शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
कोशी प्रदेशमा जेनजी आन्दोलन

मृत्यु हुनेको सङ्ख्या १० पुग्यो, ५ वटा शवको जिम्मा लिने कोही भएन

आफन्त हराएको भन्दै खोजीको लागि निवेदन पनि परेन
मङ्गलबार, ३१ भदौ २०८२, १३ : ००
मङ्गलबार, ३१ भदौ २०८२

सारांश

  • कोशी प्रदेशमा जेनजी आन्दोलनका क्रममा झडप र आगजनी हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ।
  • मृत्यु भएका मध्ये ५ जनाको सनाखत भएको छ भने अन्य ५ जनाको शवको जिम्मा लिन कोही आएका छैनन्।
  • आन्दोलनका क्रममा प्रहरी र आन्दोलनकारी घाइते भएका छन् भने सरकारी कार्यालयमा आगजनी भएको छ।

विराटनगर । कोशी प्रदेशमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको झडप र आगजनीमा परी मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । जसमध्ये ५ जनाको सनाखत भएको छ भने अन्य ५ जनाको शवको जिम्मा लिन कोही नआएको प्रहरीले जनाएको छ । 

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलका अनुसार हालसम्म झापाको बिर्तामोडमा मृत्यु हुने ३ जना र सुनसरीको इटहरीमा मृत्यु हुने २ जनाको सनाखत भएको हो । इटहरीमा मृत्यु हुनेमा इटहरी–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठ र इटहरी–१४ का ४० वर्षीय चङ्खे भनिने मोहन सरदार रहेका छन् ।

यस्तै झापाको बिर्तामोडमा २३ गते भएको झडपमा परी मृत्यु हुनेहरूमा अर्जुनधारा–११ का ३० वर्षीय गोपाल सेढाई, अर्जुनधारा–८ का ३२ वर्षीय दिनेश राजवंशी र पाँचथर हिलिहाङका ३० वर्षीय कमल भण्डारी रहेका छन् । 

पोखरेलका अनुसार झडपका क्रममा प्रदेश भरीमा ११४ जना प्रहरी घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । यस्तै ५७ जना मध्यमस्तरको घाइते रहेको र अन्य सामान्य उपचारपछि काममा फर्किएका छन् । आन्दोलनकारीका तर्फबाट भने हालसम्ममा ४६ जना घाइते भएको विवरण आएको पोखरेलले बताए । यद्यपि यो सङ्ख्या बढ्न सक्ने उनको भनाइ छ । 

उता, भदौ २४ गते धरानको भाटभटेनीमा भएको आगजनीमा परेर मृत्यु भएका ४ जनाको अझै पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश जबेगूले बताए । आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटमा आगलागी भएको थियो । सोही क्रममा भित्रै जलेर नचिनिने अवस्थामा गत २७ गते चार जनाको शव भेटिएको थियो । 

यस्तै विराटनगरको भाटभटेनी सुपरमार्केटमा सोमबार भेटिएको एक जनाको शवको पनि पहिचान खुल्न सकेको छैन ।

प्रहरी नायव उपरीक्षक जबेगूका अनुसार अहिलेसम्म कोही पनि आफन्त हराएको भन्दै प्रहरी कार्यालयमा पुगेका छैनन् । शव पोस्टमार्टमपछि उनीहरूको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । 

प्रदेश प्रहरीका अनुसार क्षतिको विवरण सङ्कलन गर्ने क्रम अझै जारी छ । टोलीहरू परिचालन गरिएको र क्षतिको पूर्ण विवरण आउन समय लाग्ने पोखरेलले बताए । जेनजी आन्दोलनका क्रममा अधिकांश सरकारी कार्यालयहरूमा आगजनी भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप