कर्मचारी नहुँदा भारतबाट आएका मालवाहक गाडी वीरगन्ज भन्सार कार्यालयमै थन्किए
सारांश
- वीरगन्ज भन्सारमा कर्मचारी नहुँदा भारतबाट आएका हजारौं मालवाहक गाडीहरू रोकिएका छन्।
- आन्दोलनका कारण जाँचपास हुन नसक्दा र सुरक्षाको अभावमा गाडीहरू गन्तव्यमा जान सकेका छैनन्।
- भन्सार कार्यालय प्रमुखका अनुसार, रोकिएका गाडीहरूलाई पठाउने काम भइरहेको छ।
वीरगन्ज । भारतबाट नेपाल प्रवेश गर्ने मालवाहक सवारीसाधनहरू वीरगन्ज भन्सार कार्यालयमा थन्किएका छन् । भन्सार कार्यालयमा कर्मचारी नहुँदा नेपालका विभिन्न ठाउँमा जाने करिब एक हजार मालवाहक गाडी थन्किएका हुन् ।
वीरगन्जस्थित एकीकृत जाँच चौकी (आइसीपी) र ड्राइपोर्टको पार्किङ स्थलमा ती सवारी साधन थन्किएका हुन् । जेनजीको आन्दोलनपछि विकसित घटनाक्रमले गर्दा भन्सार कार्यालयमा कर्मचारी प्रशासनको उपस्थिति छैन ।
भन्सार कार्यालयमा कोही कर्मचारी नहुँदा मालवाहक सवारीसाधन रोकिएको चालकहरूको भनाइ छ । पाँच दिनदेखि सबै सवारीसाधन आइसीपीको भन्सार पार्किङ स्थलमा थन्किएको उनीहरू बताउँछन् ।
त्यहाँ रहेका कतिपय सवारी साधनको जाँच पास भएको छैन भने जाँचपास भएका गाडीहरू पनि सुरक्षा ग्यारेन्टी नहुँदा गन्तव्यतर्फ जान नसकेका हुन् ।

भारतको मध्य प्रदेशबाट धनियाँ लिएर आएका फिरोज खानले आफ्नो गाडी भन्सारमा ६ दिनदेखि थन्किएको बताए । ‘आन्दोलनको अघिल्लो दिन आइपुगेको थिएँ,’ उनले भने- ‘६ दिनदेखि गाडी भन्सारमै थन्किएको छ ।’
भन्सार कार्यालयमा कुनै कर्मचारी नहुँदा जाँच पास (भन्सार) बुझाउन नसकिएको उनको भनाइ छ । उनले भने- ‘अब चाँडै गाडी पठाइएन भने सबै सामान बिग्रिने सम्भावना हुन्छ । हामीलाई पनि खान–बस्न कठिनाइ भइरहेको छ ।’
चालक खानका अनुसार नेपालस्थित भन्सार पार्किङमा एक हजारभन्दा बढी मालकवाहक सवारीसाधन छन् । पूरै पार्किङस्थल मालबाहक गाडीले भरिएको उनले बताए ।
भारतको उत्तर प्रदेशका चालक अनुज कुमारले आफ्नो गाडी ६ दिनदेखि रोकिएको बताए । गाडीको भन्सारसम्बन्धी काम पूरा भइसके पनि सुरक्षा व्यवस्था नहुँदा सामान पुर्याउन नसकिएको उनको भनाइ छ ।
‘कुखुराको दाना लिएको आएको हुँ,’ उनले भने, ‘हेटौंडामा पुर्याउनुपर्ने हो, तर अगाडि लिएर जान समस्या छ ।’ उनले लामो समय अलपत्र पर्दा खाना–बस्न समस्या हुँदै गएको बताए ।

राजस्थानका रवि बैनाको समस्या पनि उस्तै छ । ‘पाँच दिनदेखि यहीँ बसिरहेको छु,’ उनले भने, काठमाडौँका लागि काठको सामान लिएर आएको छु, तर अगाडि जान सकिएको छैन ।’ उनका अनुसार राजस्थानकै मात्र ३५ वटा गाडी पार्किङस्थलमा छन् ।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख विष्णु प्रसाद ज्ञवालीले नेपालमा प्रवेश गरेका मालकवाहक सवारीसाधनहरूलाई सम्बन्धित ठाउँमा पठाउने काम भइरहेको प्रतिक्रिया दिए ।
रातोपाटीसँगको कुराकानीमा उनले भने, ‘वीरगन्ज भन्सारमा आएका गाडीहरू हामीले पठाइरहेका छौँ । हिजो पनि औषधि, ग्यास, खाद्यान्न बोकेका गाडीहरू पठाइयो । आज साँझ पनि पठाउने तयारी गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण