बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

६ वटा शव हेलिकप्टरमार्फत उपत्यकाबाहिर पठाइयो

मङ्गलबार, ३१ भदौ २०८२, १६ : ५१
मङ्गलबार, ३१ भदौ २०८२

सारांश

  • जेनजी प्रदर्शनमा मृत्यु भएका ६ जनाको शव हेलिकप्टरमार्फत उपत्यकाबाहिर पठाइयो।
  • उदयपुर, धनकुटा, सङ्खुवासभा, सिरहा र सुनसरीमा शव पठाइएको छ ।
  • जेनजी प्रदर्शनमा ७३ जनाको मृत्यु भएको छ, जसमा प्रहरीतर्फ ३ जना छन्।

काठमाडौँ । जेनजी प्रदर्शनमा मृत्यु भएका ६ जनाको शव मंगलबार हेलिकप्टरमार्फत उपत्यकाबाहिर पठाइएको छ । शिक्षण अस्पतालमा पोष्टमार्टम गरेर ६ वटा शव उपत्यका बाहिर पठाइएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले रातोपाटीलाई जानकारी दिए । 

उदयपुरमा दुई जना र धनकुटा, सङ्खुवासभा, सिरहा र सुनसरीमा १÷१ जनाको शव पठाइएको खनालको भनाइ छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निःशुल्क रूपमा शव पठाउने निर्णय गरेको थियो ।

भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा मृत्यु हुनेका सङ्ख्या ७३ पुगेको प्रहरी प्रवक्ता (डीआईजी) विनोद घिमिरेले रातोपाटीलाई बताए । जसमध्ये प्रहरीतर्फ ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा असई मिलन राय, सहायक हवलदार अमृत गुरुङ र जवान उत्तम थापा छन् ।

नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर घटनास्थलमा र अस्पतालमा उपचारको क्रममा गरेर मात्रै २१ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा प्रदर्शनकारीतर्फ बुद्धिबहादुर तामाङ, सन्तोष बिक, सुलभराज श्रेष्ठ, श्रीयम चौलागाईं, ईस्वत अधिकारी, आयुष थापा मगर, सौरभ जोशी, योग बहादुर श्रेष्ठ, माधव सारुमगर, बिमल बावु भट्ट, असहाव आलम ठकुराई, शौरन किशोर श्रेष्ठ, सुवास कुमार बोहरा, रसिक खतिवडा, विनोद महर्जन, दिल नारायण तामाङ, योगेन्द्र न्यौपाने, छत्रमान कुथुमी, ओझन बुढा, अविषेक श्रेष्ठ र मोहन सरदार ‘चङ्खे’ छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप