सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

उद्धार उडान मार्फत १५७ जना यात्रु काठमाडौँ आए

सोमबार, २० असोज २०८२, १९ : ३५
सोमबार, २० असोज २०८२

सारांश

  • लगातारको वर्षा र बाढीपहिरोका कारण भैरहवामा फसेका यात्रुलाई निगमको उद्धार उडानमार्फत काठमाडौं ल्याइयो।
  • दसैँ बिदा र अन्य कामका लागि भैरहवा गएका यात्रु सडक र उडान अवरुद्ध हुँदा रोकिएका थिए।
  • उडानले वृद्धवृद्धा, बिरामी र विदेश जाने यात्रुलाई प्राथमिकता दिएको थियो, भाडादर तोकिएको थियो।

काठमाडौँ । अविरल वर्षा र बाढी पहिरोका कारण भैरहवामा अलपत्र परेका यात्रुहरू नेपाल वायुसेवा निगमको विशेष उद्धार उडानमार्फत काठमाडौँ आइपुगेका छन् । 

दसैँ बिदा र विभिन्न कामका लागि भैरहवा पुगेका यात्रुहरू बदलिएको मौसमका कारण सडक र  उडान अवरुद्ध हुँदा रोकिएका थिए। सोही कारण उनीहरूको सहजताका लागि सरकारले उद्धार उडान सञ्चालन गर्ने निर्णय गरेको थियो । 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता श्याम किशोर शाहले दिउँसो ३:४५ बजे काठमाडौँबाट भैरहवामा अवतरण गरेको नेपाल एयरलाइन्सको न्यारो बडी ए-३२० विमानले ७६ जना यात्रु लिएर आएको बताए। सोही विमानले १५७ जना यात्रु बोकेर राति काठमाडौँ फर्किएको उनको भनाइ छ । 

भैरहवाबाट काठमाडौँ आएका एक यात्रुले सरकारको कार्य अत्यन्त प्रशंसनीय भएको बताए । सरकारले उद्धार उडानमा अशक्त, वृद्ध वृद्धा, बिरामी, वैदेशिक रोजगारीमा जानुपर्ने र अत्यावश्यक यात्रुहरूलाई प्राथमिकता दिइएको प्रवक्ता शाहले जानकारी दिए । भाडादर काठमाडौँबाट भैरहवाका लागि रु. ५,००० र भैरहवाबाट काठमाडौँका लागि रु. ७,००० तोकिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप