बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
जेनजी आन्दोलनको असर

न आमाको काख, न बाबुको सहारा : आन्दोलनले टुहुरा भए दुई छोरा

दुई वर्षअघि आमाको मृत्युको पीडा भुलिनसकेका दुई बालकले गुमाए बुवा पनि
शुक्रबार, ०३ असोज २०८२, १८ : ००
शुक्रबार, ०३ असोज २०८२

सारांश

  • भक्तपुरमा भएको जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर साजन राईको मृत्यु भयो, जसले उनका दुई छोरा टुहुरा बने।
  • श्रीमती गुमाएका साजन मजदुरी गर्दै छोराहरूको पालनपोषण गरिरहेका थिए, तर उनको मृत्युले परिवारको भविष्य अन्धकारमय बनेको छ।
  • साजनको शवलाई धरानमा अन्त्येष्टि गरियो र उनका छोराहरू हाल धरानमा दाजुको घरमा छन्, जहाँ उनीहरूको भविष्यको चिन्ता छ।

विराटनगर । भक्तपुरमा भएको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ४२ वर्षीय साजन राईको मृत्यु भयो । दुई वर्षअघि श्रीमती गुमाएर एकल अभिभावकको बनेर दुई छोराको स्याहारसुसार गर्दै आएका साजनको मृत्युले उनका ६ र १२ वर्षीय छोराहरू पूर्ण रूपमा टुहुरा बनेका छन् । 

नाबालक छोराहरू भक्तपुरको डेरामै थिए, आन्दोलनमा बुवा मारिए । साजनका आफन्त विश्वसिंह माबुहाङका अनुसार साजनको मृत्युले उनीहरूको परिवारको भविष्य नै अन्धकार भएको छ ।

‘श्रीमतीले दुई वर्षअघि नै आत्महत्या गरेर संसार छाडेकी थिइन्, ऊ एक्लैले मजदुरी गरेर भक्तपुरमा दुई छोराहरूलाई पालिरहेको थियो,’ उनले भने, ‘अब ती बच्चाहरूको अवस्था के हुने भन्ने कुराले हामी सबैलाई गम्भीर बनाएको छ ।’

मूल घर संखुवासभाको सिलिचोङ–५ भए पनि साजन श्रीमती सुनिता थेबेलाई लिएर छोराछोरीसहित काठमाडौँ छिरेका थिए । श्रीमान्–श्रीमती ज्याला मजदुरी गरेर भक्तपुरमा कोठा भाडामा लिएर बसिरहेका थिए । तर दुई वर्षअघि उनले श्रीमती थेबेलाई गुमाए । त्यसपछि दुई नाबालक छोराहरूको हेरचाह र पालनपोषणको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा थियो ।

भदाै २३ गते जेनजी आन्दोलन भयो, आन्दोलन हिंसात्मक बन्दा त्यस दिन २१ जनाको मृत्यु भएको खबर साजनले पनि पाए । अनाहकमा विद्यार्थी र बालबालिकाको मृत्युको खबरले आक्रोशित बनेका उनी भदाै २४ गते बिहानै भक्तपुरको ठिमीमा भएको प्रदर्शनमा सहभागी भए । सोही क्रममा प्रहरी चौकी नजिक भएको झडपका क्रममा गोली लागेर उनको मृत्यु भयो । 

१२ वर्षका छोरा रेक्जेन र ६ वर्षका जिनी राईलाई छोडेर आन्दोलनमा गएका उनको मृत्यु भएको खबर तीन दिनसम्म आफन्तले पाएनन् । उनी घर नफर्किएपछि भक्तपुरमै रहेका छिमेकी र आफन्तले खोजी सुरु गरे ।

Sajan (6)

उता, अस्पतालमा उनको शवको सनाखत हुन सकेको थिएन । आफन्तले तीन दिनसम्म विभिन्न अस्पतालमा खोज्दै जाँदा २७ गते मात्र केएमसी अस्पतालमा उनको शव भेटे ।

‘हामीले त दुई–तीन दिनपछि मात्रै थाहा पायौँ,’ विश्वसिंहले भने, ‘बुबा कता गयो भनेर बच्चाहरूले छिमेकीलाई भनेछन् । उनीहरू कोठामा एक्लै थिए । पछि आफन्तले खोजी गर्दा मात्र घटना बाहिर आयो ।’

साजनको शवलाई काठमाडौँबाट विराटनगर हवाईजहाजमा ल्याइयो र मंगलबार धरान लगेर उनको जातीय संस्कार अनुसार अन्त्येष्टि गरिएको छ । उनको शवमा धरानका नगरप्रमुख हर्क साम्पाङले नेपालको झण्डा ओढाएका थिए । 

मृतक साजनका दुवै छोरा हाल धरानमा रहेका आफ्ना ठूलोबुबा (मृतकको दाजु)का घरमा छन् । उनीहरूको आर्थिक अवस्था निकै कमजोर छ । ‘उहाँको दाइ पनि सुकुमबासीजस्तै सानो झुप्रो बनाएर बस्नुभएको छ, अब ती बच्चाहरूको पालनपोषण, शिक्षादीक्षा कसरी अगाडि बढाउने भन्ने ठुलो चुनौती छ,’ विश्वसिंहले भने । 

भक्तपुरमा हुँदा दुवै छोराहरू स्थानीय विद्यालयमा पढ्दै थिए । यो घटनापछि समुदाय र आफन्तहरूले बच्चाहरूको भविष्यका लागि सहयोग जुटाउन थालेका छन् । ‘सरकारले दिने क्षतिपूर्ति कसरी पाउने, कसरी लिने भन्ने पनि अभिभावक नभएका कारण समस्या छ । यस्तो बेला सबैको सहयोग आवश्यक भयो,’ विश्वसिंहले भने । 

उनका अनुसार स्थानीयस्तरमा केही सहयोग रकम सङ्कलन भए पनि त्यो बच्चाहरूको दीर्घकालीन भविष्यका लागि अपर्याप्त छ । आन्दोलनले एक होनहार युवा र एक अभिभावक खोसेको छ भने दुई नाबालकको भविष्यलाई अनिश्चितताको भुमरीमा धकेलिदिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप