बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
निबन्ध

जाँदा हाँसेको मन, फर्कंदा धेरै रोयो

शनिबार, ०४ असोज २०८२, १६ : ३०
शनिबार, ०४ असोज २०८२

घरमा आएर घाँसको भारी बिसाएझैँ ब्याग बिसाउँदा रातिको १० बजेको थियो । मनमा उही र उस्तै कैयौँ प्रश्न थिएँ— केही प्रश्न देशलाई, केही प्रश्न सरकारलाई र केही प्रश्न आफैँलाई । निदाउने कोसिस गरेको हो तर आँखाले मानिरहेको थिएन । आँखामा झलझली घुुमिरहेको थियो गाउँ, बाटो र बसको यात्रा । यति दोधारे भएर कहिले हिँडेकी थिइनँ । जाँदा पनि मन दोधारमा थियो, फर्कंदा पनि मन दोधारमै अल्झिरहेको थियो ।

भाषा, साहित्य, कला–संस्कृति, जीवन र जगत्को समृद्धि भन्ने मूल नाराका साथ तेस्रो महफिल कार्यक्रम २०८१ आयोजना गरिएको थियो । जसमा कवितामा म र दीपक शर्मा समीर, गजलमा सुुमन स्मारिका र दिलीप स्वेद अनि मुुक्तकमा सुुन्तली कुँवर र भोजराज घोरासैनी हुनुुहुुन्थ्यो । राप्ती साहित्य परिषद् रुकुुम पूर्वको आयोजना र पुुथा उत्तरगंगा तकसेरा रुकुुमको सहयोगमा असोज ५ गतेका लागि कार्यक्रम तयारी गरिएको थियो । पत्रकार महासंघको अधिवेशन हुने भएपछि कार्यक्रमलाई भदौको २८ गते सारिएको थियो । २४ गते दिउँसो गजलकार सुमन स्मारिकाको फोन आयो— भोलि ११ बजे गाडी जान्छ अरे । तपाईं हेटौँडाबाट कहिले आउनुहुुन्छ ? आजै हिँड्नु ।

घडी हेरेको साँझको ५ बजिसकेको थियो । काठमाडौँ पुुग्दा रातको ९/१० पक्का बज्थ्यो । फेरि दिनभरिको काम र थकानले अल्छी पनि उसै लागिरहेको थियो । जान मन भएन, उहाँलाई म आजै आउँछु भने र भोलिपल्ट बिहान ६ बजेको सुमोमा काठमाडौँ रवाना भएँ । गाडीले १०ः३० मा काठमाडौँ झारिदियो । ११ बजेको गाडी भनेको म काठमाडौँ पुुग्दा १ बजे मात्रै जाने भयो । पर्खनुुको विकल्प थिएन, त्यसैले ११ः३० सम्म म सुमोको काउन्टरमै बसिरहेँ । ११ः३० पछि भने जाँदा ठिक हुन्छ भन्ने लागेर पठाओ बुुक गरेर लागेँ बसपार्कतर्फ । म बसुपार्क पुुग्दा स्मारिका आइपुुग्नुभएको थिएन । गर्मीले काठमाडौँमा बसी साध्य थिएन । क्याफेमा छिरेर लस्सी खाएँ । म गाडीमा हिँड्दा बाटोमा खाना खान्न किन कि असाध्यै फोहोर हुन्छ । लस्सीले मलाई केही राहत दियो । त्यसपछि स्मारिका आइपुुग्नुभयो । उहाँको र मेरो पहिलो भेट । चुुइगम खाने ? उहाँले पहिलोपटक बोल्नुभएको शब्द नै त्यही थियो । म चुुइगम मन पराउने मान्छे हैन तर पहिलो भेटमा नाइँ भन्न पनि सकिनँ र चपाउन लागेँ । 

टिकट काटेर ४ र ५ नम्बरको सिटमा हामी बस्यौँ र बिस्तारै गाडीले आफ्नो रफ्तार लिँदै गयो । थानकोट, नागढुुङ्गा हुँदै हामीले मुुग्लिन क्रस गर्दा रातिको ७ः१५ मिनेट गएको थियो । मुग्लिनको चटपटे खाने रहर थियो पूरा भएन, गाडी अगाडि बढी त गयो । बाटोभरि स्मारिका प्रायः सुतिरहनुभयो । म भने बेला बेला उहाँलाई उठाएर कुरा गर्थें । उहाँ नबोलेको देखेर मलाई लागिरहेको थियो । उहाँ मसँग दिक्क मानिरहनुभएको छ तर उहाँलाई बसमा हिँड्दा अत्यधिक बान्ता हुने कारणले उहाँ चुुपचाप हुनुुभएको रहेछ । रातको १०ः३० मा हामीलाई बसले पोखरा पुुर्‍यायो । पोखराबाट साथी टीका शर्मा पनि जाने कुरा थियो तर यसलाई अत्यधिक ज्वरो आएको र ब्लड चेक गर्दा डेँगु देखिएकाले हामीसँग जान पाइनन् । उहाँको स्वास्थ्य लाभको कामना गरेर हामीले यात्रालाई अगाडि बढायौँ र बिहानदेखि केही नखाएको हामीले पर्वतमा पुुगेर खाना खायौँ, त्यो पनि लच्छा पराठा र टिम्मुर राखेको गोलभेडाको अचार । मिठो लाग्यो । त्यसपछि बसले कताकता पुुर्‍यायो, हामीले थाहा पाएनौँ । हामी भने निद्रादेवीको काखमा पसेछौँ । बिहानको झिसमिसे हुँदा बस खोलाको छेउ नै छेउ दौडिरहेको थियो । बसलाई पुुग्नु थियो, डोल्पा । त्यसैले खाजा खान रोकियो । बिहानै चाउमिन पाकिरहेको थियो । सबैजना त्यसैमा झुम्मिरहेका थिए । सबैले खाजा खाए, म भने बसमा को को मान्छे रहेछन् भनेर हेरिरहेँ— कोही खुुट्टा भाँचिएर उपचार गरी फर्किएका, कोही पित्तथैलीको उपचार गरेर फर्केका, कोही छोराछोरी भेटेर फर्किएका, कोही बिरामी निको नभई अब मरे पनि घरमै मर्ने भनेर फर्किएका ।

जाँदा राति थियो, बाटो देखिएन, फर्कंदा उज्यालो थियो, बाटो देखियो । बाटोको जीवन देखियो । बाटोमा सरकार देखियो । बाटोमा जनता देखियो । बाटोमा कैयौँका आफन्तको यादहरू देखिए । कैयौँको काख रित्तिएका झझल्कोहरू भेटिए ।

मान्छेलाई यत्रो भूगोलमा मन पर्ने भनेको आफ्नो देश । त्यसमा पनि आफू जन्मेको ठाउँ र आफ्नो घर मात्रै रहेछ । नत्र मरेपछि जता लगेर फ्याँकिदिए पनि के भयो र तर मनले त्यसो नभन्दोरहेछ । प्रिय कुुराको पनि अति प्रिय मान्छेहरू लाग्यो मलाई, देशलाई प्रेम गरिरहने हिम्मत आजसम्म जीवित भएकामा । 

बस अगाडि बढ्यो । हामीलाई आयोजकले कमलतालमा ओर्लन भन्नुुभएको थियो । हामी उहाँहरूको आदेश अनुुसार कमलतालमै ओर्लियाँै । अध्यक्ष जमुुना गौतम हामीलाई लिन आइसक्नुुभएको रहेछ । कमलताल खुुब मजाले हेर्नु थियो, तर थकाइ उति नै थियो र सकेनौँ, लाग्यौँ होटलतिर । खाना खाएर हामी मज्जाले सुुत्यौँ, उठ्दा साँझ परिसकेको थियो । पोलेको मकै खाने निम्तो थियो । भात नखाने मकै खाने, हाम्रो जिद्दी पनि थियो । मकै पोलेर हामीलाई पर्खिरहनुभएका रुकुुमपूर्वका रेडियोका कर्मचारीहरू सबै–सबै मिलेर मस्त मकै खाइयो । होटलमा स्मारिका र म यस्तरी निदायौँ कि हामीलाई कसैले चोरेर लगेको भए पनि हामीले थाहा पाउँदैनौँथ्यौँ । म बिहान उठ्दा कुहिरो झुप्प–झुप्प भएर उडिरहेको थियो । चिसो हावा चलेको थियो । हरियो डाँडाकाँडाले मन लोभ्यायो । खुुब मज्जाले हेर्‍यौँ । एकदमै आनन्द आयो । स्मारिका सुुतिरहनुुभएको थियो । म भने गाउँ डुुल्न निस्केँ । 

कमलताल पुुगौँ कि लागेको थियो तर एकपटक आयोजकसँग भेट्न मन भयो, बाहिर निस्केकी मात्रै थिएँ, दाङका कवि दीपक समीपले मोबाइल दायाँबायाँ घुमाएर सेल्फी खिच्दै हुुुनुुहुुँदोरहेछ । लोभ्याउने प्रकृति नै त्यस्तै थियो, रातभरको निद्रालाई उहाँलाई पनि छुुमन्तर गरेको थियो । उहाँलाई नमस्कार गरेर संस्थाकी अध्यक्ष बहिनी जमुनालाई भेट्न गएँ । रेडियो बजिरहेको थियो । ‘कार्यक्रम बनाउने है दिदी एउटा’ उहाँले प्रस्ताव राख्नुुभयो, मैले नाइँ भन्न सकिनँ । रेडियो कार्यक्रम बन्यो । हामी त्यहाँबाट लगभग तीन घन्टाको यात्रा गरेर पुुथा गाउँपालिका पुुग्नु थियो, म होटल फर्किएँ । बाटोमै भेट भयो सोही रेडियोमा काम गर्ने निराजन । उहाँले मलाई रुकुुमपूर्वको बारेमा केही जानकारी दिनुभयो । 

पूर्वी रुकुम जिल्ला नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक हिमाली जिल्ला । यो जिल्ला प्रदेशका १२ जिल्लामध्ये एक हो भने यस जिल्लाले धौलागिरि हिमालको पश्चिमी भागमा रहेको ढोरपाटन सिकार आरक्षको साठी प्रतिशतभन्दा बढी भाग ओगटेको छ । ७,२४६ मिटरको उचाइमा रहेको धौलागिरि द्वितीय पर्वत शृंखलाको पश्चिमछेउमा अवस्थित यस जिल्लाको सबैभन्दा अग्लो हिमाल पुथा हिउँचुली धौलागिरि सातौँ हो भने पूर्वी रुकुम लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला पनि हो । यो जिल्ला ५२ वटा ताल र ५३ वटा डाँडाका लागि प्रसिद्ध छ । वि.सं. २०५२ देखि २०६२ सम्म पूर्वी रुकुम दशवर्षे माओवादी जनयुद्धको केन्द्र थियो । हिमाली भेग, धौलागिरि हिमशृंखला र समृद्ध खाम मगर संस्कृतिको अनुभव प्रदान गर्ने यस जिल्लामा माओवादी विद्रोहीको विगतको मार्ग पछ्याउँदै साहसिक पर्यटनका रूपमा रहेको छ । 

पूर्वी रुकुम जिल्लाको अस्थायी सदरमुकाम रुकुमकोट हो । जिल्ला सदरमुकाम रुकुमकोटबाट गोलखाडा, कोल, पुथा उत्तरगंगा सरुवा गर्ने सरकारको निर्णय रहेको थियो । यद्यपि यो अहिलेसम्म अन्तिम टुुंगो लागेको छैन । २०७८ वैशाख १ मा पुथा र उत्तरगंगाालाई छुट्टाछुट्टै गाउँपालिका बनाउने प्रस्ताव गाउँसभाबाट पारित भएको थियो तर आजसम्म यसको कार्यान्वयन हुन सकेको छैन । द्वन्द्वकालमा त्यहाँको मान्छेले भोगेका पीडा र विशेषतः नारीहरूले आवाज ओकल्न सकेको समय थियो त्यो । केही कुरा सुनाइरहँदा मनमा एक प्रकारको हर्ष पनि जागेको थियो । यस्तै कुरा सुन्दासुन्दै हामीलाई जान असाध्यै हतार भइसकेको थियो । गाडी आइपुुग्यो, खाना खाइवरी हामी लाग्यौँ पुुथा गाउँपालिका । गाडीमा बजिरहेको थियो, स्मारिकाको गजल— घरी घरी लाग्ने गर्छ यो जिन्दगानी के गर्नु, तिमी छैनौँ भएर यो जवानी के गर्नु । केहीका कविता, केहीका मुक्तकले वातावरण रमाइलो भइरहेको थियो । लगभग गाडीमा तीन घन्टाको यात्रापछि साँझ पर्दा हामी गाउँपालिकाभन्दा अलि वरै ओर्लेका थियौँ । गाउँपालिका पुुग्न पुुल थिएन । खोलाको बाटोमा बाढी आएर मस्त संगीतमय बनिरहेको थियो । कोहीले साउन्ड सिस्टम, कोहीले प्रमाणपत्र, कोहीले फूलमाला बोकेर अगाडि बढ्यौँ । बारीभरि मकै थिए । केही मान्छेहरू स्याउ बोकेर हिँडिरहेका थिए । हामीले स्याउ मागेर खायौँ । पैसा लिन उहाँहरूले मान्नुभएन । गाउँको हार्दिकता अझै मरेको छैन, मनले यही भनिरह्यो ।

पुुथा गाउँपालिकाको आँगनमा टेक्दा युुवाहरू भलिबल खेलिरहेका थिए । केही साना नानी बजिरहेको स्पिकर अगाडि झुम्मिरहेका थिएँ । एउटा घरले अर्को घरलाई सहारा दिएर उभिएका घरहरू थिए अर्थात् सबै घर एकापसमा जोडिएका । बच्चाहरूको आँखामा कैयौँ सपना थिए कि थिएनन् पढ्न खोज्दा रात परिसकेको थियो । 

पानीले हामीलाई भिजाइसकेको थियो । जाडो यति थियो कि हामीले भनेजस्तो न्यानो लुुगा पनि बोकेका थिएनौँ । कोठाभित्र बस्नुुको विकल्प थिएन । पाहुुना घरको मिठो खाना खाँदाखाँदै रोल्पाबाट आइपुुग्नुभएको थियो, दिलीप बुुढामगर । आयोजकको तर्फबाट निमा पँलास पानीको कारणले बाटो हिँलो हुँदा आउन पाउनुभएको थिएन । सुुर्खेतबाट हिँडेका मनोज र भोजराज । कोही माला उन्न र कोही गफमा मस्त भयौँ । इन्टरनेटको सुविधा नपाएपछि मान्छे साथीसँग बोल्दोरहेछ । त्यहाँ पुुगेर गफ गर्दा मजा आएको थियो । त्यो होटल नै हल्लाएर हाँसेका थियौँ । राति सुत्न अबेर भए पनि बिहान आँखाले निद्रा चाँडै छाडेको थियो । 

सबैजना कार्यक्रम स्थलमा थिए । म भने होमस्टेकी दिदीसँग बसेँ । छोराछोरी विदेश लागेपछि उनी होम–स्टे खोलेर बसेकी रहिछिन् । पकाउने कुरा कैयौँ थिए । दुुइटा हात दिए पनि शरीर त सबैको उही हो, दुख्छ । यस्तै लागेर भान्छाको मासुु र ढिडोबाहेक सबै खाना मैले पकाएकी थिएँ । चिसो ठाउँमा गुुन्द्रुुकको झोल र भात खानुुको आनन्द खोजिरहेकी थिएँ । त्यसैले पनि म भान्छामा पसेकी थिएँ । पकाइसकेर कार्यक्रम स्थल पुुग्दा सानासाना नानी बेलुुन फुलाइरहेका रहेछन् । उनीहरूको आँखाभरि कचेरा, नाकमा सिँगान थियो भने कपाल नकोरेको कैयौँ दिन भइसकेको थियो । गर भनेर सिकाउने को ? संस्कार भन्ने कुरा सिकाएपछि न हो जान्ने हो । फेरि म एक दिन पुुग्नेले कुुन कुरा भन्ने कुुन नभन्नेमा दोधारमा थिएँ । जस्तो छ उसैलाई एक्सेप्ट गर्नुपर्छ, अचेल मनले यही भन्छ । म पनि त्यही मान्छुु । 

होम–स्टेकी दिदीले मासुु पकाइरहनुुभएको थियो मलाई ह्वास्स गन्हायो । बाहिर निस्केकी मात्रै थिएँ, बाटैमा भेट भयो— कमसरी सुुनुुवार, उमेर ३७, बालबच्चा सातजना । पहिलो बच्चा २० वर्षको, सातौँ बच्चा चार महिनाको । बच्चालाई कम्मलले लपेटेर उनी हिँडिरहेकी थिइन् । उनीसँग उनकै जीवनबारे कुरा गर्न मन थियो, तर भात खाने निम्तो आयो । आजको रात यहीँ बस्छुु अनि सोध्छुु भनेर खाना खान गएँ । भातको पहिलो गास मुखमा राखेकी मात्रै थिएँ, अलि परबाट एउटा आवाज सुनियो, ‘कार्यक्रम नहुने भयो ।’ गाउँभरिका सबै मान्छे गाडी खसेको ठाउँमा पुगिसकेका छन् । 

चपाउनु कि ओकल्नुका बिचमा रहेर मनले भन्यो, केही त भयो ? साथमा हुनुुहुन्थ्यो दाङका कवि दीपक समीर र दिलीप बुढामगर । उहाँहरू खाना खाएर कुरा गरिरहेका आयोजक भएको ठाउँमा जानुुभयो । म भने के भयो होला भनेर सोचेर बसिरहेँ । एकैछिनमा सबै आँगनमा जम्मा हुुनुुभयो र भन्नुभयो— पुुथा गाउँपालिकाका उपाध्यक्ष भुुपेन्द्रा बुढामगर, उहाँकी आमा र पुुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष जसबहादुुर श्रीर्पालीको सडक दुुर्घटनामा परी असामायिक निधन भयो । गाउँ स्तब्ध भयो । कोलाहल लागिरहेको ठाउँ एकै छिनमा सुुनसान भयो । सजाइएको मञ्चका ब्यानर र तोरण सब निकालिए । आकाश उसै रोइरह्यो । एकै छिनमा रिल घुुमेझैँ समय घुुम्यो । 

उनेको माला बोकेर हामी पनि श्रद्धाञ्जलीका लागि सिस्ने गाउँपालिका फर्कन तयार भयौँ । जाँदा साना साना लागेका पहाडहरू फर्कंदा अति अग्ला लागे । मनै त रहेछ, कसरी सोच्ने भन्ने कुरामा । गाउँले एक अभिभावक गुमायो । केही गर्छु भन्ने सक्षम नारी गुमायो तर पनि मान्छेसँग सहनुुको विकल्प हुँदैन रहेछ । चुुपचाप चुुपचाप आँखा भिजाएर हामी झोला बोकेर फर्कियौँ, भुुँगे गाउँपालिका हुुँदै सिस्ने गाउँपालिकातिर । बाटोमा आरु, स्याउ खाइयो तर स्वाद पाइएन । सबै कस्तो अपरिचित जस्तै भयौँ । सबै चुुपचाप सबै शून्य । लामो यात्रा र तनावले थाकेका हामी सुुत्ने तयारीमा थियौँ तर स्मारिकालाई डायरिया र बान्ता सुुरु भयो, लगातार भयो । हामी सुुत्नै सकेनौँ । २९ गते नै थियो, सुुमन स्मारीकाको जन्मदिन । बिहान झिसमिसेमै दीपक शर्मा सर दाङ फर्कनुुभयो । मनोज भाइ र भोजराज घोरासैनी सुुर्खेत फर्कनुुभयो । हामीले पनि गाडीको टिकट दिउँसो १ बजेका लागि भनेका थियौँ, तर स्मारिका बिरामी भएका कारण हामी टिकट क्यान्सिल गरेर त्यहीँ बस्न बाध्य भयौँ । बिरामीलाई आराम गर्न लगाएर म, आयोजक निमा, भावना मिलेर गयौँ कमलताल । त्यहाँको सांस्कृतिक पक्ष अचम्मको छ । कति दोहोरी गाउन सक्छन् तर म न पूूर्वको न पश्चिमको, हिन्दी गाना सुुनेर हुर्केकीलाई ताली बजाउनबाहेक केही आएन । साँझमा बिरामीलाई फ्रेस गराउन जन्मदिन मनायौँ । गीत गायौँ नाच्यौँ । केही समयको सुखले कही समयको दुुःखलाई बिर्साउने रहेछ भन्ने तथ्य फेला पार्‍यौँ । उर्मिलाको दोहोरी, जमुुनाको चुपचापपन, भावनाको बोलिरहने बानी अनि निमाको संघर्षको कथा सुुनेर लागिरह्यो— कति हतास नहुने, कति विचलित नहुने मान्छे हुन् यिनीहरू । भोलिका दिनमा केही सिक्ने र सिकाउने मान्छे पाए भने साहित्यमा धेरै नारी स्रष्टा जन्माउन रुकुुमपूर्व सफल हुनेछ । 

भोलिपल्ट हामीलाई काठमाडौँ हुँदै हेटौँडा पुुग्नुु थियो । बिहान झिसमिसेमै हिँड्न मन थियो तर गाडी नपाएकाले खाना खाएर मात्रै १ बजेको गाडी चढ्यौँ, फर्कदा साथमा आउनुभएको थियो, भावना खड्का । बाटोमा ड्राइभर भाइहरूले रक्सी खाएको देखेर हामीले ओर्लने निर्णय गर्‍यौँ । त्यसमध्ये एकदमै कम खानेले बस चलाए । मनमा कैयौँ पहिरो झरे । कैयौँ ठाउँमा ओर्लन मन भयो । कैयौँपटक मनले रुक भन्यो तर पनि घर फर्कनुु थियो । कैयौँपटक पहिरो झरे, कैयौँपटक बस रोकिए, कैयौँपटक आफैँ मरेको कल्पनामा डुुबिरहन बाध्य भइयो । कैयौँपटक आफैँले ढोका खोलेर भाग्नुुपर्‍यो । जाँदा राति थियो, बाटो देखिएन, फर्कंदा उज्यालो थियो, बाटो देखियो । बाटोको जीवन देखियो । बाटोमा सरकार देखियो । बाटोमा जनता देखियो । बाटोमा कैयौँका आफन्तको यादहरू देखिए । कैयौँको काख रित्तिएका झझल्कोहरू भेटिए । जाँदा लागेको थियो, तपाईंले निर्माण गर्नुभएको बाटो केही वर्षमा भत्किन्छ, त्यसैले लगानी भाषा–साहित्यमा गर्नु तर फर्कंदा लाग्यो— ज्यान बाँचे साहित्य लेखिएला या लेख्लान् तर बजेट बाटो बनाउन खर्च गर्नु । मन न हो, एक हप्ताको यात्राले परिर्वतन गरिदियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिता न्यौपाने
अनिता न्यौपाने
लेखकबाट थप