कक्षा १–५ सम्म आन्तरिक परीक्षा स्थगन सरकारको कार्यसूचीमा मात्रै
सारांश
- सरकारले कक्षा १ देखि ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा प्रणाली बन्द गर्ने घोषणा गरे पनि केही विद्यालयले अटेर गर्दै आएका छन् ।
- विद्यालयहरूले 'टेष्ट', 'प्रोजेक्ट वर्क' वा वस्तुगत प्रश्न सोध्ने बहानामा परीक्षा लिइरहेको अभिभावकहरूको गुनासो छ ।
- शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ४ र ५ मा पनि शतप्रतिशत निरन्तर विद्यार्थी मूल्याङ्कन कायम गरेको जनाएको छ ।
काठमाडौँ । सरकारले कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि लिइँदै आएको आन्तरिक परीक्षा प्रणाली पूर्ण रूपमा बन्द गर्ने घोषणा गरे पनि केही विद्यालयले सरकारको निर्णय अटेर गर्दै आएका छन् ।
केही विद्यालयले ‘टेष्ट’ को नाममा परीक्षा तालिका नै सार्वजनिक गरी प्रथम त्रैमासिक परीक्षा लिन थालेका छन् ।
अभिभावकहरूका अनुसार विद्यालयहरूले टेष्ट, प्रोजेक्ट वर्क, वस्तुगत प्रश्न सोध्ने नाममा आन्तरिक परीक्षा लिने गरेका छन् । उनीहरूले अन्य कक्षा (कक्षा ६–१०) को आन्तरिक परीक्षा हुँदा त्यही समयमा साना कक्षाका विद्यार्थीको पनि परीक्षा लिँदै आएको बताएका छन् ।
काठमाडौँको एक विद्यालयकी अभिभावक सीता उप्रेतीले भनिन्, ‘खोई, परीक्षा नलिने त भन्नुहुन्छ । छोरीलाई कक्षा ४ मा भर्ना गर्दा पनि प्रवेश परीक्षा गराउनुभयो । अब साउनका लागि परीक्षाको समयतालिका पनि आइसकेको छ ।’
यसअघि कक्षा १ देखि ३ सम्म निरन्तर विद्यार्थी मूल्याङ्कन कार्यान्वयन भए पनि यो पटकदेखि कक्षा ४ र ५ मा पनि शतप्रतिशत निरन्तर विद्यार्थी मूल्याङ्कन कायम भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।
‘शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’ मार्फत् प्राथमिक तहका विद्यार्थीहरूले परम्परागत शैलीको लिखित परीक्षाको दबाब झेल्नु नपर्ने भनिए पनि यो निर्णय पूर्णतः कार्यान्वयन हुन सकेको छैन । त्यतिमात्रै होइन, केही निजी विद्यालयले कक्षामा भर्नाका लागि प्रवेश परीक्षासमेत लिने गरेका छन् ।
शासकीय सुधारको कार्यसूचीको बुँदा नम्बर ८९ मा भनिएको छ, ‘कक्षा ५ सम्मका विद्यार्थीहरूलाई आन्तरिक परीक्षा लिने कार्य आगामी शैक्षिक सत्रदेखि बन्द गर्ने । उनीहरूलाई मनोवैज्ञानिक असर र दबाब नपर्ने खालको मूल्याङ्कन प्रणालीबारे विकल्प तयार गर्ने ।’
पाठ्यक्रम विकास केन्द्रले आधारभूत तह कक्षा १ देखि ३ र कक्षा ४ देखि ५ मा विद्यार्थी मूल्याङ्कन मार्गदर्शन २०८३ जारी गरेको छ । कक्षा १–३ मा विद्यार्थी मूल्याङ्कनलाई सिकाइ क्रियाकलापको अभिन्न अङ्गका रूपमा कक्षा क्रियाकलापसँगै एकीकृत गरी सिकाइ सुधारमा निरन्तर प्रयोग गर्नुपर्ने भनिएको छ ।
सरकारको तथ्याङ्क अनुसार देशभर ७६ हजार ७३१ विद्यालय छन् । जसमध्ये ५८ हजार आठ सय १७ सामुदायिक, १५ हजार ९६३ संस्थागत र एक हजार ९५१ धार्मिक विद्यालय छन् ।
निजी विद्यालयहरूको छाता संगठन प्याब्सनका महासचिव आरबी कटुवालले सरकारको यो निर्णय कार्यान्वयनको चरणमा रहेको बताए । उनले भने, कक्षा ५ सम्मका विद्यार्थीलाई आन्तरिक परीक्षा सञ्चालन नगर्ने निर्णय कार्यान्वयन गर्छौं । कुनै विद्यालयले अभिभावकको माग पनि पूरा गर्नुभएको होला । कतिपय विद्यालयमा अभिभावकले परीक्षा सञ्चालन गर्नुपर्छ भनेर भन्नुभएको कारण पनि त्यसो भएको हुन सक्छ, तर सरकारको निर्णय कार्यान्वयन गर्छौं ।’
केही विद्यालयले आन्तरिक मूल्याङ्कनको क्रममा बस्तुगत प्रश्नहरू सोध्ने गरेको भए पनि परीक्षानै भनेर नलिएको उनले बताए ।
कक्षा १–५ विद्यार्थी मूल्याङ्कन मार्गदर्शनमा के छ ?
पाठ्यक्रम विकास केन्द्रले आधारभूत तह कक्षा १ देखि ३ र कक्षा ४ देखि ५ मा विद्यार्थी मूल्याङ्कन मार्गदर्शन २०८३ जारी गरेको छ । कक्षा १–३ मा विद्यार्थी मूल्याङ्कनलाई सिकाइ क्रियाकलापको अभिन्न अङ्गका रूपमा कक्षा क्रियाकलापसँगै एकीकृत गरी सिकाइ सुधारमा निरन्तर प्रयोग गर्नुपर्ने भनिएको छ ।
सिकाइ उपलब्धि र तिनको विस्तृतीकरण तयार गरी सोहीअनुसार सम्भाव्य मूल्याङ्कन विधि, प्रक्रिया र साधनको तयारी गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ । मार्गदर्शन अनुसार दैनिक कक्षा क्रियाकलापसँगै विद्यार्थीको सिकाइको लेखाजोखा गरी सिकाइमा पछि परेका विद्यार्थीलाई सुधारात्मक सिकाइ प्रक्रियाद्वारा निर्धारित न्यूनतम सिकाइ सुनिश्चित गर्नुका साथै सबै विद्यार्थीलाई थप तथा माथिल्लो स्तरको सिकाइका लागि अवसर प्रदान गर्नुपर्छ ।
मार्गनिर्देशन अनुसार विद्यार्थीको सिकाइ स्तरको मूल्याङ्कन गर्दा मूलतः विद्यार्थीले विभिन्न सिकाइ क्षेत्रमा अपेक्षित सिकाइ उपलब्धि हासिल गरे वा नगरेको परीक्षण गर्नुपर्छ । विद्यार्थीको मूल्याङ्कनमा यथाशक्य वास्तविक कार्य समावेश गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ ।
विद्यार्थीको कक्षाकार्य, परियोजना कार्य, उपलब्धि परीक्षा, विद्यार्थीमा आएको व्यावहारिक परिवर्तनको अवलोकन, हाजिरी आदिका आधारमा कार्यसञ्चयिका अद्यावधिक गर्नुपर्ने उल्लेख छ ।
विद्यार्थीको सिकाइको मूल्याङ्कनमा विषयगत सिकाइ क्षेत्रमा अपेक्षित ज्ञान, बुझाइ, प्रयोग तथा आवश्यकतानुसार विश्लेषण, मूल्याङ्कन र सिर्जनालगायतका उच्च क्षमता परीक्षण गर्न उपयुक्त साधन तथा प्रक्रिया प्रयोग गर्नुपर्ने विषय समेटिएको छ । मूल्याङ्कनका क्रममा आवश्यक व्यवहारकुशल सिप प्राप्तिमा विद्यार्थीले हासिल गरेका सक्षमताको पनि लेखाजोखा गरी आवश्यकतानुसार सिकाइ क्रियाकलापमा सुधार गर्नुपर्ने उल्लेख छ ।
मार्गदर्शनमा मूल्याङ्कन पश्चात कुनै विद्यार्थीले अपेक्षित नतिजा प्राप्त गर्न नसकेमा सुधारात्मक शिक्षण सिकाइको प्रक्रियाअनुरुप विद्यार्थीको सिकाइ सुधार सुनिश्चित गर्नुपर्ने उल्लेख छ । पटकपटकको सुधारात्मक शिक्षण सिकाइ प्रक्रियाबाट पनि न्यूनतम सिकाइ उपलब्धि हासिल गर्न नसक्ने विद्यार्थीका लागि उपचारात्मक शिक्षणको प्रबन्ध गर्नुपर्ने विषय मार्गदर्शनमा समेटिएको छ ।
यस्तै, कक्षा ४–५ मा निश्चित समयावधिमा विद्यार्थीको सिकाइ लेखाजोखा गर्ने नभई नियमित तथा कक्षा क्रियाकलापको अङ्गका रूपमा मूल्याङ्कनलाई प्रयोग गर्नुपर्ने भनिएको छ । कक्षाकोठामा सिकाइ क्रियाकलापको योजना तथा सञ्चालन निर्धारित सिकाइ उपलब्धि प्राप्त गर्न सक्ने किसिमले गर्नुपर्ने विषयमा मार्गदर्शनले जोड दिएको छ ।
विद्यार्थीको कक्षाकार्य, परियोजना कार्य, उपलब्धि परीक्षा, विद्यार्थीमा आएको व्यावहारिक परिवर्तनको अवलोकन, हाजिरी आदिका आधारमा कार्यसञ्चयिका अद्यावधिक गर्नुपर्ने उल्लेख छ ।
विद्यालयमा पठनपाठन भएका विषयवस्तु र विद्यार्थीको उपलब्धिका बारेमा प्रत्येक महिना वा निश्चित विषयवस्तु वा विषय क्षेत्रको अध्ययन पूरा गरेपछि अभिभावकलाई जानकारी पठाउने व्यवस्था गरी त्यसको अभिलेख व्यवस्थित गर्नुपर्ने विषय निर्देशिकामा उल्लेख छ । निर्देशिका अनुसार कक्षा ४ र ५ मा सिकाइ सहजीकरणका क्रममा विद्यार्थीको नियमित मूल्याङ्कनका लागि प्रयोग गर्न सकिने तरिका र साधनहरूमा कक्षा सहभागिता, लिखित र मौखिक कार्य, परियोजना कार्य, व्यवहार अवलोकन, विद्यार्थी कार्यको प्रदर्शन, घटनावृत्त अभिलेख, स्व र सहपाठी मूल्याङ्कन, अभिभावकको प्रतिक्रिया छन् ।
सिकाइ उपलब्धि हासिल गर्न नसकेको, सिकाइ उपलब्धिका लागि सुधारात्मक सिकाइ आवश्यक भएमा विद्यार्थीको उपलब्धिस्तर आधारभूतभन्दा कम भएको मानिनेछ । निर्देशिका अनुसार विद्यार्थीले सिकाइ उपलब्धि आंशिक रूपमा हासिल गरेको तर सुधारात्मक सिकाइ आवश्यक भए उपलब्धिस्तर आधारभूत मानिनेछ । यस्तै सिकाइ उपलब्धि धेरैजसो हासिल गरेको भए उपलब्धिस्तर दक्ष र सिकाइ उपलब्धि पूर्ण हासिल गरेको भए उपलब्धिस्तर उच्च भएको मानिनेछ ।
सरोकारवाला के भन्छन् ?
शिक्षा तथा खेलकुद मन्त्रालयका सूचना अधिकारी बीरबहादुर धामीले यसअघि कक्षा १–३ मामात्रै निरन्तर विद्यार्थी मूल्याङ्कन हुने गरेकोमा अब कक्षा ४–५ मा पनि निरन्तर विद्यार्थी मूल्याङ्कन हुने जानकारी दिए । यसले गर्दा विद्यार्थीमाथि हुने मनोवैज्ञानिक अवरोध घट्ने उनको भनाइ छ ।
धामीले भने, ‘मार्गदर्शनमा स्पष्ट रूपमा निरन्तर विद्यार्थी मूल्याङ्कनका आधारहरू समेटिएको छ । कसैलाई उत्तीर्ण वा अनुत्तीर्ण भन्न मिल्दैन । मार्गदर्शनलाई आधार मानी एउटा पाठ सकेपछि त्यसको प्रस्तुतिकरण, कक्षा कार्य लगायतका मूल्याङ्कनका आधार बनाउँदा उपयुक्त हुन्छ ।’
यस विषयमा दाङको तुलसीपुर उपमहानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत मनबहादुर खड्काले पाठ्यक्रम विकास केन्द्रले तयार पारेको मार्गनिर्देशन कार्यान्वयन गरिएको बताए । उनले भने, ‘निजी विद्यालयहरूलाई आन्तरिक मूल्याङ्कन गर्न ओरियन्टेसन गरेका छौँ । मूल्याङ्कन पुस्तिकालाई पूर्णतः कार्यान्वयन गर्छौं ।’
उनले मार्गनिर्देशन कार्यान्वयन गर्न संस्थागत विद्यालयका प्रधानाध्यापकको बैठकसमेत राखिसकिएको बताए ।
अभिभावक संघका पूर्वअध्यक्ष सुप्रभात भण्डारी परीक्षाको नाममा अभिभावकमाथि आर्थिक शोषण गर्न नहुने बताउँछन् । उनले भने, ‘विद्यालयहरूले कक्षा १ देखि ५ सम्म परीक्षा लिने कुरा सरकारको नीतिगत निर्णयको अवज्ञा हो । यस विषयमा अनुगमन, नियमन र कारबाही हुनुपर्छ । परीक्षाको नाममा पैसा असुल्नु अभिभावकमाथि आर्थिक शोषण हो । विद्यार्थीको मूल्याङ्कन प्रश्नपत्र दिएर उत्तर लेख्न लगाउनुमात्रै होइन । आधुनिक ढंगबाट पनि मूल्याङ्कन गराउनुपर्यो नि ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा जग्गाको विषयमा विवाद हुँदा एक जनाको हत्या, बाबु-छोरा पक्राउ
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण