बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘मेराे बारेमा समर्थकहरूले राखेको सोच म परिवर्तन गर्न सक्दिनँ’

शनिबार, २८ भदौ २०८२, १६ : ००
शनिबार, २८ भदौ २०८२

सारांश

  • ब्रुनो फर्नान्डेस म्यानचेस्टर युनाइटेडमा पाँच वर्षदेखि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् र टिमको कप्तान हुन्।
  • फर्नान्डेसले आफ्नो बाल्यकाल, फुटबल यात्रा, र करिअरका प्रभावबारे कुराकानी गरे।
  • उनले क्रिस्टियानो रोनाल्डोलाई च्याम्पियन्स लिग जित्ने पेनाल्टी हान्न दिन चाहेको र आफूले जिदान र रोनाल्डिन्होलाई आइडल मान्ने बताए।

काठाडौँ । ब्रुनो फर्नान्डेस म्यानचेस्टर युनाइटेडमा पाँच वर्षअघि अनुबन्ध भएदेखि क्लबका लागि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्ये एक हुन् । ३१ वर्षीय पोर्चुगाली मिडफिल्डर 'रेड डेभिल्स'(म्यानचेस्टर युनाइटेडलाई समर्थकहरूले माया गरेर दिएको नाम) का कप्तान हुन् ।

फर्नान्डेसले युनाइटेडका लागि हालसम्म ९९ गोल गरिसकेका छन् । 

पछिल्लो समय प्रिमियर लिगमा युनाइटेड कमजोर छ । तर टिमलाई बलियो बनाउने अपेक्षामा छन् उनी । प्रिमियर लिगको नयाँ सिजन सुरु भएसँगै टिमको प्रदर्शनमा केही फरकपन आउने समर्थकमा आशा छ ।फर्नान्डेससँग बीबीसी स्पोर्ट्सकी केली सोमर्सले उनको परिवार, खेल जीवन, प्रशिक्षणलगायत विषयमा गरेको कुराकानी यस्तो छ । 

तपाईं बाल्यकालमा कस्तो हुनुहुन्थ्यो ?

मसँग सधैं एउटा बल हुन्थ्यो । म सधैं घर बाहिर, मेरा भाइ–बहिनीहरू, साथीहरूसँग फुटबल खेल्न मात्र नभई बाल्यकालमा रमाइलो गर्न सक्ने जुनसुकै काम गर्न चाहन्थें । म एक धेरै खुसी हुने व्यक्ति थिएँ । 

तपाईंको बाल्यकालको अविस्मरणीय क्षण के हो ?

म एउटा मात्र भन्न सक्दिनँ, मसँग धेरै छन् । किनभने मेरो बाल्यकालमा धेरै राम्रा पलहरू थिए । मेरो लागि फुटबल खेल्नु सबैभन्दा ठुलो कुरा थियो ।  घण्टी बज्ने बेलासम्म बल लिएर स्कुल जाने, मैदानमा दौडिने र त्यहाँ पुग्ने पहिलो व्यक्ति बन्ने सोच सधैं हुन्थो । मैले मेरो बाल्यकालमा धेरै राम्रा कामहरू गरेको छु, त्यसैले म एउटा मात्र राम्रो क्षण भन्न सक्दिनँ ।

तपाईंलाई पहिलो पटक कुन टोलीबाट खेल्नुभएको थियो याद छ ?

मेरो पहिलो क्लब इन्फेस्टा थियो । म त्यहाँ फुटसल खेलाडीका रूपमा गएँ, तर मैले एउटा मात्र प्रशिक्षणमा भाग लिएँ । त्यसपछि प्रशिक्षणमा सिनियर खेलाडीसँग बस्न सकेँ । मैले आफूभन्दा दुई वर्ष ठुला खेलाडीहरूसँग खेल्न थालेँ । किनभने म लिगहरूमा खेल्नका लागि अझै सानो थिएँ । यो मेरो लागि धेरै राम्रो क्षण थियो, किनभने मैले राम्रो परिस्थितिमा सिक्न पाएँ । सिनियर खेलाडीहरूभन्दा सानो र कमजोर हुँदा मानसिक रूपमा बलियो हुन सिकेँ । जीवनमा यस्ता चुनौतीहरू आउँछन् र त्यसलाई पार गर्नुपर्छ भन्ने बुझेँ । 

तपाईंको करिअरमा सबैभन्दा ठुलो प्रभाव कसको थियो जस्तो लाग्छ ?

स्पष्ट रूपमा मेरो परिवार । मेरा आमाबाबुले मलाई हुर्काउँदा मैले कहिल्यै केही गर्न सक्दिनँ भन्ने सोच्न दिएनन् । सधैँ मलाई धेरै माथि नसोच र धेरै तल पनि नसोच भन्ने हौसला दिए । त्यसैले एउटा रेखा कोर्नुहोस् आफ्नो सपनालाई त्यहाँ राख्नुहोस् अनि त्यसको लागि अघि बढ्नुहोस भनी हौसला दिए ।

त्यसपछि मेरी श्रीमती, जो त्यतिबेला मेरी प्रेमिका थिइन्, उनमा पनि मेरो आमा र बुबाको जस्तै गुण थियो । उनले मलाई सधैं नम्र बनाइराखिन् । उनी सधैं मेरो लागि सहयोगी थिइन् । वर्तमान क्षण र भविष्यका लागि के चाहने त्यो सोच्ने र त्यस क्षणलाई भविष्यमा हासिल गर्न मद्दत बनाउन परिवारबाट बाल्यकालदेखि नै यो पाएँ । र अब मेरा साना बाबुहरूलाई पनि त्यही कुरा सिकाउन पाउँदा गर्व लाग्छ । किनभने म र मेरी श्रीमतीको सोचाइ धेरै मिल्दोजुल्दो छ । 

प्रशिक्षकको रूपमा फ्रान्सेस्को गुइडोलिनले उडिनेसमा मेरो करिअर परिवर्तन गरे, किनभने उनले मलाई खेल्न लगाए । प्रशिक्षकले मैले खेलजीवनमा गर्नुपर्ने सबै कुरा सोच्न बाध्य तुल्याए । उचाइमा पुग्न पीडा भोग्नुपर्छ भन्ने कुरा सिकाए । 

तपाईंसँग च्याम्पियन्स लिग जित्न एउटा पेनाल्टी छ, आफ्नो करिअरमा सँगै खेलेका कसलाई त्यो हान्न दिनुहुन्छ ? 

यो सजिलो छ । क्रिस्टियानो रोनाल्डो । मलाई लाग्छ उनी सायद फुटबल जगतमा धेरै मानिसहरूले रोज्ने व्यक्ति हुन् । दबाबको क्षणहरूमा उनले देखाएको क्षमताका कारण २० वर्षदेखि उत्कृष्ट लयमा खेल्दै हरेक वर्ष समर्थकहरूलाई खुशी दिलाइरहेका छन् । 

कुन आइडल खेलाडीसँग खेल्न मन लाग्थ्यो ?

मैले मेरा लगभग सबै आइडलहरूसँग खेलेको छु । म दुई जनाको नाम भन्न चाहन्छु । जिनेदिन जिदान र रोनाल्डिन्हो । रोनाल्डिन्हो मेरो फुटबलको पहिलो प्रेम थिए । उनले सबैलाई फुटबलको मज्जा लिन र माया गर्न प्रेरित गरे । उनी खेल्दा धेरै रमाइलो लाग्थ्यो, सधैं अनुहारमा मुस्कान हुन्थ्यो । युवा खेलाडीको रूपमा धेरैजसो समय उनलाई बलमा हेर्न चाहन्थे । उनी एकै समयमा उत्कृष्ट र प्रभावशाली खेलाडी थिए । दुर्भाग्यवश, मेरो पुस्ताका लागि उनले हामीले चाहेजति लामो समयसम्म खेलेनन् । 

अहिलेसम्मको करिअरमा तपाईंलाई सबैभन्दा गर्व केमा लाग्छ ?

सबै कुरामा, किनभने म सपनाले भरिएको एउटा केटा थिएँ । मैले जीवनमा जति हासिल गरेको छु, त्यो कहिल्यै सोचेको थिइनँ । तपाईंले फुटबल खेल्ने र रमाइलो गर्नेबारे मात्र सोच्नुहुन्छ। जब तपाईं युवावस्थामा हुनुहुन्छ, तपाईं फुटबल खेल्नेबारे मात्र सोच्नुहुन्छ । केही प्रोफेसन कामहरू टेलिभिजनमा देखेर सोही क्षेत्रमा जाने सोच्नुहुन्छ । तर मेरो विचार फुटबल खेल्ने र जीवनभर खेल्ने थियो । मलाई अरू केही गर्न आउँदैन, म अरू केही फरक गर्न चाहन्नँ । मेरा लागि फुटबल सधैं मुख्य कुरा थियो र मेरो करिअरको अन्त्यसम्म मुख्य कुरा हुनेछ ।

फुटबल मैदानमा सबैभन्दा गाह्रो काम के हो ?

मलाई लाग्छ ९० मिनेटको अवधिमा तपाईंले जे गर्नुहुन्छ, त्यसमा धेरै फोकस हुनुपर्छ । मैदानमा केही गल्ती भयो भने कहिलेकाहीँ यो तपाईंको हातबाट फुत्किन सक्छ । त्यसैले मलाई लाग्छ पहिलो कुरा स्थितरता हो । टोलीको लागि जे राम्रो छ, त्यसमा स्थिरता हुनुपर्छ । किनभने त्यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो । टोलीबारे नसोची तपाईं केही पनि गर्न सक्नुहुन्न । यो फुटबलमा सत्य हो । 

त्यसपछि टोलीलाई सहयोग गर्न आफूलाई राम्रो स्थानमा राख्नुपर्छ । जब म मैदानमा हुन्छु, मेरो दिमागमा टोलीलाई राम्रो बनाउन मैले आफूले उत्कृष्ट प्रदर्शनका साथै टोलीलाई सबै कुरामा हसायोग गर्नुपर्छ । म खेलको हरेक क्षणमा सबैभन्दा स्थिर र सही खेलाडी हुनुपर्छ, बलसँग मात्र होइन, बल बिना पनि । खेलमा कहिलेकाहीँ टिममेटलाई पोजिसन परिवर्तन गर्न वा सेट–पिस परिवर्तन गर्न पनि भन्नुपर्ने हुन्छ । किनभने सानो कुरा परिवर्तन भयो भने यसले टिमलाई राम्रो या हानि पुर्‍याउन पनि सक्छ । 

तपाईंको सबैभन्दा मिल्ने साथीले तपाईंलाई कसरी वर्णन गर्छ ?

मलाई थाहा छैन । तपाईंले उसलाई सोध्नुपर्छ ! म जे गर्छु त्यसमा धेरै भावुक छु । म आफूलाई जेमा पनि सामेल गर्छु । त्यसपछि त्यो कुरामा पूरै डुबेर काम गर्न मन पराउँछु । मलाई आधा मनले काम गर्न मन लाग्दैन । फुटबल मेरो मुख्य कुरा थियो र म सधैं यसमा पूरै समर्पित हुन चाहन्थेँ । मैदानमा तपाईंले जे देख्नुहुन्छ, ब्रुनो त्यस्तै हो । म जे गर्छु, त्यसमा मेरो भावना जोडिन्छ । म मैदान बाहिर धेरै शान्त हुन्छु । मैदानमा जस्तो ममा धेरै भावनाहरू हुँदैनन् । तर म जे गर्छु, त्यसमा धेरै भावनामा डुब्छु ।

तपाईंले मैदान बाहिर शान्त छु भन्नुभयो । अन्तिम पटक कहिले डर लागेको थियो ? के तपाईंलाई डर लाग्छ ?

धेरै पटक । वुल्भ्सविरुद्धको खेलमा म बेन्चमा थिएँ, तर मलाई बेन्चमा बस्दा धेरै डर लाग्छ । आशा छ म धेरै पटक बेन्चमा बस्नुपर्ने छैन । खेल हेर्दा मलाई धेरै डर लाग्छ, किनभने मेरा टिममेटलाई केही नराम्रो हुँदा मलाई धेरै दुःख लाग्छ । मलाई डर लाग्छ र म बेन्चमा वा घरमा स्थिर हुन सक्दिनँ । म चर्को स्वरमा बोल्नुपर्छ र एक्टिभ हुनुपर्छ । म खेलमा भएजस्तो लाग्छ । 

लियोनविरुद्ध युरोपा लिगको क्वाटरफाइनलको खेल सायद अहिलेसम्मकै सबैभन्दा डरलाग्दो खेल थियो । हामीलाई थाहा थियो कि यसको अर्थ हाम्रो लागि कति धेरै थियो । खेल सुरु हुनुअघि नै म धेरै डराएको थिएँ, म खेलको लागि पर्खन सकिरहेको थिइनँ । हामी राम्रो खेल पस्कन सक्षम छौं भनेर देखाउनपर्छ भन्ने डर थियो । 

खेलको क्रममा तपाईंलाई कस्तो लागिरहेको थियो ? सुरुमा योजनाअनुसार भएन । के तपाईं त्यो बेला डराउनुभएको थियो ? के तपाईं खेलमा डराउनुहुन्छ ? 

होइन । कहिले खेलको समयमा ? खेलअघि म डराउन सक्छु । खेलको क्रममा म जित्ने लक्ष्यबारे मात्र सोच्छु । मैले प्रशिक्षणमा सिकेका हरेक कुरा र मेरो टिममेटले गर्नुपर्ने कुरा मलाई याद छ । प्रशिक्षणमा जाँदा मैले के गर्नुपर्छ भन्नेमा मात्र ध्यान दिन्नँ, मेरो वरिपरि के छ भन्नेमा पनि ध्यान दिन्छु । किनभने यो परिवर्तन हुन सक्छ । मैले फरक स्थानमा खेल्नुपर्ने हुन सक्छ । 

जब म बलमा हुन्छु, मलाई मेरो टिममेटले गर्नुपर्ने हरेक चाल थाहा हुन्छ । ‘म यहाँ बलमा छु, त्यसैले हामीले प्रशिक्षणमा सिकेका कुराहरू गर्ने हो’ तर तपाईंले त्यो एकै क्षणमा सोच्नुपर्छ । 

यदि तपाईंले एक दिनको लागि अदृश्य हुने जादुको लुगा लगाउनुभयो भने के गर्नुहुन्छ ?

म मेरा छोराछोरीहरूलाई उनीहरू जहाँ जान चाहन्छन्, त्यहाँ लैजान्छु । कहिलेकाहीँ मेरा छोराटोरीहरूसँग उनीहरूले सोचेको सबै ठाउँहरूमा जान धेरै गाह्रो हुन्छ । मानिसहरूले फोटोको लागि सोधेको कुरा उनीहरूलाई थाहा छ र कसैले मलाई फोटोको लागि सोध्यो भने उनीहरू टाढा जान्छन् । ठुलीले सानोलाई समात्छे र मलाई हेरेर उभिन्छे, ‘फोटो खिच्नुहोस्’ । म उनीहरूसँग युवावस्थामा हुँदा जाने ठाउँहरूमा जान चाहन्छु, उनीहरूलाई बारम्बार रोकिन नपरोस् र उनीहरूसँगको समयको आनन्द लिन सकूँ । 

म उनीहरूसँग पोर्चुगलको समुद्र तटमा जान्छु र सकेसम्म धेरै आनन्द लिने प्रयास गर्छु । म अझै पनि गर्छु । म फोटोको लागि सोध्ने मानिसहरूसँग रिसाउने व्यक्ति होइन । बच्चाहरूसँग केही गरिरहेको बेला कसैले फोटो खिच्न खोज्दा मलाई रिस उठ्छ । मलाई फोटोको लागि सोध्ने मानिसहरूसँग कुनै गुनासो छैन । यो हाम्रो कामको राम्रो पक्ष हो । केही वर्षमा हामीलाई धेरैले चिन्ने छैनन्, त्यसैले हामी ठीक हुनेछौँ । 

म एउटा सामान्य व्यक्तिले गर्ने काम गर्छु । यदि कसैले मलाई केही गरिरहेको देख्यो र अखबारमा छाप्यो भने मलाई रिस उठ्दैन । म पलको आनन्द लिइरहेको हुन्छु र आफ्ना बच्चाहरूसँग खुसी हुन्छु । यदि मैले मेरा साथीहरूसँग केही गर्नुपर्‍यो भने पनि मलाई मानिसहरूले फोटो खिचेकोमा कुनै आपत्ति छैन । उनीहरूले ठुलो समाचार बनाउँछन् भनेर सोचेर फोटो खिचेर आफ्नो समय खेर फाल्न सक्छन् । म एउटा सामान्य व्यक्ति हुँ र सामान्य जीवन बिताइरहेको छु ।

तपाईंका छोराछोरीहरूले तपाईंलाई कसरी वर्णन गर्छन् ? 

त्यो भन्न गाह्रो छ । म उनीहरूमाथि धेरै कठोर छु । आजकल हामी बच्चाहरूको लागि सबै कुराहरू सजिलो बनाउँछौँ । म फर्केर हेर्छु, जब म बच्चा थिएँ र मेरो आमा र बुबाका धेरै कुरा फरक थिए । उनीहरूले आफ्नो लागि केही चाहन्छन् भने त्यो कमाउनुपर्छ । म उनीहरूमाथि अलि कठोर छु तर मेरो मन धेरै नरम छ । मेरो नरम पक्षमा पुग्न उनीहरूलाई धेरै सजिलो छ, किनभने म मैदानमा नदेखिए पनि धेरै नरम व्यक्ति हुँ । 

मानिसहरूले तपाईंको बारेमा केचाहिँ गलत बुझेका छन् ?

केही पनि छैन । मानिसहरूको मरो पक्षमा जे धारणा छ, म त्यो परिवर्तन गर्न सक्दिनँ । उनीहरूले मैदानमा वा टेलिभिजनमा वा अन्तर्वार्तामा देखेका कुराको आधारमा मानिसहरूले जज गर्न चाहन्छन् । म त्यो परिवर्तन गर्न सक्दिनँ । उनीहरूलाई मेरोबारे सोच्न पाउने स्वतन्त्रता छ, जस्तै : मलाई उनीहरूको बारेमा सोच्न पाउने स्वतन्त्रता छ ।

म मानिसहरूलाई नचिनेसम्म जज गर्दिनँ । उनीहरूले मेरो बारेमा धारणा राख्न सक्छन्, त्यो ठीक छ । हामी सबैको धारणा हुन्छ र त्यसैले जीवन यति राम्रो र फरक छ । यदि हामी सबैले एउटै तरिकाले सोच्यौं भने यो धेरै बोरिङ हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप