फिजिक्स पढाएर बसेकी मेरी श्रीमतीले के अपराध गरेकी थिइन् ?
सारांश
- पूर्व प्रधानमन्त्रीले आफ्नो घरमा भएको आगजनी र त्यसपछिका घटनाबारे प्रश्न उठाएका छन्।
- उनले घटनामा संलग्न व्यक्तिहरूलाई कारबाहीको माग गर्दै सरकारको भूमिकामाथि प्रश्न उठाए।
- आफ्नी पत्नीको स्वास्थ्य अवस्था र घटनाका कारण उठेका प्रश्नहरूबारे उनले कुराकानी गरेका छन्।
भदौ २४ गते म, मेरो म्याडम र छोरासहित सिङ्गै परिवार डल्लुस्थित घरमै थियौँ । हामी के कुरामा ढुक्क थियौँ भने यो देशमा विभिन्न पदमा बसेर काम गर्दा पनि हामीले कुनै बेथिति गरेका थिएनौँ । गलत काम गरेका थिएनौँ । एक पैसा कसैको तलमाथि पनि गरेका थिएनौँ । एक पैसा कसैको खाएका पनि थिएनौँ । कुनै भ्रष्टाचार पनि गरेका थिएनौँ । त्यसैले डर मान्नुपर्ने अवस्था छैन ।
मेरो प्रधानमन्त्रीको कार्यकाल एउटा राम्रो कार्यकाल मान्छु म । किनभने त्यति बेलाका सम्पूर्ण कर्मचारीदेखि सबैले काम गर्ने क्रममा राम्रो सहयोग गरेका थिए । कामका क्रममा कसैले गुनासो गरेको पनि देखिएन ।
त्यो कालखण्डमा कसैले कुनै गलत काम भयो भनेर भनेको पनि मैले देखेको सुनेको छैन । त्यो भन्दा अगाडि म मन्त्री पदमा पनि बसेर पनि काम गरेँ ।
त्यसबाहेक मेरी म्याडम (रविलक्ष्मी चित्रकार) भनेको त निरन्तर चक र डस्टर घोटेर ७० वर्ष पुगेको मान्छे हो । उनी यिनै जेनजी भन्नेहरूलाई जन्माउने मान्छे पनि हो । निरन्तर शिक्षा पेसामा लागेको,त्यसमाथि पनि विज्ञान (फिजिक्स) शिक्षा पढाएर बसेकी हुन् उनी । फिजिक्स पढाएर बसेको मान्छेले के अपराध गरेको थियो ? मैले के अपराध गरेको थिएँ ? मेरो छोराले के अपराध गरेको थियो ?
आन्दोलनका क्रममा सुण्ड–मुण्डहरू ल्याएर मेरो घरमा त्यो प्रकारले आगजनी गर्नुपर्ने र हामीलाई थुनेर त्यसरी हत्याको प्रयास गर्नुपर्ने, मार्ने प्रयास गर्नुपर्ने के कारण भयो ? यो आश्चर्यजनक घटनाले मेरो मानसपटलमा प्रश्न उठाइरहेको छ ।
_ofruXUTRnm.jpg)
_EoMrnYSJBL.jpg)
त्यो प्रश्न झन्झन् बलवती भएर उठिरहेको छ । घटनापछि मेरो दिमागमा सगरमाथा भन्दा अग्लो प्रश्न उठेका छन् । यो प्रकारको हत्या गर्ने र विध्वंस गर्ने शिक्षा कसले दियो उनीहरूलाई ? म अत्यन्तै आश्चर्यचकित छु ।
जेनजी पुस्ता त हाम्रा छोराछोरीजस्ता पनि हुन् । अझ कतिपय त हाम्रा नातिनातिनाहरू जस्ता पनि हुन् ।
उनीहरूलाई यो देशमा यति ठुलो विध्वंस गर्ने शिक्षा कसले दियो ? कसरी उनीहरू यस्तो प्रकारको काममा लागे ? अहिलेसम्म पनि कसैले पश्चात्ताप गरेको देखेको छैन । मेरो घर नै जलाउनुपर्ने गरी मैले अपराध के गरेँ ? म यो प्रश्न मेरा जेनजी भाइहरूलाई गर्छु ।
त्यो दिन वरिपरि झन्डै दुई–अढाई सय मान्छेहरू जम्मा भए । एक्कासि आएर उनीहरूले मेरो घरमा आगजनी र तोडफोड गरे । घरभित्रका सम्पूर्ण बस्तु जलाए, किताब जलाए । अरूभन्दा पनि मैले आठ–दश दराज राष्ट्रिय अन्तर्राष्ट्रिय किताबहरू जम्मा गरेको थिएँ, ती किताबहरू असाध्यै मूल्यवान् थिए । ती किताबहरू जलाउनुपर्ने आवश्यकता के थियो ? के त्यो किताब जम्मा गर्नु मेरो अपराध हो ?
म जेनजीका भाइबहिनीहरूलाई सोध्न चाहन्छु–नेपालको कम्युनिस्ट आन्दोलनका तमाम डकुमेन्टहरू भेला गरेर, जम्मा गरेर घरमा राखेको थिएँ । ती उनीहरूलाई पनि काम लाग्न सक्थे । कतिपय डकुमेन्टहरू अन्त कहीँ पाइँदैनन्, ती डकुमेन्ट राख्नु मेरो अपराध हो र ?
_HdOeci4krT.jpg)
म देश र जनताको निम्ति निरन्तर आवाज उठाउँदै आएको व्यक्ति हुँ । जीवनभर राष्ट्रियताको निम्ति लगातार आवाज उठाउँदै आएँ, चाहे लिपुलेकको घटना होस् वा सिमानाको कुरा । अथवा बाह्य शक्तिहरूले गरेका हस्तक्षेपका विरुद्ध नै किन नहोस् । लगातार आवाज उठाउने व्यक्ति म हुँ । तर त्यो आवाज उठाउने कुरा मेरो अपराध हो ? जेनजीका भाइहरूले मलाई जवाफ दिनुपर्छ ।
त्यो घर बनाउने कुरामा पनि मेरो अन्यथा केही छैन । नितान्त मेरो म्याडमले ट्युसन र दुईटा कलेज पढाएर आर्जेको आर्जनसहितले हो । त्यसमा म सांसद र मन्त्री हुँदा आएको पारिश्रमिक पनि थपिएको छ । घरको जमिन भने पुर्खाहरूले दिएको पैतृक सम्पत्ति हो । तर मेरोसहित अरू धेरै जनाको घर जल्यो ।
यदि त्यसरी निजी र सरकारी सम्पत्ति जलाउने काम जेनजीका भाइहरूले गरेको होइन भने कसले गरेको हो त्यो महाअपराध ? त्यो महाअपराधको छानबिन गर्न यो देशको राज्य तयार छ कि छैन ? अहिले नयाँ बनेको सुशीलाजीको सरकारले यो काम गर्न सक्छ कि सक्दैन ? अपराधीहरूलाई सरकारले कठघरामा उभ्याउन सक्छ कि सक्दैन ? यो प्रश्न मेरोमात्र होइन, सबै नेपालीले गरिरहेको प्रश्न हो ।
_o7Rsr7XRv7.jpg)
अहिले म मेरो जलेको घर हेर्दै बसेको छु । मन मुटुमा अनेक प्रश्न खेलेका छन् । उता मेरो म्याडमको अवस्था अहिले पनि राम्रो हुन सकेको छैन । उनको अहिले पनि क्रिटिकल अवस्था छ । अहिले उनी हस्पिटलमा छिन् । अप्रेसन गर्नुपर्ने भनिएको छ, कति दिनसम्म हस्पिटल बस्नुपर्छ भन्ने कुराको कुनै टुङ्गो छैन । अप्रेसन नै गरे पनि के हुन्छ भनेर भन्न नसक्ने डाक्टरहरूले भन्नुभएको छ । तर हामी उहाँलाई बचाउन लागिरहेका छौ ।
त्यसदिन मेरो घर जलाउन पुगेकाहरू धेरै छन् । कतिपय मैले चिनेका मानिसहरू पनि त्यहाँ रहेछन् भने कतिपय मेरा समर्थकहरू पनि पुगेका रहेछन् । शुभचिन्तकहरूले फोटो र भिडियो पनि खिचेर राखेका रहेछन् । त्यो फोटो र भिडियोहरू साथीभाइहरूबाट मैले बिस्तारै प्राप्त गर्दै आएको छु ।
आगजनी र लुटपाट गर्न आउने समूह र व्यक्ति सबैको फोटो र चित्र सबै सामु भोलिका दिनमा प्रस्तुत गर्नेछु । ती मान्छेहरूलाई खोजेर राज्यले कारबाही गर्न सक्नुपर्छ । घटनापछि राज्य कतातिर छ, त्यो मलाई जानकारी छैन । नयाँ मन्त्री कुलमान घिसिङले चाहिँ मलाई सम्पर्क गर्नुभएको थियो । उहाँलाई म धन्यवाद पनि दिन्छु, बधाई पनि दिन्छु । किनभने एउटा इमानदार मान्छे अहिलेको यो क्याबिनेटमा पर्नुभएको छ ।
(नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री खनालसँग गणेश पाण्डेले गरेको कुराकानीको सम्पादित अंश )
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
पेरेडेसले किन गाभीको घाँटी समातेर लडाइदिए ?
-
एक वर्षमा जङ्गली जनावरको आक्रमणबाट पाँच जनाको मृत्यु
-
झापाको रतुवा खोलामा 'ल्याण्डमार्क ब्रिज' निर्माण तीव्र, ५० प्रतिशत काम सम्पन्न
-
दमकमा खैरो हेरोइनसहित एक जना पक्राउ
-
सूर्यविनायक–धुलिखेल सडक : एकातिर द्रुत गतिमा कालोपत्रे, अर्कातिर हिलो र ढलको सास्ती
-
‘एल मेयो’लाई आजीवन कारावास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण