मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

कार्यविधि विपरीत गृहमन्त्री अर्यालले बनाए पौडेललाई काठमाडौँको प्रमुख जिल्ला अधिकारी

शुक्रबार, १० असोज २०८२, २० : ०५
शुक्रबार, १० असोज २०८२

सारांश

  • गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँका प्रमुख जिल्ला अधिकारी परिवर्तन गर्दा कार्यविधि मिचेको आरोप लागेको छ।
  • मन्त्री अर्यालले छवि रिजाललाई हटाएर पौडेललाई काठमाडौँको प्रमुख जिल्ला अधिकारी बनाएका हुन्।
  • पौडेल यसअघि कुनै जिल्लाको प्रमुख जिल्ला अधिकारी नभएको र कार्यविधिले अनुभव खोजेको छ।

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँको प्रमुख जिल्ला अधिकारी परिवर्तन गर्दा ‘प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा काम काज खटाउने सम्बन्धी (दोस्रो संशोधन कार्यविधि, २०८०’ लत्याएको पाइएको छ ।

मन्त्री अर्यालले मन्त्रीस्तरीय निर्णय गर्दै बुधबार साँझ काठमाडौँमा प्रमुख जिल्ला अधिकारी रहेका छवि रिजाललाई मन्त्रालयमा तानेर ईश्वर राज पौडेललाई रिजालको स्थानमा पठाएका थिए ।

पौडेललाई काठमाडौँको प्रमुख जिल्ला अधिकारी बनाउने निर्णय कार्यविधिको ४ नम्बरमा रहेको ‘प्राथमिकता दिइने’ शीर्षकको (ख) विपरीत छ । त्यसमा लेखिएको छ, ‘काठमाडौँ उपत्यकाका जिल्लामा पदस्थापन वा सरुवा गर्दा वा काज खटाउँदा ‘ख’ र ‘ग’ वर्गका जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारी भई अनुभव हासिल गरिसकेको अधिकृतलाई’ भनेर लेखिएको छ ।

CDO Karyabidhi

तर, गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखाको रेकर्डअनुसार पौडेल अहिलेसम्म कुनै जिल्लाको पनि प्रमुख जिल्ला अधिकारी भएका छैनन् । पौडेल २०७५ साउन १४ गतेदेखि २०७६ चैत १२ गतेसम्म अध्यागमन विभागको महानिर्देशक भने भएका थिए । केही समय मन्त्रालयमा बसे पनि अहिलेसम्म कुनै जिल्लाको प्रमुख जिल्ला अधिकारी भएको रेकर्ड नरहेको गृह मन्त्रालयका एक सहसचिवले जानकारी दिए ।

पौडेललाई गृहमन्त्री अर्यालले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट तानेर काठमाडौँको प्रमुख जिल्ला अधिकारी बनाएका हुन् ।

यसअघिका गृहमन्त्री रमेश लेखकले भक्तपुरको प्रमुख जिल्ला अधिकारीमा नमराज घिमिरेलाई सरुवा गर्दा पनि कार्यविधि मिचेका थिए । घिमिरेसँग त गृहमा काम गरेको अनुभव नै छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप