मधेसमा आज ‘बेलनौत’ गरिँदै
सारांश
- आज महोत्तरीमा दशहारा पर्वको अवसरमा 'बेलनौत' विधि गरिँदैछ, जुन मैथिल समुदायको परम्परा हो।
- यस विधिमा देवी दुर्गाको प्रतिमाको आँखा खोल्न बेलको फल प्रयोग गरिन्छ, जसलाई षष्ठी तिथिमा निम्ता गरिन्छ र सप्तमीमा प्रयोग गरिन्छ।
- मिथिला क्षेत्रमा दशहारा पर्वको चहलपहल बढेको छ, जहाँ माटोबाट बनेका देवीका प्रतिमाहरू स्थापना गरिन्छन्।
महोत्तरी । मधेसमा आज दशहारा पर्वको ‘बेलनौत’ गरिँदैछ । शारदीय नवरात्र र दशहारा भनिने दसैँ पर्वको षष्ठी तिथिमा ‘बेलनौत’ गरिने मैथिल परम्परा छ ।
असोज शुक्ल प्रतिपदादेखि नवमीसम्मका नौ दिनको नवरात्र भए पनि यसपालि चौथी (चतुर्थी) तिथि दुई दिन पर्दा १० दिनको नवरात्र भएको छ । यसअनुसार छैटौँ दिन षष्ठी तिथिमा सम्पन्न गरिने ‘बेलनौत’ यसपालि सातौँ दिनमा परेको हो ।
नवरात्रको षष्ठी तिथिका दिन ‘बेलनौत’ विधिको मिथिला परम्परा छ । पर्वका अवसरमा माटो मुछेर बनाइएका देवी दुर्गाका प्रतिमाका आँखा उघार्ने प्रयोजनका लागि ‘बेलनौत’ विधि आयोजना गरिन्छ । यसैगरी देवी शक्तिपीठ र मन्दिरमा पनि ‘बेलनौत’ विधिको बेल पूजास्थलमा राखिने मैथिल चलन छ ।
यहाँ दशहारा (बडादसैँ) पर्वमा माटो मुछेर बनाइएका देवी प्रतिमाका आँखा सप्तमीका दिन खोल्न (उघार्न) बेल (फल)को भेट्नो प्रयोग गरिने परम्परा छ । यसका लागि एक दिनअघि षष्ठी तिथिका दिन मध्याह्नपछि देवी प्रतिमास्थलबाट बाजागाजासाथ बस्ती नजिकको बेलको रुखमा चढेर एउटा बेल फललाई रातो रुमालले बाँध्ने विधिलाई मिथिलामा ‘बेलनौत’ भन्ने गरिन्छ । ‘नौत’ भनेको निमन्त्रणा गरिनु हो । यसअनुसार आज षष्ठीका दिन यही विधि उल्लासमय वातावरणमा सम्पन्न गर्ने परम्परा रही आएको छ ।
षष्ठीका दिन वैदिक मन्त्रोच्चारणसहित निम्ता गरेर बाँधिएको बेलको फल भेट्नुसहित सप्तमीका दिन बिहानै टिपेर सोही फलको भेट्नुले प्रतिमाको आँखा कोट्याएर उघार्ने गरिन्छ । देवी प्रतिमाको आँखा उघार्न शास्त्रले पवित्र मानेको बेल फलको भेट्नो प्रयोग गर्ने परम्पराअनुसार सो प्रयोजनका लागि बेलको फललाई निम्ता गर्ने भाव यो विधिमा रहेको मैथिल परम्परा र कर्मकाण्डका ज्ञाता बताउँछन् । मिथिलामा आँखा उघारिएपछि माटो मुछेर बनाई स्थापित गरिएका देवी प्रतिमा पूर्ण सजीव भएको मानिने बर्दिबास–२ का महेशकुमार झा बताउछन् ।
सप्तमीका दिन एक दिनअघि निम्ता गरिएको बेलको फल भेट्नोसहित टिपेर ल्याई पुरोहित ब्राह्मणले भेट्नोले खोस्रेर प्रतिमाको आँखा उघारिदिएपछि मात्र देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिन्छ । सप्तमीका दिन बिहान एक दिनअघि निम्ता गरिएको बेल टिप्न पनि बाजागाजासाथ पुग्ने चलन छ । बेल टिप्ने यो विधिलाई ‘बेलतोडी’ भनिन्छ ।
दशहरा पर्वका अवसरमा मिथिला क्षेत्रका अधिकांश बस्तीमा देवी प्रतिमा बनाइएका छन् । ‘बेलनौत’ विधि सम्पन्न गरिने तयारीमा मैथिल (मिथिलाका बासिन्दा) जुटेसँगै पर्वको चहलपहल निकै बढेको छ ।
पर्व विशेषमा माटो मुछेर बनाइएका प्रतिमाबाहेक अघिदेखि नै काठ वा धातुका देवी प्रतिमा स्थापित भएका मन्दिरमा आँखा उघार्ने विधि नभए पनि निम्ता गरिएको बेल फल टिपेर ल्याई देवी प्रतिमा नजिक राख्ने चलन छ । पर्व विशेषमा बनाइएका देवी प्रतिमा विजयादशमीका दिन धार्मिक महत्वका नदी वा गहिरो तलाउमा विसर्जन गरिने परम्परा छ । यसलाई मिथिलामा मूर्ति भसाउने भनिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
-
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
-
खण्डहर देउवा निवासमा टाँसियो अख्तियारले आरजुलाई बयानमा बोलाएको पत्र, तस्बिरहरू
-
युद्धकालीन उच्चबिन्दुभन्दा ३५ डलर तल झर्यो तेल
-
आगामी मौद्रिक नीतिका लागि उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको १२ बुँदे सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण