एमसीए–नेपालद्वारा ३१५ किमि विद्युत् प्रसारण लाइनका सबै खण्डको निर्माण सम्झौता
सारांश
- एमसीए-नेपालले एमसीसी परियोजना अन्तर्गत ११७ किलोमिटर विद्युत प्रसारण लाइन निर्माणको लागि सम्झौता गरेको छ।
- यो सम्झौतासँगै एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत ३१५ किलोमिटर प्रसारण लाइन निर्माणको सम्झौता सम्पन्न भएको छ।
- आशिश-बोज्लर संयुक्त उपक्रमले काठमाडौं, नुवाकोट र मकवानपुरमा सबस्टेशनसम्म प्रसारण लाइन निर्माण गर्नेछ।
काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले एमसीसी नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजना अन्तर्गत निर्माण गरिने विद्युत् प्रसारण लाइनको ११७ किमि खण्डको निर्माण सम्झौता गरेको छ ।
यो सम्झौतासँगै एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत निर्माण गर्न लागिएको ३१५ किमि विद्युत् प्रसारण लाइन निर्माणसम्बन्धी सम्पूर्ण सम्झौता सम्पन्न भएको छ । कम्प्याक्ट कार्यान्वयनका सन्दर्भमा यो महत्त्वपूर्ण हो ।
आशिश–बोज्लर संयुक्त उपक्रमले काठमाडौँ जिल्लामा निर्माणाधीन लप्सिफेदी सबस्टेशनबाट नुवाकोट जिल्लामा निर्माणाधीन रातमाटे सबस्टेशन हुँदै मकवानपुर जिल्लामा निर्माणाधीन नयाँ हेटौँडा सबस्टेशनसम्मको ११७ किमि प्रसारण लाइन निर्माण गर्नेछ ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खरिद प्रक्रियाबाट एमसीए–नेपालले प्रदान गरेको उक्त ठेक्का करिब ७६६.५० लाख अमेरिकी डलरको रहेको छ । यस सम्झौता अन्तर्गत उक्त ४०० केभी प्रसारण लाइनको डिजाइन, स्थापना, परीक्षण तथा सञ्चालन लगायतका काम गरिनेछ ।
एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र आशिश–बोज्लर संयुक्त उपक्रमका प्रतिनिधि निर्माण गौलीले आज एक समारोहबिच एमसीसी र एमसीए–नेपालका पदाधिकारीहरूको समुपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए ।
हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन एल. फ्रान्सिस्कोले भने, ‘यस सम्झौतामा भएको हस्ताक्षरले नेपाल कम्प्याक्ट कार्यान्वयनमा भइरहेको उल्लेख्य प्रगतिको प्रतिनिधित्व गर्छ । यो उपलब्धि यस महत्त्वपूर्ण प्रसारण लाइनको सफलतापूर्ण निर्माण तथा नेपाली जनताको भावी विकास एवं समृद्धिका लागि एमसिए–नेपालको गहन प्रतिबद्धता तथा लगनशीलताको परिणाम हो ।’
एमसीए–नेपालका कार्यकारी निर्देशक विष्टले भने– ‘आज आशिश–बोज्लर संयुक्त उपक्रमसँग यो सम्झौतामा हस्ताक्षर गरेर एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका सन्दर्भमा एमसीए–नेपालले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । विद्युत् प्रसारण आयोजना अन्तर्गत विद्युत् प्रसारण लाइनका सबै खण्डको निर्माणसम्बन्धी सम्झौता सम्पन्न हुनु महत्त्वपूर्ण उपलब्धि हो ।’
एमसीए–नेपालले नुवाकोट जिल्लामा निर्माणाधीन रातमाटे सबस्टेशनदेखि तनहुँ जिल्लामा निर्माणाधीन नयाँ दमौली सबस्टेशनसम्मको, उक्त सबस्टेशनदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा निर्माणाधीन नयाँ बुटवल सबस्टेशनसम्मको र त्यहाँदेखि नेपाल–भारत सीमासम्म गरी १९८ किमि विद्युत् प्रसारण लाइन निर्माणका लागि सम्झौता यस अघि नै गरिसकेको छ ।
यसका अतिरिक्त रातमाटे सबस्टेशन, नयाँ दमौली सबस्टेशन र नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी सम्झौता पनि भइसकेको छ ।
एमसीसी नेपाल कम्प्याक्ट निजी क्षेत्रबाट लगानी अभिवृद्धिका लागि सकारात्मक वातावरण सिर्जना गर्दै नेपालको दीर्घकालीन आर्थिक विकासका लागि प्रदान गरिएको ऐतिहासिक सहायता हो ।
विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजना कार्यान्वयन गरी महत्त्वपूर्ण पूर्वाधार सुदृढीकरण, सीमापार ऊर्जा व्यापार अभिवृद्धि र नेपालको यातायात सञ्जालमा सुधार गरेर अन्तर आवद्धता विस्तार गर्दै आर्थिक वृद्धिमा टेवा पुर्याउने उद्देश्य एमसीसी नेपाल कम्प्याक्टले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुहारमा चोट लागेका माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियो
-
उपाधि दाबेदार इंग्ल्याण्डलाई रोक्न सक्ला त ‘डार्क हर्स’ नर्वेले ?
-
गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी
-
एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
-
बुद्धचित्त माला व्यवसायीमाथि लुटपाट आरोपमा दुतराज पक्राउ
-
नेपालमा लगानी प्रवर्द्धनका लागि आबुधाबीमा 'नेपाल–युएई आर्थिक साझेदारी' कार्यक्रम सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण