बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
कला

कलाकार विनोद लिम्बुले सम्झेका र सिँगारेका पहाडहरू

शनिबार, ११ असोज २०८२, १८ : ००
शनिबार, ११ असोज २०८२

सारांश

  • काठमाडौंमा विनोद लिम्बुको एकल कला प्रदर्शनी सम्पन्न भयो, जसमा उनले प्रकृतिलाई कलाको माध्यम बनाएका थिए।
  • प्रदर्शनीमा लिम्बुले पहाड, वन र बसाइँसराइको विषयलाई चित्रण गरेका थिए, जसमा उनको मौलिकता झल्किएको थियो।
  • लिम्बुको कलामा निकोलस रोयरिकको झल्को पाइन्छ, र उनले प्रकृतिलाई विभिन्न तरिकाले प्रस्तुत गरेका छन्।

काठमाडौँस्थित सिद्धार्थ ग्यालरीमा भर्खरै (अगस्ट २० देखि सेप्टेम्बरको १० सम्म) विनोद लिम्बुको एकल कला प्रदर्शनी सम्पन्न भयो । ‘बिटविन द अर्थ एन्ड आइदर’ नाम दिइएको यस कला प्रदर्शनीमा विनोदले विशेषतः प्रकृतिलाई गलैँचाजस्तो मुलायम बनाउँदै त्यसमाथि स–साना रेखा खेलाएर रहरलाग्दा दृश्य बनाएका छन् । झट्ट हेर्दा प्रदर्शन कक्षभरि हरियोभन्दा अन्य कुनै रङले चलखेल गर्न सकेको छैन, गर्न पाएको देखिँदैन ।

उनका चित्रमा उहिले ज्वालामुखी फुटेपछि बनेका पहाडहरू, लटरम्म फुलेका धानबारी वा गहुँबारी र खोला–बगरमा झुलिरहेका खरका घारी देख्न सकिन्छ । मानिसहरू पहाडबाट बेसी झर्दै गर्दा पहाडका जमिनहरू बाँझो बन्दै गएको पनि देख्न सकिन्छ । उहिले–उहिले यस्तो हुन्थ्यो भन्ने कलाकारको विचारलाई पनि अवलोकन गर्न सकिन्छ । अहिले यी सब नासिँदै गएका छन् । आफ्नो संस्कृति र भाषाबाट विमुख हुँदै थाहा छैन हामी कता जाँदै छौँ भन्ने कलाकारको दुखेसो पनि अवलोकन गर्न सकिन्छ । यसरी यी चित्रमा उनका विचार पनि गाँसिएर आएका छन् ।

उनका चित्रमा पहाडहरूको लस्कर र हरिया झाडीहरू निकै मनोरम देखिन्छन् । सिँगार्ने क्रममा (डेकोरेटिभ फर्मको सन्दर्भमा) यी चित्र उसै पनि सौन्दर्यतामा वशीभूत हुन पुगेका छन् । कतै यी चित्र मनमोहक देखिन्छन् भने कतै यी चित्रले चासो र गुनासो बोकेको जस्तो पनि देखिन्छ । गुनासो वा चासो यस अर्थमा कि उनले प्रश्न गरेका छन्— हाम्रो मौलिकता निरन्तर किन रहिरहन सकेन ? यहाँ उनले हरियालीलाई एउटा प्रतीकात्मक विम्बका रूपमा ल्याएका हुन्, जसले शान्त वातावरणलाई जनाउँछ । 

लयात्मक सौन्दर्यताले भरिएका यी चित्रका बारेमा उनी यसो भन्छन्— हरियोपन नै मेरा चित्रहरूको मुटु हो । हरियालीको सन्दर्भले चिसो, शीतल अनि शान्त वातावरणको पनि प्रतिनिधित्व गर्छ नै ।

विनोद काठमाडौँपूर्व दमकबाट अध्ययन गर्न काठमाडौँ उपत्यका छिरे । अध्ययनकै क्रममा उनले एउटा अलग्गै कलागत शैलीलाई समाते, सँगसँगै कलामा स्नातकोत्तर समेत गरे । अरूले गरिरहेको तरिकाबाट कला कोर्दिनँ भन्ने अठोट गरे । नभन्दै अलग्गै पाराले कला बनाउँदै जाँदा उनका चित्र अलग्ग बन्दै गए । आफ्नै बाल्यकालमा देखे–भोगेका हरिया रुख–बिरुवा र घना वनलाई चित्रमा उतार्ने कोसिस गरे । 

दन्त्यकथाजस्तै सुन्दै आएको उहिलेको संस्कृतिको सुगन्धलाई अहिले नातिका पालामा आइपुग्दा झ्वाट्टै बिर्संदाको मर्म पनि उनले कलामा पोख्न खोजेका हुन् । यति मात्र होइन, यही विम्बलाई उनले आजको मान्छेसँग ‘कनेक्ट’ गर्न खोजेका छन् । यी चित्रमा उनले अनेक गरेर मान्छे र प्रकृतिबिच ‘इको सिस्टम’लाई कायम गरेका छन् । मान्छे एक ठाउँबाट अन्तै सर्दै जाँदा रुख–बिरुवा पनि कसरी नाश हुँदै जाँदो रहेछ भन्नेलाई पनि उनले कलामा देखाउन खोजेका छन् । मान्छेको बसाइँ–सराइका सन्दर्भ उनका चित्रमा आएका छन् । प्रकृतिविनाको मान्छे वा मान्छेविनाको प्रकृति सम्भवतः आजको अवस्थामा अर्थ राख्दैन । यसैले उनी भन्छन्, ‘पहिलेको प्रकृति र दिनचर्या अहिलेका लागि आस्थाको केन्द्र हुने गर्छ । भविष्यमा यस्तै हुन्छ कि हुँदैन थाहा छैन, तापनि सम्भावनाको आशा गर्नैपर्‍यो ।’ 

IMG_20250827_120701

प्रकृति र मानिसलाई उनले आफ्नो कलाको मुख्य विषय बनाएका छन् । अर्थात् यही नै उनको कलागत पहिचान बनेको छ । हरिया–भरिया गाउँघरका खेतका गरा, कान्ला, घना हरिया वन, खोला, बगर र पहाडका खोल्साखोल्सी उनको क्यानभासमा उत्रिएका छन् । यसरी ‘फिल्ड’ नामक चित्रको सिरिज नै बनेको छ । 

यस्तै अर्को सिरिजको नाम छ— ‘इस्टर्न हिल, जसलाई उनले ‘भर्जिन हिल’ पनि भनेका छन् । यसै सिरिजमा माछापुच्छ«ेदेखि मुस्ताङ आदि बनेका छन् । यस्तै ‘फोरेस्ट’, ‘रुट्स’ र ‘ग्रिन–मण्डला’ नामका सिरिज चित्र उनले बनाएका छन् । ‘फोरेस्ट’ सिरिजमा ‘सिटी बियोन्ड द फोरेस्ट’, ‘द फोरेस्ट बिहाइन्ड द फिल्ड’ आदि नामका चित्र छन् । यी सबैमा हरियाली कतै न कतै घुसेकै छ । कलालाई कलात्मक बनाउन उनले घामछायालाई नाटकीय ढङ्गले प्रयोग गरेका । यसरी अङ्कन पद्धतिको गहिराइ, गहन विचार अनि आफ्नो मौलिकताका सवाललाई उठाइरहँदा उनका कलाले अझ उचाइ लिएको छ । यसले गर्दा पनि उनको कला अलि अलग्गै संरचनामा देखिन गएका छन् । 

सिँगार्ने क्रममा (डेकोरेटिभ फर्मको सन्दर्भमा) यी चित्र उसै पनि सौन्दर्यतामा वशीभूत हुन पुगेका छन् । कतै यी चित्र मनमोहक देखिन्छन् भने कतै यी चित्रले चासो र गुनासो बोकेको जस्तो पनि देखिन्छ । गुनासो वा चासो यस अर्थमा कि उनले प्रश्न गरेका छन्— हाम्रो मौलिकता निरन्तर किन रहिरहन सकेन ?

यी चित्र दृश्यचित्र नै हुन् । तथापि यी चित्र सामान्य दृश्यचित्रभन्दा अलग छन् । दृश्यचित्रलाई विशेषतः झलक्क हेर्दा राम्रो देखिने गरी बनाइन्छ । विनोद भने अलि पृथक् हुन खोजे । उनले दृश्यचित्र नै बनाए तर पृथक् । यही उनको अलग्गै पहिचान बन्यो । उनका चित्रमा कलागत शैली, प्रवृत्ति र विचार पनि अलग्गै देखिन्छन्, जुन उनको एक अलग्गै कलागत ‘सिग्नेचर’ हो । 

थोरै यथार्थपरक उनका कलामा अलिकति आधुनिकता, अलिकति अमूर्तता देख्न सकिन्छ । घना हरियो वनलाई दुरुस्त बनाउन खोज्दा उनको कला यथार्थवादीजस्तो देखिन्छ भने त्यसैमाथि बुट्टाहरू बनाउन खोज्दा आधुनिकजस्तो देखिन्छ । यसैमाथि सपाटपन अर्थात् ‘टेक्स्चर’को प्रयोग गर्दा चित्रहरू अमूर्त रूपमा पनि देखिन गएका छन् । 

IMG_20250827_121413

यसपालि प्रदर्शनमा राखिएका उनका चित्रलाई धेरैले मन पराए । धेरै भावकले कुतूहलताका साथ उनका कलालाई अवलोकन गरे । चित्रहरू साइजमा स–साना छन् तर धेरै समय लगाएर बनाइका हुन् । यी चित्रमा उनको मिहिनेत राम्रैसँग देखिन्छ । मूल्य ठिकै राखेकाले चित्रहरू बिक्री पनि भए । 

साना–मसिना रेखाहरूले उनका चित्रलाई सरल बनाएका छन् । उनले चित्रमा निश्चित अङ्कन पद्धति अपनाएर त्यसलाई निरन्तरता दिएका छन् । उनले साना–मसिना तुलिकाघातलाई जतनसँग क्यानभासमा उतारेका छन् । धैर्यताका साथ स–साना रेखालाई क्यानभासमा बिछ्याउँदा पनि उनका कला अद्भुत देखिएका हुन् । उनी यसरी सार्वजनिक भएको पहिलोपल्ट भने होइन, उनले यसअघि (सन् २०२३ मै) आफ्नो एकल कला प्रदर्शनी गरिसकेका छन् । 

ध्यान गरेजस्तो गरी कला कोरिबस्ने बानीले गर्दा उनले गतिला कला सिर्जना गरेका छन् । आजका युवा कलाकारहरू आफ्नो जीविकोपार्जनका लागि अन्य के–के काम गर्न भ्याउँछन् । यो मामलामा विनोद भने एकाग्र भएर कलाको सिर्जना गर्न व्यस्त देखिन्छन् । पछिल्ला केही महिनादेखि काठमाडौँमा हुने गरेका हरेकजसो सामूहिक कला प्रदर्शनीमा उनका चित्र समावेश भएकै छन् । सर्लक्कै अलग्ग देखिने उनका चित्रले हरेक प्रदर्शनीमा अलग्गै स्थान बनाएको देखिन्छ । 

मैले उनलाई सोधेको थिएँ— यति विस्तार (डिटेल) मा चित्रहरू बनाउँदा समय कति लाग्यो ? उनले सहज पाराले जवाफ दिए, ‘दिनमा पाँच घण्टा काम गर्छु अनि यो मुस्ताङको चित्र (साइज २४ बाइ ४८ इन्च) सक्न चाहिँ एक महिना लागेको थियो ।’ 

अरू साना चित्रहरू (८ बाइ ८ इन्चका) लाई पनि दिनको पाँच घण्टा दिएर उनले साता दिन जतिमा बनाएका रहेछन् । यीभन्दा साना (पाँच बाइ पाँच इन्च) चित्र पनि उनले प्रदर्शनीमा राखेका थिए, यी साना चित्र नै बढी बिक्री भए । 

IMG_20250827_121427

नेपाली परम्परागत पौभा वा थाङ्का चित्रमा मात्र हामीले बन्ने समयको कुरा गर्छौं, जुन परम्परागत कलाहरू महिनौँ लगाएर बनाइन्छ । समसामयिक कला वा दृश्यचित्रहरूमा भने समयको कुरा गरिँदैन । किनकि प्रकृतिमै गएर बनाइने जलरङ्गी दृश्यचित्र त दुई–तीन घण्टामै सकिन्छ । समय दिएर बनाएकाले विनोदका यी चित्र फरक देखिन पुगेका हुन् । अझ विचार समेत मिसिएका दृश्यचित्र अझ महत्त्वका साथ देखिन्छन् । 

हिजोआज विशेष गरेर नवयुवा कलाकारले आफ्ना पुर्खालाई बढी सम्झेको देखिन्छ । मेरो बाबुबाजेको पालामा यस्तो अवस्था थियो, आमाबज्यैले यस्ता पेसा गर्थे, आज हामी परजीवी भयौँ, बिदेसिन बाध्य भयौँ आदि सन्दर्भ नै उनीहरूका कलामा प्रायः देखिन्छन् । विनोदको विचार पनि यसभन्दा पर छैन । विनोदको चिन्ता पनि गाउँघरतिरका वन, हरियाली र बसाइँसराइले त्यसमा पारेको प्रभावमा केन्द्रित छ । 

  • निकोलस रोयरिक र विनोद

रुसबाट एकजना निकोलस रोयरिक नाम गरेका कलाकार भारत आएका थिए । उनी फर्केर कहिले आफ्नो देश गएनन्, उनको मृत्यु भारतमै ७३ वर्षको उमेर (सन् १९४७) मा भएको थियो । सन् १८७४ मा जन्मेका रोयरिक चित्रकार, लेखक, आर्कियोलोजिस्ट, फिलोसफर आदि अनेकौँ विधामा प्रख्यात थिए । भारतका पहाड र हिमालका चुचुराले उनलाई यसरी लोभ्याए कि उनी जीवनभर भारतका पहाड चहारेर बसे । ‘सिम्बोलिक स्टाइल’बाट प्रभावित भएका कारण उनका पहाड, हिमालहरू ‘डेकोरेटिभ फर्म’मा देखिन्थे । उनले हिमशृङ्खलाको सौन्दर्यतालाई आफ्नै अलग्गै पारामा लयात्मक रूपले बगाउँदै प्रकृतिलाई आफ्नो क्यानभासमा उतार्ने गर्थे, जुन सामान्य दृश्यचित्रभन्दा नितान्त अलग्गै देखिन्थ्यो । उनका यस्तायस्तै अलग्गै पहिचानका चित्रले भारतका कैयौँ कला सङ्ग्रहालयमा शोभा बढाइरहेका छन् । 

IMG_20250827_121519

यतिखेर विनोदका यी चित्रले रोयरिकका लयात्मक र प्रतीकात्मक सौन्दर्य बोकेका चित्र सम्झाउँछन् । कलाकारले प्रकृतिलाई किसिम–किसिमले हेरेका हुन्छन् । प्रकृतिलाई अनुभूत गरी आफ्नै ढङ्गले तिनलाई भाँच्दै र खुम्च्याउँदै स्वैर काल्पनिकतामा अनेक प्रकारका दृश्यचित्र उतार्ने कलाकार संसारमा थुप्रै छन् । आधुनिक कलाको इतिहास हेर्ने हो भने यस्तायस्तै प्रयोगात्मक प्रयास विश्वभर नै देखिन्छन् । कलाका लागि प्रकृति सदा गुरु बनेको छ, माध्यम बनेको छ । पछिल्लो समय आएर त प्रकृतिलाई पात्र बनाएर कला निर्माण हुन थालेका छन् । यही प्रकृतिको अनेकानेक भूमिकाको सन्दर्भलाई विनोदले प्रयोग गर्न खोजेको देखिन्छ । 

विनोदको पुर्ख्यौली थलो पूर्वको पाँचथर हो । जागिरका सिलसिलामा उनका बुवा धेरैतिर सरुवा भए, विनोद पनि बुवासँगै धेरैतिर गए । उनको परिवार पाँचथरदेखि २०५८ सालतिर झापाको दमकमा बसाइँ सरेको हो । सायद यसकारण विनोदका कलामा घरीघरी ‘बसाइँसराइ’को प्रसङ्ग आउँछन् । उनका क्यानभासमा लोभलाग्दा पहाड र जङ्गलहरू समेत उत्रिएका छन्, सायद यी पहाड पाँचथरतिरका होलान् ।

उनी ठान्छन्— पहाडबाट यता मधेसतर्फ भर्न थालेपछि पहाडमा खेतीबारी र करेसाबारी बाँझिए, बगरतिर देखिने खरको प्रयोग हुन छाडे । त्यसैले उनका चित्रमा खरको झाडी सलबलाउँदै उठ्दै गरेको देखिन्छ । 

(मल्ल कलाकार र कला समीक्षक हुन् । )

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप