद अनि शुभकामना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप