विराटनगरका १३ वडामा क्षति, अत्यावश्यक सेवा सुरु
सारांश
- विराटनगरमा जेनजी आन्दोलनका कारण महानगरपालिकाका १३ वटा वडामा क्षति पुगेको छ।
- महानगरले अत्यावश्यक सेवाहरूलाई निरन्तरता दिँदै, पुनर्निर्माणका लागि स्थानीय संघसंस्थाहरूसँग छलफल थालेको छ।
- आगामी दिनमा शनिबार पनि सेवा सुचारु गर्ने र दसैँपछि महानगर पुरानै अवस्थामा फर्किने अनुमान गरिएको छ।
विराटनगर । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा विराटनगर महानगरपालिकाका १३ वटा वडामा क्षति पुगेको छ । यद्यपि महानगरपालिकाले बिस्तारै सेवा प्रवाहलाई सामान्य बनाउने प्रयास थालेको छ ।
महानगर उपप्रमुख शिल्पा निराला कार्कीका अनुसार, महानगर कार्यालय र अधिकांश वडामा भौतिक क्षति पुगे पनि स्वास्थ्यजस्ता अत्यावश्यक सेवा रोकिएको छैन । अन्य अत्यावश्यक कामलाई प्राथमिकतामा राखेर सेवा सुचारु गरिएको उनको भनाइ छ ।
‘हामीले घटना भइरहँदा पनि २३ र २४ गते स्वास्थ्य सेवा बन्द गराएनौँ । रानीबाट दिइने स्वास्थ्य सेवा सुचारु नै थियो,’ उनले भनिन्, ‘यद्यपि, २५ र २६ गते महानगरमा कुनै पनि काम हुन सकेन ।’
हाल महानगरले अति आवश्यक सेवाहरूलाई पहिलो प्राथमिकतामा राखेको छ । उपप्रमुख कार्कीले विदेश जाने विद्यार्थी वा नागरिकका लागि चाहिने सिफारिस, स्वास्थ्य उपचारका लागि आवश्यक कागजात र अन्य तत्काल गर्नुपर्ने काम रोकिएको छैन । ‘हामीले मात्रै सेवा दिएर नहुने, जिल्ला प्रशासन कार्यालयसम्म पुग्नुपर्ने सिफारिसजस्ता प्रक्रियागत काम रोकिएका हुन सक्छन्, तर नागरिकका अति जरुरी कामलाई हामीले अहिले पनि गरिरहेका छौँ,’ उनले भनिन् ।
आन्दोलनका क्रममा महानगरका १९ वडामध्ये १३ वटा वडा कार्यालयमा क्षति पुगेको छ । ६ वटा वडामा भने कुनै क्षति भएको छैन । उपप्रमुख कार्कीका अनुसार ४, ५, ६, ११ र १९ नम्बर वडा आगजनीबाट पूर्ण क्षति भएको छ भने अन्य वडामा तोडफोड गरी भौतिक सामग्रीमा नोक्सान पु-याइएको छ ।
क्षतिग्रस्त वडाहरूमा सेवा प्रवाह सहज बनाउन तत्कालका लागि प्रत्येक वडालाई दुईवटा डेस्कटप र एउटा प्रिन्टर उपलब्ध गराइएको छ । ‘हामीले वडाहरूलाई सेवा सुचारु गर्न निर्देशन दिइसकेका छौँ र आजदेखि नै वडाहरूमा आवश्यक कामहरू सुरु भएका छन्’, उनले भनिन् ।
महानगरले आफ्ना सबै शाखाबाट क्रमशः सेवा विस्तार गर्ने योजना बनाएको छ । आजदेखि राजस्व शाखाको काम सुरु भएको छ भने पर्सिदेखि कानुन शाखाबाट दिइने सेवा पनि सुचारु गरिनेछ । कृषि शाखाबाट किसानलाई आवश्यक पर्ने मल, बिउजस्ता सेवा पनि नरोकिने उपप्रमुख कार्कीले स्पष्ट पारिन् । दसैँपछि महानगर पूर्ण रूपमा पुरानै अवस्थामा फर्कन सक्ने उनको अनुमान छ ।
आगजनी र तोडफोडका कारण आर्थिक भार परे पनि नागरिकले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता र कर्मचारीहरूको दसैँ भत्ता लगायतका सुविधामा कुनै कटौती नगरिने उपप्रमुख कार्कीले प्रस्ट पारिन् । ‘हामीले नागरिक र कर्मचारीले पाउने कुनै पनि सेवा–सुविधा कटौती गरेर पुनर्निर्माण गर्दैनौँ’, उनले भनिन्, ‘यसका लागि महानगरको विपद् व्यवस्थापन कोष प्रयोग गर्ने र अन्य योजनाको बजेट कटौती गरेर भए पनि व्यवस्थापन गर्नेछौँ ।’
महानगरको पुनर्निर्माणका लागि स्थानीय उद्योगी, व्यवसायी र संघसंस्थाहरूसँग छलफल सुरु गरिएको छ । उपप्रमुख कार्कीले भनिन्, ‘यो विराटनगर बनाउने अभियान हो, हामी सबै मिलेर यो संकटबाट पार पाउनुपर्छ भनेर हामीले सहयोगको लागि अपिल गरेका छौँ ।’
उपप्रमुख कार्कीले आगामी दिनमा शनिबार (सार्वजनिक बिदामा) पनि काम गरेर सेवा प्रवाहलाई सुचारु गर्न लागेको जानकारी दिइन् । ‘हामी शनिबारको बिदामा पनि काम गरेर सेवालाई छिटोभन्दा छिटो सुचारु गर्न लागिपरेका छौँ । तपाईं हाम्रो साथले नै हामी फेरि महानगरलाई पुरानै लयमा फर्काउन सक्छौँ,’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण