शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

जनताले सडकमार्फत अस्विकार गरिसक्दा संविधान दिवस मनाउने कुरा हास्यास्पद : प्रभु साह

शुक्रबार, ०३ असोज २०८२, ११ : ३१
शुक्रबार, ०३ असोज २०८२

सारांश

  • आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संविधान दिवसको दिन संविधानको अन्त्येष्टि गर्नुपर्ने बताए।
  • उनले वर्तमान संविधान र व्यवस्थाकै कारण देश समस्यामा फसेको र राष्ट्रियता ध्वस्त भएको आरोप लगाए।
  • साहले सरकारको कर आतंक र पहिचानविहीन संघीयताका कारण जनता आजित भएको टिप्पणी गरे।

काठमाडौँ। आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले आज असोज ३ गते संविधान दिवस नभएर अन्त्येष्टि दिवस मनाउनुपर्ने बताएका छन् । उनले वर्तमान संविधान र अहिलेको व्यवस्था नेपाली जनताको नभएर अरु कसैकाे भएकाे बताएका छन् ।

सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै पूर्वमन्त्री साहले अहिलेको संविधान र व्यवस्थाकै कारण मुलुक अन्त्यहीन समस्याको भड्खालोमा फसेको दाबी गरेका छन् । उनले अहिलेको संविधान मृत भैसकेको भन्दै अब यसलाई बोकेर हिँड्नु भनेको समाजलाई दूषित तुल्याउनु भएको टिप्पणी गरे।

साहले भिडिओ अपिलमा भनेका छन्– ‘असोज ३ गते संविधान दिवस मनाउने कि संविधानको अन्त्येष्टि गर्ने भन्ने विषयमा म केही भन्न चाहन्छु । तपाईं हामी सबैलाई थाहा छ यही संविधानको कारण आज देशमा अमनचयन हुन सकेन । सुख र समृद्धि पनि भएन । व्यवस्था बिग्रिएकै कारण अवस्था पनि बिग्रियो ।’

साहले आफूले वर्तमान संविधानलाई धोकाको पुराण भन्दै आएको पनि स्मरण गराए । यही संविधानका कारण देशको राष्ट्रियतासमेत ध्वस्त भएको उनको आरोप छ ।

उनले भने, ‘म निरन्तर भन्दै आएको छु, वर्तमान संविधान धोकाको पुराण हो । आज यसैका कारण हाम्रो राष्ट्रियता ध्वस्त भएको छ । दुनियाँमा कहीँ नभएको दुई देशको नागरिकताको प्रावधान नेपालमा छ । साम्राज्यवादी देशका नागरिकले खुलेआम नेपालको नागरिकता प्राप्त गर्न सकिरहेका छन् । जसको कारण नेपालका नेताहरू र शासकका सन्तान र सम्पत्ति विदेश गइरहेको छ । हामी हिजो लोकतन्त्रको लागि लडेका थियौँ । तर, आज दलतन्त्र छ । दलका नेताहरू अघोषित राजा बनेका छन् । लोकतन्त्र देखाउने दाँत भएको छ । जनता लाचार छन् । नेता मालामाल छन् । कहीँ नभएको ७६१ सरकार छ । खुलेआम भ्रष्टाचार छ । यो पनि यही संविधानको उपज हो ।’

उनले देशमा सरकारको कर आतङ्कका कारण जनता आजित बनेको बताए । नेपालमा विश्वमा कहीँ नभएको कर जनताले तिर्नुपरेको साहको दाबी छ ।

उनले थपे, ‘आज सरकारपिच्छे सरकारको कर आतङ्क छ । नामै नसुनेको कर तिर्नुपरेको छ । करकै कारण हाम्रो उत्पादन महँगो भयो । उद्योग तथा व्यवसाय चौपट्ट भएको छ । व्यापार घाटामा छ । हाम्रो अर्थतन्त्र बर्बाद हुँदैछ । दुनियाँमा जीडीपीको २० प्रतिशतभन्दा बढी कहीँ पनि कर छैन । तर, नेपालमा जीडीपीको ३५ प्रतिशत कर नेपाली जनताले तिर्नुपरेको छ । यो कुरा सामान्य छैन । यसको कारण पनि यही संविधान हो भन्ने कुरा सही ढङ्गले बुझ्न जरुरी छ ।’

साहले देशमा अहिले पहिचान र अधिकारविहीन सङ्घीयता लादिएको आरोप लगाए । सोही कारण सामाजिक न्यायसमेत तमासा बनेको उनको भनाई छ ।

साहले भने- ‘आज नेपालमा पहिचान र अधिकारविहीन सङ्घीयता छ । शासकलाई आरक्षण छ, यो दुनियाँमा कहीँ पनि छैन । जसको कारण सामाजिक न्याय एक तमासा बन्न पुगेको छ । समानताभित्र विशेषाधिकार छ । प्रतिस्पर्धामा सिन्डिकेट छ । जसको कारण सामाजिक सद्भाव कायम हुन सकिरहेको छैन । एउटा द्वन्द्वको अवस्था छ ।’

देशमा विद्यमान सबैखाले समस्याहरुको कारण र यसको जड नै वर्तमान संविधान भएको साहको टिप्पणी छ । उनले भने- ‘आज यी तमाम कारणहरू जो देखिँदैछन्, यसको मैले संविधानसभादेखि नै विरोध गर्दै आएको हो । हिजो संविधान बनिराख्दा ६०१ जनामा एउटा प्रभु साह हो, जसले यो गलत भयो भनेर भनेको थिएँ । यो संविधान जारी गर्दा देश बर्बाद हुन्छ भनेको थिएँ, त्यसरी मैले विरोध गरिराख्दा मलाई माओवादीले साधारण सदस्यताबाट हटाएका थियो । मलाई प्रताडित गरियो । विभिन्न दलहरू मिलेर मलाई प्रताडित गरियो ।’

अहिले आएर आफूले दलाल दलतन्त्रको लुट, अत्याचार र भ्रष्टाचारको विरोध गरेको पनि उनले स्मरण गराए । दलाल दलतन्त्रको लुट, अत्याचार र भ्रष्टाचारको विरोध आफूले तेस्रो जनआन्दोलनको उद्घोष गरेर लडिराखेको पनि साहले सम्झाए । 

आम नेपाली जनताले सडकमार्फत सरकार, व्यवस्था र नेतृत्वलाई अस्विकार गरिसक्दा पनि संविधानको दिवस मनाउने कुरा हास्यास्पद हुने साहको भनाई छ । उनले भने, ‘मृत चिजको कहिल्यै पनि उत्सव हुँदैन । अन्त्येष्टि हुन्छ भन्ने कुरा सही ढङ्गले बुझ्न जरुरी छ ।

म नेपाली जनतालाई अपिल गर्न चाहन्छु कि यदि यस्तै मृत संविधान र व्यवस्थालाई तपाईं/हामीले बोक्यौँ भने यसले हाम्रो समाजलाई दूषित गर्छ।  यसलाई अन्त्येष्टि गरेर मात्रै नयाँ यात्रा गर्न जरुरी छ ।

अनि मात्रै हामी केही गर्न सक्छौँ । अबको नेपाली जनताको चाहना भनेको जनताको संविधान हुन जरुरी छ । यो गणतन्त्र भगौडा दलाल वर्गहरूको हो, नेपाली जनताको होइन । नेपाली जनाको संविधान चाहिएको छ। असोज ३ गते दिवस होइन, अन्त्येष्टि मनाउ । देशलाई नयाँ निकास दिऊँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप