शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

कसरी अगाडि बढ्ने भन्नेमा अझै अलमलमा कांग्रेस

पहिला परिवारलाई कसरी बस्ने बास बनाउने भन्नेमा नेताहरू व्यस्त
आइतबार, २९ भदौ २०८२, १८ : ००
आइतबार, २९ भदौ २०८२

सारांश

  • जेनजीको आन्दोलनमा कांग्रेसका नेता र कार्यालयहरू निशानामा परेका छन्, र देउवा निवासमा आगजनी भएको छ।
  • कांग्रेसले संसद विघटनलाई असंवैधानिक मानेको छ, तर निर्वाचनबारे कुनै धारणा दिएको छैन, र केन्द्रीय समिति बैठक बोलाउने तयारी छ।
  • कांग्रेस नेताहरूले पार्टीमा नयाँ नेतृत्व र सुधारको आवश्यकता औंल्याएका छन्, र केही नेताहरूले राजीनामाको माग गरेका छन्।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनमा विघटित प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसका केन्द्र र तल्लो तहका पार्टी कार्यालय तथा पार्टी नेताहरूका घर निशानामा परेका छन् । 

सभापति शेरबहादुर देउवा र उनकी पत्नी केन्द्रीय सदस्य निवर्तमान एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री रहेकी डा. आरजु राणा देउवामाथि भौतिक आक्रमण भयो । बूढानीलकण्ठस्थित निवासमा रहेका देउवा दम्पतीमाथि भदौ २४ गते बिहान आन्दोलनकारीले भौतिक आक्रमण मात्रै गरेनन्, निवासमा रहेका सामग्री चोरेर घरमा आगजनी गरेर ध्वस्त पारिदिए ।

कांग्रेसको केन्द्रीय कार्यालय पनि ध्वस्त भएको छ । अधिकांश जिल्लाका कार्यालय, प्रदेश कार्यालय पनि आन्दोलनकारीको निशानामा परे । केन्द्रका केही नेताबाहेकका सबै नेताका घर जलाइएका छन् । अहिलेसम्म कांग्रेसबाट सांसद भई मन्त्री बनेका नेताहरूका घर ध्वस्त भएका केन्द्रीय कार्यालयले बताएको छ । तर, क–कसको क्षति भयो ? कति क्षति भयो भन्ने तथ्याङ्क आइनसकेको केन्द्रीय कार्यालयले बताएको छ । केन्द्रीय कार्यालय जलेर ध्वस्त भएकाले सर्कुलर गरेर माग्न पनि केन्द्रीय कार्यालयले सकिरहेको छैन । 

आन्दोलनका कारण घर ध्वस्त भएका कांग्रेस नेताहरू परिवर्तित परिस्थितिमा कसरी अगाडि बढ्ने भन्दा पनि पहिला कसरी परिवारलाई बस्ने बास बनाउने भन्ने ध्याउन्नमा लागेका छन् । आइतबार दिउँसो कुरा गर्दा अधिकांश नेताहरू घरको जोहो गर्ने कार्यमा व्यस्त रहेको बताएका छन् । 

जेनजीले भ्रष्टाचारको अन्त्य, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेका थिए । उनीहरूको माग युवाको चाहना अनुरूपको शासक र शासन व्यवस्था पनि थियो । 

तसर्थ अहिलेको नेतृत्वलाई जेनजीले नस्विकार्ने भन्दै नयाँ नेतृत्व आउनुपर्ने माग कांग्रेसका चर्को छ । व्यक्तिगत रूपमा नेताहरूले यो धारणा राखे पनि पार्टीले केन्द्रीय कार्यसमिति बोलाएर निर्णय लिने नेताहरू बताउँछन् । 

शुक्रबार आन्दोलनकारीहरूको चाहनाअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका छन् । आफू प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै कार्कीले प्रतिनिधिसभा विघटन र आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने सिफारिस गरिन् । राष्ट्रपति पौडेलले उनको प्रस्ताव स्वीकृत गरेका छन् ।  

कांग्रेसले शुक्रबार नै कार्यसम्पादन समिति बैठक बसेर संसद् विघटनलाई असंवैधानिक भनेको छ । बैठकले निर्वाचनबारे भने केही बोलेको छैन । 

सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले बदलिँदो परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने केन्द्रीय कार्यसमिति बैठक बसेर तय हुने बताइन् । केन्द्रीय कार्यसमितिको बैठक भने बोलाइसकेको छैन । ‘महत्त्वपूर्ण निर्णय लिने कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट हो । अब बैठक बोलाएर कसरी अगाडि बढ्ने भन्ने निर्णय हुन्छ,’ सहमहामन्त्री उपाध्यायले रातोपाटीसँग भनिन्, ‘केन्द्रीय कार्यसमिति बैठक परिस्थिति केही सामान्य भएपछि आह्वान होला ।’

उपाध्यायले पार्टीको नेतृत्व र निर्वाचन दुवैबारे केन्द्रीय समितिमा बहसपछिमात्रै निर्णय हुने बताइन् । 

अर्का सहमहामन्त्री महेन्द्र यादवले लोकतन्त्रमा आस्था राख्ने पार्टी भएपछि निर्वाचनमा जान नहिचकिचाउने भन्दै कसरी अगाडि बढ्ने भन्ने विषयमा पार्टीमा छलफल नभएको बताउँछन् । ‘बदलिँदो परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे पार्टीमा छलफल नै भएको छैन,’ सहमहामन्त्री यादवले रातोपाटीसँग भने, ‘हतारमा होइन, केन्द्रीय कार्यसमिति बैठक बसेर व्यापक छलफलपछि आधिकारिक धारणा तय गर्छौ ।’ 

यादवले पार्टीको वर्तमान नेतृत्व संविधान र पार्टी विधानअनुरूप नै रहेकाले हतार गर्न आवश्यक नरहेको बताए । तैपनि परिस्थिति बदलिएकाले केन्द्रीय समिति बैठक बोलाएर छलफल गरी निर्णय लिने उनको भनाइ थियो । 

नेता डा. शेखर कोइरालाले शनिबार विज्ञप्ति जारी गर्दै देशमा नयाँ सम्भावनाहरू प्रकट भइरहेकाले कांग्रेसभित्र नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउने आवश्यकता रहेको उल्लेख गरेका छन् । डा. कोइरालाले विज्ञप्तिमा लेखेका छन्, ‘ देशमा नयाँ सम्भावनाहरू प्रकट भइरहेका छन् । नयाँ घटनाहरू अगाडि आएका छन् । यी सबैको संवाहक भएर नेपाली कांग्रेस अगाडि आउनु परेको छ । कांग्रेस भित्र नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउने जिम्मेवारी तपाईँ हामी सबैको हो ।’

दशैपछि आफू कसरी अगाडि बढ्ने भन्ने धारणा बुझ्न देशव्यापी भ्रमणमा निस्कनेसमेत उल्लेख गरेका छन् । ‘देशव्यापी बहस, छलफल र विवेकपूर्ण कदमहरू कसरी अगाडि बढाउने भनी म तपाईँहरू बिच दसैँ लगत्तै देशव्यापी रूपमा आउनेछु,’ कोइरालाले लेखेका छन् । 

ऊर्जावान् युवाहरूको सोच एकातिर र कांग्रेसको सोच अर्कोतिर हुँदा रणनीतिक भूल भएर कांग्रेस चुकेको कोइरालाको भनाइ छ । ‘समयको पदचाप अनुरूप हामी हिँड्न नजान्दा जेनजीको आन्दोलनले दुई ठुला राष्ट्रिय दललाई सत्ताबाट बाहिरिन बाध्य पार्‍यो । नेपाली समाज र यहाँका ऊर्जावान् युवाहरू एकातिर छन्, कांग्रेसको सोच र दृष्टिकोण अर्कोतिर बग्यो, केही रणनीतिक भूलहरू भए, हामी चुक्यौँ,’ कोइरालाले लेखेका छन् । 

केन्द्रीय सदस्य प्रतिमा गौतम सभापति देउवाले वैधानिक बाटोबाट कार्यवाहक दिएर पार्टीलाई अगाडि बढाउनुपर्ने धारणा धेरैको रहेको बताउँछिन् । ‘धेरै साथीहरूको चाहना सभापतिज्यूले कार्यवाहक दिएर अगाडि बढ्नुपर्ने छ,’ गौतमले रातोपाटीसँग भनिन्, ‘निर्वाचन अगाडि विशेष अधिवेशन गरेर नयाँ नेतृत्व चुन्नुपर्छ र पार्टी रिफर्म गर्‍यौ भन्दै निर्वाचनमा जानुपर्छ भन्ने धेरै साथीहरूको धारणा छ ।’

गौतमले निर्वाचनअघि विशेष अधिवेशन गर्ने भने पनि क्रियाशील सदस्यता नवीकरणको केन्द्रीय कार्यालयमा आएका फाइल जलेर ध्वस्त भएका छन् । जसले सम्भावना नरहेको भन्नेहरू पनि धेरै छन् ।  

युवा नेता पूर्वसांसद रञ्जित कर्ण सभापति शेरबहादुर देउवासहित सम्पूर्ण पदाधिकारीले राजीनामा दिँदै सुशासन दिन नसकेकोमा माफी माग्नुपर्ने बताउँछन् । ‘आम नागरिकसँग कांग्रेसका सभापतिज्यूसहित सम्पूर्ण पदाधिकारीले राजीनामा दिएर सुशासन दिन नसकेकोमा माफी माग्नुपर्छ,’ कर्णले रातोपाटीसँग भने, ‘त्यसपछि वर्तमान केन्द्रीय समिति भङ्ग गरी सानो केन्द्रीय समिति बनाइ पार्टीलाई महाधिवेशनमा लैजानुपर्छ ।’

यसैबिच उपसभापति पूर्णबहादुर खड्काले आइतबार वक्तव्य जारी गर्दै राजनैतिक घटनाक्रम सम्बन्धमा एकताबद्ध रहेर स्पष्ट धारणाहरू तय गर्ने उल्लेख गरेका छन् । खड्काले ६ बुँदे वक्तव्य जारी गर्दै लेखेका छन्, ‘समस्त नेपाली दिदीबहिनी, दाजुभाइ, युवाहरू एवं पार्टी साथीहरूको भावनालाई सम्मान गर्दै विद्यमान राजनैतिक घटनाक्रम सम्बन्धमा एकताबद्ध रहेर स्पष्ट धारणाहरू तय गर्दै अघि बढ्न नेपाली कांग्रेस दृढ प्रतिबद्ध रहेको स्पष्ट गर्दछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप