सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

एयर इण्डिया र इन्डिगोले विशेष उडानमार्फत भारतीय यात्रु लैजाने

बिहीबार, २६ भदौ २०८२, १२ : २९
बिहीबार, २६ भदौ २०८२

काठमाडौँ । नेपालमा रोकिएका भारतीय नागरिकलाई स्वदेश फर्काउन एयर इण्डिया र इन्डिगो एयरलाइन्सले विशेष उडान सुरु गरेका छन् । 

नेपालमा भएको हिंसात्मक प्रदर्शनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा भन्दा लामो समय बन्द हुँदा काठमाडौँमा रहेका भारतीयसहित विदेशी यात्रुहरु अलपत्र परेका थिए । 

विमानस्थल सञ्चालनमा आएपछि भारतको नागरिक उड्डयन मन्त्रालयले आफ्ना नागरिकलाई स्वदेश फर्काउन एयर इन्डिया र इन्डिगोसँगको समन्वयमा बिहीबारदेखि अतिरिक्त उडानको व्यवस्था गरेको छ ।

भारतीय नागरिक उड्डयनमन्त्री राममोहन नायडुले सामाजिक सञ्जालमार्फत आगामी दिनहरूमा पनि नागरिकहरूको सुरक्षित यात्राका लागि थप उडान तय गरिएको पुष्टि गरेका छन् । उनले सङ्कटको यस घडीमा हवाई भाडालाई उचित सीमामा राख्न पनि एयरलाइन्सहरूलाई निर्देशन दिएका छन् ।

यस आन्दोलनका क्रममा नेपालमा अलपत्र परेका यात्रुहरूमध्ये राजस्थानको भरतपुर जिल्लास्थित बयाना निर्वाचन क्षेत्रकी स्वतन्त्र विधायक रितु बन्नावत पनि छन् । ४१ वर्षीया बन्नावत आफ्नो परिवारका सदस्यहरूसहित कैलाश मानसरोवर जाने क्रममा नेपाल-चीन सिमाना नजिकको एक गाउँमा रोकिएकी छिन् ।

युवाहरूको अगुवाइमा भएको बृहत् प्रदर्शन हिंसात्मक बन्दा ३० जनाको ज्यान गएपछि काठमाडौँमा जनजीवन बिस्तारै सामान्य बन्दै गएको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको आन्दोलन व्यापक आक्रोशमा परिणत हुँदा हिंसात्मक बनेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप