शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

इरानमा मुद्रा परिमार्जन, चार शून्य हटाउने संसद्को निर्णय

सोमबार, २० असोज २०८२, १६ : ०२
सोमबार, २० असोज २०८२

सारांश

  • इरानको संसदले राष्ट्रिय मुद्राबाट चार शून्य हटाउने प्रस्ताव स्वीकृत गरेको छ।
  • उच्च मुद्रास्फीतिले गर्दा आर्थिक कारोबारलाई सजिलो बनाउन यो निर्णय लिइएको हो।
  • यो परिवर्तन लागू गर्न २ वर्ष र संक्रमणकालका लागि ३ वर्ष लाग्नेछ।

तेहरान । इरानको संसद्ले राष्ट्रिय मुद्राबाट चार शून्य हटाउने प्रस्तावलाई स्वीकृति दिएको छ । वर्षौदेखिको उच्च मुद्रास्फीतिपछि आर्थिक कारोबारलाई सजिलो बनाउन यो निर्णय गरिएको हो । यसको अर्थ १० हजार पुरानो रियाल बराबर अब एक रियाल हुनेछ । 

वर्षौदेखि इरानमा महँगी ३५ प्रतिशत माथि छ । यसका कारण खुला बजारमा एक डलरको भाउ ११ लाख ५० हजार इरानी रियाल पुगेको छ । महँगीका कारण स्थानीय मुद्रा सस्तो हुँदा दैनिक कारोबार निकै सकसपूर्ण बनेको छ ।

संसद्माथि निगरानी गर्ने निकाय ‘गार्जियन काउन्सिल’ का आपत्तिहरू समाधान गरेपछि संसद्ले यो विधेयकलाई पारित गरेको हो । स्थानीय मुद्रा रियाल नै हुने र परिवर्तन रातारात नहुने संसद्को आर्थिक आयोगका प्रमुख शम्सोल्दिन हुसेन भनेका छन् । यो परिवर्तन लागू गर्न केन्द्रीय बैंकलाई २ वर्षको समय छ । त्यसपछि ३ वर्षको सङ्क्रमण काल रहनेछ, जहाँ पुरानो र नयाँ दुवै मुद्रा चल्नेछन् ।

‘मुद्राबाट शून्य हटाएर मुद्रा बलियो हुँदैन । यसको प्रतिष्ठा बढाउन त यसको वास्तविक मूल्य बढाउनुपर्छ’ सांसद होसैन साम्सामीले बताए । भेनेजुएला, जिम्बाबे लगायतका देशहरूले पनि मुद्रामा भएका शून्य हटाउने उपाय अपनाएका छन् । तर मुद्रास्फीति नियन्त्रण नगरी यस्ता कदमहरू सफल नहुने देखिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप