सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
भदौ २४ को आन्दोलन

मालपोत र नापीका डेढ दर्जन कार्यालय ध्वस्त, डिजिटाइजेसनले जोगियो ६० वर्ष पुरानो तथ्यांक

आक्रमणमा नपरेका कार्यालयमा सेवा सुरु
आइतबार, २९ भदौ २०८२, १९ : ००
आइतबार, २९ भदौ २०८२

सारांश

  • भदौ २४ गतेको आन्दोलनका क्रममा देशभरका मालपोत र नापी कार्यालयमा क्षति पुगेको छ।
  • आगजनी र तोडफोडबाट डेढ दर्जनभन्दा बढी कार्यालयमा क्षति पुगेको छ, केही पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
  • क्षतिग्रस्त कार्यालयहरूमा सेवा सञ्चालन तत्काल सुरु हुन नसक्ने र डिजिटल प्रणालीमा रहेका कागजात सुरक्षित रहेको बताइएको छ।

काठमाडौँ । भदौ २४ गतेको आन्दोलनले देशभरका झण्डै डेढ दर्जन नापी तथा मालपोत कार्यालय ध्वस्त भए । 

मालपोत कार्यालयअन्तर्गत नौ वटा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने बाँकी १२ वटा कार्यालयमा आंशिक क्षति पुगेको भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता खिमानन्द आचार्यले जानकारी दिए । 

उनका अनुसार पूर्ण रूपमा क्षति भएका भूमिसुधार तथा मालपोत कार्यालयहरूमा; दाङको घोराही कार्यालय, दाङकै तुल्सीपुर कार्यालय, कास्कीको पोखरा कार्यालय, चितवनको भतपुर कार्यालय, चितवनकै खैरहनी कार्यालय, बाँकेको नेपालगञ्ज कार्यालय र डडेल्धुरा कार्यालय छन् । 

विराटनगर कार्यालयको आंशिक भाग भने बाँकी छ । कलंकी कार्यालयको तामेली भवन बचेको छ, बाँकी संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । नेपालगञ्जमा समेत तामेली भवन बाँचेको छ, त्यसबाहेक अन्य संरचना फेरि बनाउनुपर्ने अवस्थामा छ । 

मालपोत र नापी कार्यालय एक–अर्काका परिपूरक हुन् । प्रायः जहाँ मालपोत कार्यालय हुन्छन्, त्यहाँ नापी कार्यालयसमेत छन् । अधिकांश स्थानमा नापी र मालपोत कार्यालय एउटै भवनमा वा केहीमा जोडिएको अवस्थामा हुन्छन् । त्यसैले मालपोत कार्यालयमा आगजनी गरिएका स्थानमा अधिकांश नापी कार्यालयसमेत आक्रमणको सिकार भए । 

नापी कार्यालयका सूचना अधिकारी टंकप्रसाद दाहालका अनुसार देशभरका नापी कार्यालयमा भएको क्षतिको विवरण अहिलेसम्म आइसकेको छैन । यद्यपि प्रारम्भिक विवरण अनुसार काठमाडौंको कलंकी कार्यालय, दाङ कार्यालय, घोराही कार्यालय, कैलाली कार्यालय, सप्तरी कार्यालय, लहान कार्यालय र सुर्खेत कार्यालयमा क्षति पुगेको छ । त्यसमध्ये केही कार्यालय पूर्ण क्षतिको अवस्था छ । 

क्षति नभएका कार्यालयमा सेवा सञ्चालन सुरु

आन्दोलनमा क्रममा आंशिक वा पूर्ण क्षति भएका कार्यालयबाट आइतबारदेखि सेवा सञ्चालन सुरु भएको छ । विभागहरूले कार्यालयको सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा कार्यालय सञ्चालन गर्न निर्देशन दिइएको भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता आचार्य बताउँछन् । क्षतिग्रस्त कार्यालयले भने सेवा सुरु हुन गर्न सकेका छैनन् । त्यहाँ तत्कालै सेवा सुरु हुनसक्ने अवस्था नरहेको विभागले जनाएको छ । क्षतिको विवरण संकलन गरी आवश्यक स्रोत साधनको व्यवस्थापनपछि मात्रै ती कार्यालयको सेवा सुचारु हुने उनको भनाइ छ । 

‘जहाँ भवन जलेका छन्, त्यहाँ कम्प्युटर पनि जलेका छन् । स्रेस्ताका ढड्डाहरू पनि जलेका छन् । बायोमेट्रिकलगायत मेसिनरी पनि काम लाग्ने अवस्थामा छैनन्, त्यसैले तत्कालै ती कार्यालय खुल्न सक्दैनन् । श्रेस्ताको डिजिटल ब्याकअप भएकाले त्यसको विवरण सुरक्षित छ, तर ती सबै बनाउन समय लाग्छ,’ प्रवक्ता आचार्य भन्छन्, ‘अन्य पूर्वाधार तयार भएपछि डिजिटल कपी हेरेर कारोबार गर्न सकिन्छ, तर यसको लागि समय लाग्छ, पहिलेभन्दा अप्ठ्यारो पनि हुन्छ ।’

नापी कार्यालयमा भने अधिकांश कागजात डिजिटल अवस्थामै थिए । डिजिटाइजेसन भएर केन्द्रीय सिस्टममा जोडिन बाँकी रहेका कार्यालयबाहेक अन्य स्थानका नक्साहरू अनलाइन प्रणालीमै छन् । त्यसैले क्षतिग्रस्त नापी कार्यालयको सेवा सञ्चालनमा अप्ठ्यारो छैन । अहिले प्रारम्भिक विवरण अनुसार क्षतिग्रस्त भएको भनिएका कार्यालय केन्द्रीय प्रणालीमा जोडिइसकेकाले तथ्यांकमा धेरै समस्या हुने अवस्था नरहेको विभागको भनाइ छ ।

त्यसो त सेवा सञ्चालनमा रहेका कार्यालयमा सेवाग्राहीको भिड लाग्न थालिसकेको छ । आइतबार लगनखेलस्थित मालपोत र नापी कार्यालयमा पुग्दा सेवाग्राही भरिभराउ थिए । त्यही अवस्था चारखालस्थित कार्यालयमा समेत थियो । झण्डै एक सातापछि कार्यालय खुलेकाले सामान्यभन्दा यो दिन सेवाग्राहीको चाप बढी देखिएको कार्यालयका अधिकारीले बताए । 

उता कलंकी कार्यालय भने खण्डहर भएको छ । उक्त कार्यालयबाटै सेवा सञ्चालन हुन सक्ने अवस्था छैन । 

डिजिटाइजेसनले बच्यो ६० वर्ष पुरानो तथ्यांक

नेपालमा पहिलोपटक वैज्ञानिक प्रणालीबाट नापीको सुरुवात २०२० सालदेखि भएको हो । नापीसँगै निजी स्वामित्वका जग्गाको स्रेस्ता कायम गर्दै लालपुर्जासमेत त्यही समयदेखि वितरण भएको थियो । अहिले नापी कार्यालयमा त्यही समयदेखिका ढड्डा रहेका थिए, जुन अहिले जलेर नष्ट भएका छन् । 

अहिले ती सबै कार्यालय भू–अभिलेख सूचना तथा व्यवस्थापन प्रणाली (एलआरआईएमएस) मा आबद्ध छन् । दुई वर्षअघि मात्रै ती कार्यालयहरूको डिजिटाइजेसन सम्भव भएको थियो । अहिले यसरी डिजिटल प्रणालीमा सुरक्षित छन्, त्यसैले ढड्डा जले पनि तथ्यांक नै नरहने अवस्था नभएको विभागका निर्देशकसमेत रहेका आचार्य बताउँछन् ।

‘अहिले जुन हिसाबले सेवा प्रवाह हुँदै आएको थियो, ढड्डाहरू जलेपछि अलि अप्ठ्यारो त हुन्छ, तर कुनै पनि तथ्यांक हराएको छैन, डिजिटल माध्यमबाट स्रेस्ता निकालेर सेवा प्रवाह गर्न सकिने अवस्था छ ।’
नापी कार्यालय त झनै डिजिटल प्रणालीबाटै सञ्चालन भइसकेको छ । अहिले केही कार्यालय राष्ट्रिय भू–सूचना प्रणाली (नेलिस) मा आबद्ध भएका छन् । देशभरका १४४ मालपोत कार्यालयमध्ये ५६ वटा नेलिस प्रणालीमा छन् । 

नापी कार्यालयअन्तर्गत कित्ता नापी, कित्ता सीमाना निर्धारण, कित्ताकाट/कित्ता विभाजन, नक्सा बनाउने र नक्साको प्रतिलिपि दिने, प्लट रजिस्टर नक्सा, फिल्डबुक र नक्सा प्रिन्टहरू, ल्यान्ड म्यापको प्रतिलिपि) उपलब्ध गराउने, एडमिनिस्ट्रेटिभ नक्सा, भू–उपयोग नक्सा, भूमि र जग्गा विवरणको व्यवस्थापन, भूस्थिर मापनलगायत सेवाहरू पर्दछन् । 

केन्द्रीय सूचना प्रणालीमा आबद्ध भएका कार्यालयका सबै सेवा डिजिटल प्रणाली हुँदै आएको र त्यसको केन्द्रीयस्तरबाटै डिजिटल ट्रयाकिङ हुँदै आएकाले प्रणालीमा आबद्ध कार्यालयमा आगजनी भए पनि तथ्यांक प्राप्त गर्न समस्या नभएको कार्यालयका अधिकारीहरू बताउँछन् । बाँकीमा भने समस्या हुने देखिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप