जितिया पर्वको ‘ओगटन’ आज
सारांश
- महोत्तरीसहित मिथिला क्षेत्रमा जितिया पर्व सुरु भएको छ, जहाँ सन्तानवती महिलाहरूले व्रतको तयारी गर्दैछन्।
- यो पर्वमा महिलाहरूले सन्तानको कल्याणको कामना गर्दै व्रत बस्छन् र राजा जितवाहनको कथा सुन्छन्।
- जितिया पर्व मिथिला क्षेत्रका सबै जातजातिले मनाउने परम्परा हो, जसमा प्रदेश सरकारले बिदा दिने गरेको छ।
महोत्तरी । मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा जितिया पर्व लागेको छ । भोलि आइतबारको निराहार व्रतअघि सन्तानवती मिथिलानी (मिथिलाका नारी) आज ‘ओगटन’ (दर खाने) बन्दोबस्त जुटाउँदै छन् । यो पर्व हिन्दू मैथिल परम्पराको हो ।
प्राचीन मिथिला क्षेत्रमा पितृपक्ष (असोज कृष्णपक्ष)को अष्टमी तिथिका दिन सन्तानको कल्याण कामनाका साथ गरिने यो पर्व भोलि आइतबार हो । व्रतअघिको रात ‘ओगटन’ खाने चलन छ । ‘ओगटन’ मा दही/चिउरा र मिष्टान्न परिकारसहितका सात्विक भोजन गरिन्छ ।
पर्वमा चोखा नयाँ वस्त्र परिधान लगाइने हुँदा र ‘ओगटन’ का सामग्री जुटाउन मिथिलानीको व्यस्तता छ । एक अहोरात्रको जितिया व्रत भोलिपल्ट नवमी तिथि एक घडी कटाएर समापन गरिने चलन रहेको व्रतको तयारीमा रहनुभएकी भङ्गाहा–५ राजपुरकी हरिप्रिया कुशवाहा बताउछिन् ।
मिथिलामा विद्यापति पञ्चाङ्ग र मिथिला पञ्चाङ्गका आधारमा तीर्थव्रतको टुङ्गो गरिने परम्परा छ । यसअनुसार यसपालिको जितिया समापन पर्सि सोमबार बिहान ७ः०० बजे हुने हिन्दू परम्पराको मैथिल कर्मकाण्डका ज्ञाता राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झाको भनाइ छ ।
जितिया व्रत सन्तानको सुख, समृद्धि र सौर्यवृद्धिको कामनासहित आमाहरूले गर्ने पर्व हो । मिथिला क्षेत्रका सबै जातजाति समुदायमा यो पर्व परम्परा भए पनि थारुहरू यसलाई विशेष महत्वका साथ मनाउँछन् । पितृपक्षको यो पर्वमा बर्तालु महिलाले एक दिनअघिअर्थात् सप्तमी तिथिका दिन एकाबिहानै पवित्र जलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अघ्र्य देखाएर व्र्रत सङ्कल्प गर्छन् ।
यसैक्रममा बर्तालुुले दिवङ्गत सासू, जेठानी/देउरानी, बूढीसासू, नन्द–आमाजू, माइतीपक्षका तीन पुस्ताभित्रका आमा, बज्यै, दिव र तीन पुस्ताभित्रको नाता पर्ने महिलालाई तर्पण दिन्छन् । यी पितृहरूसँग ‘तिमी आफ्ना पौत्रपौत्री (नातिनातिना), प्रपौत्रप्रपौत्री (पनातिपनातिनी) र उनका सन्तानको कल्याण गर’ भन्ने कामना गरिन्छ ।
यो पर्वमा बर्तालुले राजा जितवाहनको कथा सुनेर आफ्ना पुत्र उनीजस्तै परोपकारी र साहसी हउन् भन्ने कामना गर्छन् । अघि द्वापरयुगमा एकजना विधवा ब्राह्मणीको पुकारमा उनका पाँच मृत छोरालाई राजा जितवाहन (देवरूप)ले आफ्नो आर्जित तपशक्तिबाट बचाइ दिएको पौराणिक कथाको आधारमा द्वापर युगदेखि यो कठोर व्रत बस्ने परम्परा चलेको मैथिल जनविश्वास छ ।
जितवाहसँग जोडिएका यस्ता धेरै किम्वदन्ती छन् । हिन्दू वैदिक ग्रन्थमध्येको भविष्य पुराणमा यसको वर्णन पाइने मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति बताउछन् । यो पर्वको अवसरमा व्रतका दिन महिलाहरूलाई मधेस प्रदेश सरकारले बिदा दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनेरास्ववियू क्रान्तिकारीद्वारा भक्तिवेदान्त गुरुकुलमा भएको घटनाको विरोध
-
अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘चलचित्र दीर्घ साधना सम्मान’
-
सम्पत्ति विवरण बुझाउन किन मानिरहेको छैन पूर्वन्यायाधीश फोरम ?
-
करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक : शाही
-
एडीबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत
-
मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण