शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
जेनजी आन्दोलन

सुर्खेतमा नापी कार्यालय ध्वस्त, भूमिसम्बन्धी सेवा ठप्प, अमूल्य अभिलेख खरानी

बिहीबार, ०२ असोज २०८२, १५ : ३०
बिहीबार, ०२ असोज २०८२

सारांश

  • सुर्खेतमा 'जेनजी' आन्दोलनका क्रममा नापी कार्यालयमा आगजनी र तोडफोड हुँदा सेवा ठप्प भएको छ।
  • आन्दोलनकारीले कार्यालयभित्र प्रवेश गरी महत्त्वपूर्ण दस्तावेज र सर्भरमा क्षति पुर्याएका छन्, जसले गर्दा सेवाग्राही मर्कामा परेका छन्।
  • प्रहरीले घटनालाई विशेष रूपमा हेरिरहेको छ र क्षतिको आकलन गर्दै आवश्यक प्रमाण संकलन गरिरहेको छ।

सुर्खेत । ‘जेनजी’ आन्दोलनका क्रममा भौतिक संरचना ध्वस्त भएसँगै सुर्खेतमा नापी कार्यालयका सम्पूर्ण सेवा ठप्प बनेको छ ।

भदौ २४ गते आन्दोलनरत पक्षले नापी कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी गरेको थियो । तोडफोड र आगजनीले नापी कार्यालयको भौतिक संरचना तथा सम्पूर्ण कागजात जलेर खरानी बनेको नापी कार्यालयका प्रमुख दिनेश भण्डारीले रातोपाटीलाई बताए । उनका अनुसार, अहिले जिल्लाभित्रका भूमिसम्बन्धी सम्पूर्ण सेवा ठप्प भएका छन् ।

कार्यालयका कुनै पनि अमूल्य अभिलेख सुरक्षित नभएको उनले बताए । प्रदर्शनकारीहरूले कार्यालयभित्रै पसेर तोडफोड गर्नुका साथै आगजनी गरेका थिए ।

नागरिकको प्रत्यक्ष जनजीवनसँग सरोकार राख्ने जग्गा–जमिनको व्यवस्थापन र स्वामित्व प्रमाणीकरणको महत्त्वपूर्ण जिम्मेवारी बोकेको नापी कार्यालय सुर्खेत अहिले पूर्ण रूपमा सेवाविहीन बनेको कार्यालय प्रमुख भण्डारीको भनाइ छ ।

यस कार्यालयले जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) सम्बन्धी सेवा, नाप–नक्सा उपलब्ध गराउने, नामसारी गर्ने, विवाद समाधान गर्ने र भूमिसम्बन्धी अभिलेख सुरक्षित राख्नेजस्ता अत्यावश्यक सेवाहरू प्रवाह गर्दै आएको थियो ।

photo (4)

उनका अनुसार, जग्गाको खरिद–बिक्री, उपहार, दान वा वंशपरम्पराका कारण धनी परिवर्तन हुँदा गरिने नामसारी सेवा, हराएको वा बिग्रिएको लालपुर्जा पुनः प्राप्त गर्नेजस्ता सेवाहरू यस कार्यालयका प्रमुख जिम्मेवारीभित्र पर्थे ।

यसबाहेक, जग्गा टुक्य्राउने वा जोड्ने, नक्सा सच्याउने, अतिक्रमण वा सिमाना विवादमा नापजाँच गरी प्रतिवेदन तयार गर्ने, अदालती मुद्दामा प्राविधिक प्रतिवेदन उपलब्ध गराउनेजस्ता महत्त्वपूर्ण कार्यहरू पनि यसै कार्यालयको जिम्मेवारीमा पर्छन् । जेनजी आन्दोलनका क्रममा कार्यालयमा क्षति भएपछि यी सबै महत्त्वपूर्ण सेवा अनिश्चितकालका लागि निष्क्रिय बनेका छन्, जसले भूमिसम्बन्धी कारोबार गर्ने वा समस्या समाधानका लागि आउने सेवाग्राहीहरूलाई समस्या भएको कार्यालयका कर्मचारी बताउँछन् ।

आन्दोलनकारीले कार्यालयभित्र प्रवेश गरी तोडफोड र आगजनी गर्दा महत्त्वपूर्ण दस्तावेज, सर्भरलगायतका सबै सामग्रीहरू जलेर नष्ट भएका छन् । कार्यालयको यस्तो क्षतविक्षत अवस्थापछि कर्मचारीहरू पनि हाल कामविहीन बनेका छन् ।

भण्डारीका अनुसार, जग्गा नापजाँचसँग सम्बन्धित अधिकांश प्राविधिक कामहरू कागजमै हुने भएकाले ती सबै जलेर नष्ट हुँदा सेवा प्रवाहमा ठुलो चुनौती देखिएको छ ।

यदि कार्यालयमा भएका विवरण नापी विभागको केन्द्रीय प्रणालीसँग पनि अभिलेखीकरण नभएको खण्डमा जग्गासम्बन्धी सम्पूर्ण कार्य शून्यबाट सुरु गर्नुपर्ने भयावह अवस्था आउन सक्ने भण्डारीले बताए ।

‘हामीले अरु केही गर्न सक्ने अवस्था छैन । क्षतिग्रस्त कार्यालयको सरसफाइ र आगोले क्षति नपुगेका कम्प्युटरका हार्डडिस्कहरू रिकभर गर्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘केन्द्रसँग समन्वय भइरहेको छ । तत्कालन कार्यालय सुचारु हुने अवस्था छैन ।’

photo (3)

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधिरराज शाहीले नापी कार्यालयमा भएको क्षति र आगजनीको प्रकृति विश्लेषण गर्दा आन्दोलनकारीले जानाजान जग्गासम्बन्धी तथ्यांक भण्डारण गरिएका कक्षलाई निशाना बनाएको देखिएको बताए ।

उनले भने, ‘हामीले जेनजी आन्दोलनमा भएको यो घटनालाई विशेष ढङ्गले हेरेका छौँ । क्षतिको आँकलनसँगै यससँग सम्बद्ध आवश्यक प्रमाणहरूको गहन विश्लेषण गरेर प्रहरी अघि बढ्छ ।’

नापी कार्यालयको तथ्याङ्क भण्डारण कक्षबारे पूर्वजानकारी भएका व्यक्तिहरूबाटै यो तोडफोड र आगजनी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक आकलन छ ।

नापी कार्यालय प्रमुख भण्डारीको प्रारम्भिक अनुमानअनुसार कार्यालयमा करिब ३ करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । यद्यपि स्रेस्ताहरूको क्षतिलाई भने अमूल्य मानिएको छ ।

‘करिब ३ करोडको भौतिक क्षति भएको अनुमान छ, तर स्रेस्ताको मूल्य हुने कुरा भएन,’ भण्डारीले भने ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले जेनजी आन्दोलनका कारण सार्वजनिक र निजी सम्पत्तिमा पुगेको क्षति आकलन गरी विवरण संकलन गर्न सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

यस समितिले अध्ययन गरी विवरण सार्वजनिक गर्नेछ । प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले प्राप्त विवरणका आधारमा क्षतिको आकलन गरिने जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप