शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
भिजिट भिसामा रोक

एकाएक यूएईले नेपालीलाई भिजिट भिसा दिन रोक्यो

सोमबार, ३० भदौ २०८२, २१ : ०१
सोमबार, ३० भदौ २०८२

सारांश

  • यूएईले नेपालीहरूलाई भिजिट भिसा दिन रोक लगाएको छ, तर यसको आधिकारिक कारण खुलाएको छैन।
  • ट्राभल्स एजेन्सीहरूले भिसा आवेदन अस्वीकृत हुन थालेको पुष्टि गरेका छन्, र दुबईले पहिले नै कडाइ गरिसकेको थियो।
  • यूएईमा नेपाली कामदारको संख्या बढ्दै गएपछि भिसामा अस्थायी प्रतिबन्ध लगाइएको हुनसक्ने अनुमान छ।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालीलाई भिजिट भिसा दिन रोक लगाएको छ । उक्त देशले भिजिट भिसा दिन एकाएक किन रोक लगायो भन्नेबारे औपचारिक रूपमा जानकारी गराएको छैन । 

तर, रातोपाटीको सम्पर्कमा आएका भिसासम्बन्धी काम गर्ने नेपाली ट्राभल्स एजेन्सीहरूले सोमबार बिहानदेखि सबैजसो भिसा आवेदन अस्वीकृत हुन थालेको पुष्टि गरेका छन् । यूएई सरकारले अनलाइनमार्फत नै भिसा जारी गर्दै आएको छ । 

एक ट्राभल एजेन्सी सञ्चालकका अनुसार युएईको दुबई इमिरेट्सले केही पहिलादेखि नै भिजिट भिसामा कडाइ गरेको थियो । दुबई इमिरेट्सले कडाइ गरेपछि नेपालीहरूले शारजाह इमिरेट्सबाट भिसाका लागि आवेदन दिने गरेका थिए । 

‘दुबईबाट ९० प्रतिशत भिसा अस्वीकृत हुने गरेको थियो । तर, शारजाहको भिसा आइरहेको थियो । त्यो पनि अब रोकियो’, ती  ट्राभल एजेन्सी सञ्चालकले भने । 

उनका अनुसार शारजाहले १ हजार ३० दिह्राम डिपोजिट राखेर एक महिनाको म्याद भएको भिसा ५५० र दुई महिनाको भ्याद भएको भिसा ६५० दिह्राममा बेचिरहेको थियो ।  आज बिहानदेखि अचानक नेपालीहरूको भिसा एसेप्ट नहुनुलाई अस्थायी प्रतिबन्धका रूपमा सरोकारवालाले बुझेका छन् । 

हाल यूएईको भिसासम्बन्धी काम ट्राभल्स एजेन्सीले अनुमति लिएर गर्दै आएका छन् । त्यस्तो सेवा दिने ट्राभल्स एजेन्सीहरु नेपाल र दुबईमा सञ्चालित छन् । दुबई इमिरेट्सले गत जनवरीदेखि नै भिसामा कडाइ गरेकाे थियो ।  

दुबईले सेप्टेम्बरदेखि डिसेम्बरसम्म एम्नेस्टी (आममाफी) दिएको थियो । एम्नेस्टीलगत्तै दुबईको भिसा टाइट भएको, आबुधाबीले पहिले नै बन्द गरेको र अहिले शारजाहले पनि रोकेपछि नेपालीलाई यूएई यात्रामा असहज हुने भएको सरोकारवालाले बताएका छन् ।

जबकि नेपालीहरु भिजिट भिसामार्फत ठुलो सङ्ख्यामा यूएई जाने गरेका थिए । यतिमात्रै होइन भिटिज भिसामै गएर नेपालीहरूले त्यहाँ काम खोजेर वर्किङ भिसामा समेत परिवर्तन हुने गरेका थिए । 

यूएईस्थिथत नेपाली राजदूत तेजबहादुर क्षत्रीले भिसामा भएको रोकावटबारे दूतावासलाई ‍औपचारिक जानकारी नभएको प्रतिक्रिया दिए । तर, यूएईमै रहेका एक नेपाली अभियन्ताले नेपालमा विकसित राजनीतिक घटनाक्रम र यूएईमा बढ्दो नेपालीको समस्यालाई मध्यनजर गरेर भिसामा अस्थायी प्रतिबन्ध लगाएको हुनसक्ने बताए । 

वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुक मानिने यूएईमा हाल करिब ८ लाख नेपाली कार्यरत रहेको बताइन्छ । तीमध्ये करिब ७० हजार नेपाली नेपालबाट भिजिट भिसामा त्यहाँ पुगेर अहिले वर्किङ भिसामा रूपान्तरित भई कार्यरत रहेको आबुधाबीस्थित नेपाली दूतावासको अनुमान छ । यस बाहेक कैयन नेपाली भिजिट भिसा मार्फत दुबईलाई ट्रान्जिट बनाएर त्यहाँबाटै सेटिङमा अन्य मुलुकमा  पनि पुग्ने गर्छन् ।

डेढ महिनाअघि रातोपाटीले आबुधाबीस्थित नेपाली दूतावासमै राजदूत क्षत्रीसँग अन्तरवार्ता गर्दा उनले नेपालीको संख्या बढ्दै गर्दा ओभरस्टे बस्ने, लागुपदार्थ दुव्र्यसनमा संलग्न हुने र अन्य आपराधिक गतिविधिमा संलग्नता बढ्दै गएको अवस्था समेत रहेको बताएका थिए ।

यस्ता गतिविधि बढ्दै गएमा नेपालीलाई रोजगारीमा  अप्ठ्यारो पनि हुनसक्ने भनेर यूएई पक्षले जानकारी गराएको उनको भनाइ थियो ।

‘छलफलका क्रममा यूएई पक्षले समस्या बढ्दै गएको छ है भनेर भनिरहेका छन् । त्यही भएर हामीले दुबई पुलिस, आबुधाबी पुलिसलगायतसँग मिलेर जनचेतनामूलक कार्यक्रम गर्न गइरहेका छौँ’, उनको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप