बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

पर्सा प्रहरीको विशेष सुरक्षा योजना : १० मिनेटभित्र एक्सन

शनिबार, ११ असोज २०८२, ११ : ३७
शनिबार, ११ असोज २०८२

सारांश

  • पर्सा प्रहरीले चाडपर्वलाई लक्षित गरी सुरक्षा योजना बनाएको छ, जसमा ११०० प्रहरी परिचालन गरिनेछ।
  • प्रहरीले मुख्य बजार, चोक, संवेदनशील क्षेत्र, मठमन्दिर, बैंक तथा वित्तीय संस्थाको सुरक्षामा विशेष ध्यान दिनेछ।
  • खुला सिमाना र आपराधिक गतिविधि नियन्त्रणका लागि योजनाबद्ध रूपमा प्रहरी परिचालन गरिनेछ, र १० मिनेट भित्र घटनास्थलमा पुग्ने व्यवस्था मिलाइएको छ।

वीरगन्ज । पर्सा प्रहरीले चाडपर्व सुरक्षा योजना तयार पारेको छ । दसैँ, तिहार, छठ लगायतका पर्वलाई मध्यनजर गर्दै प्रहरीले यो सुरक्षा योजना तयार पारेको जनाएको छ । 

असोज ६ गतेदेखि लागू भइसकेको सुरक्षा योजनाअनुसार कुनै पनि आपराधिक गतिविधिलाई कानुनी दायराम ल्याउन १ हजार १०० प्रहरी खटाइएको पर्सा प्रहरी प्रमुख सुदीपराज पाठकले जानकारी दिए । 

उनका अनुसार मुख्य बजार, चोक, संवेदनशील क्षेत्र, मठमन्दिर, बैंक, वित्तीय संस्थाको सुरक्षाका लागि बेग्लै टोली समेत परिचालन गरिएको छ । 

चाडपर्वमा हुने लुटपाटजन्य घटनालाई निस्तेज गर्न प्रहरीले सिसिटिभी क्यामेराबाट निगरानी गर्नुका साथै शङ्कास्पद व्यक्तिको निगरानी र सूचना सङ्कलनसहितका कार्य गरिरहेको समेत उनले बताए । 

उनले भने, ‘चाडपर्व लक्षित सुरक्षा योजना लागू भइसकेको छ, ११ सय प्रहरी परिचालित छन् । कुनै पनि घटनाको जानकारी प्राप्त भएको १० मिनेटमा प्रहरी त्यहाँ पुग्नेछ । त्यसका लागि  क्विक रेस्पोन्स टिम (क्यूआरटी) टोली तयार गरिएको छ ।’ 

जिल्लाभरिका १४ वटै पालिका तथा खुला सिमानालाई लक्षित गरी त्यसअनुरुप रणनीति बुनिएको पर्सा प्रहरीले प्रस्ट्याएको छ । खुला सिमाना रहेकाले आन्दोलनमा लुटपाट गरिएको हतियारको दुरुपयोग हुन सक्ने उच्च जोखिम रहेको पर्सा प्रहरीको विश्लेषण छ । त्यसकारण आपराधिक गतिविधि रोक्न तथा कुनै पनि अप्रिय घटना हुन नदिका लागिका लागि योजनाबद्ध रूपमा प्रहरी परिचालन गरिएको बताइन्छ । 

प्रहरी प्रमुख पाठकले भने, ‘चाडपर्वको बेला कुनै पनि आपराधिक गतिविधि हुन दिइने छैन, अपराध गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याइन्छ । नागरिकलाई सुरक्षाको प्रत्याभूतिका लागि कुनै कसर बाँकी राखिँदैन ।’

उनका अनुसार आपराधिक गतिविधि नियन्त्रणका लागि अहिले जिल्लाभरिमा गस्ती बढाएको छ । मोबाइल गस्ती, पेट्रोलिङ, सरप्राइज चेकिङ तथा सादा पोसाकमा व्यापक सङ्ख्यामा जिल्लाभरि प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ । 

पर्सा जिल्ला खुला सिमानासँग जोडिएको जिल्ला भएकोले चोरी, लुटपाट र ओपन बोर्डर यहाँका सुरक्षा चुनौती हुन् । यी तीन वटै सुरक्षा चुनौतीलाई विश्लेषण गरेर त्यही अनुरूप प्रहरी परिचालन गरिएको एसपी पाठकले सुनाए । 

गुण्डागर्दी, लुटपाट, धाकधम्की दिनेहरूलाई तत्काल कानुनी दायराम ल्याउने उनको चेतावनी छ । ‘अझ जेनजीको नाममा आपराधिक गतिविधि गर्ने जोसुकैलाई पनि कानुनी कठघरामा उभ्याइनेछ,’ उनले भने, ‘कानुन उल्लङ्घन गर्ने सबै दोषी हुन, दोषीलाई कारबाही गर्नबाट प्रहरी ब्याक हुँदैन । चाहे मेरो जागिर जाओस् ।’ कुनै घटना भए तत्काल १०० नम्बरमा खबर प्रहरीले आग्रह गरेको छ । 

१०० नम्बरमा फोन आएको १० मिनेटभित्रमा प्रहरी घटनास्थलमा जाने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप