शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मोटोपनाले बढाउन सक्छ अल्जाइमरको खतरा

मङ्गलबार, २१ असोज २०८२, ०६ : ३७
मङ्गलबार, २१ असोज २०८२

सारांश

  • वैज्ञानिकहरूले मोटोपनाले अल्जाइमर जस्ता गम्भीर रोगहरूको जोखिम बढाउन सक्ने चेतावनी दिएका छन्।
  • मोटोपनाले मस्तिष्कका कोशिकाहरूलाई क्षति पुर्याउन सक्ने र स्मरण शक्ति कमजोर बनाउन सक्ने अध्ययनले देखाएको छ।
  • स्वस्थ आहार, नियमित व्यायाम र सक्रिय जीवनशैलीले अल्जाइमर जस्ता रोगहरूबाट बचाउन सक्छ।

काठमाडौँ । अहिलेको भागदौडपूर्ण जीवनमा मोटोपन सामान्य समस्या बनिसकेको छ । हाम्रा आसपास अत्यधिक मोटोपनाबाट पीडितहरूको संख्या बढ्दै गइरहेको छ । 

यसले हाम्रो मुटु, कलेजो र जोर्नीहरूलाई त असर गर्छ नै । यो हाम्रो दिमागको लागि पनि खतरनाक हुन सक्ने चेतावनी हालै वैज्ञानिकहरूले दिएका छन् । मोटोपनले अल्जाइमर जस्ता गम्भीर रोगहरूको जोखिम बढाउन सक्ने हालैको एक अध्ययनले पत्ता लगाएको छ ।

शरीरमा रहेको फ्याट टिस्यु अर्थात् बोसोको तन्तुले शरीरमा बोसो त थुपारेर राख्छ नै यसले शरीरका अलग–अलग हिस्साहरूसँग पनि सञ्चार गर्छ । कुनै व्यक्ति मोटोपनबाट ग्रस्त हुन्छ भने फ्याट टिस्युले मस्तिष्कमा यस्ता रसायनीक संकेत पठाउँछन् जसले मस्तिष्कका कोशिकाहरूलाई क्षति पुर्‍याउन सक्छन् । 

यी सङ्केतहरूले गर्दा मस्तिष्कमा एमाइलोइड–बी नाम गरेको प्रोटिन जम्मा हुन थाल्छन् । यो प्रोटिनले बिस्तारै स्मरण शक्ति र सिकाइलाई कमजोर बनाउँदै लैजान्छ । यो प्रोटिनलाई अल्जाइमर रोगको प्रमुख कारण मानिन्छ ।

ब्लड–ब्रेन ब्यारियरलाई समेत पार गर्न सक्छ खतरा

सामान्यतया, हाम्रो मस्तिष्क ब्लड–ब्रेन ब्यारियर नाम गरेको सुरक्षात्मक पर्खालद्वारा सुरक्षित हुन्छ । तर मोटोपनको अवस्थामा यी हानिकारक भेसिकलहरूले यो ब्यारियरलाई पार गरेर जान्छ । यस्तो हुनुको अर्थ शरीरमा जम्मा भएको बोसो अब पेट वा तिघ्रामा मात्रै सीमित हुँदैनन्, यो मस्तिष्क भित्र गहिराइसम्म पुग्न सक्छ र मस्तिष्कलाई क्षति पुर्याउन सक्छ । यो खोजले यही देखाउँछ कि मोटोपना र मस्तिष्क बिच गहिरो जैविक सम्बन्ध रहेको छ । अहिलेसम्म यसलाई विज्ञानले स्पष्ट रूपमा बुझाउन सकेको थिएन ।

‘अल्जाइमर र डिमेन्सियाः द जर्नल अफ द अल्जाइमर एसोसिएसन’मा प्रकाशित यो अध्ययन वैज्ञानिक स्टीफन वाग र उनको टोलीद्वारा गरिएको थियो । अमेरिका सहित धेरै देशहरूमा मोटोपनलाई अब डिमेन्सियाको प्रमुख कारणहरू मध्ये एकमा समावेश गर्न सकिने पनि उनीहरूको भनाइ छ । मोटो र सामान्य तौल भएका व्यक्तिहरूको भेसिकलमा लिपिड (बोसोका अणुहरू)को संरचना फरक हुन्छ । यो भिन्नताले मस्तिष्कमा एमाइलोइड–बी प्रोटीन कति चाँडो जम्मा हुन्छ भनेर निर्धारण गर्दछ । प्रयोगशाला मुसा र मानव फ्याट नमुनामा गरिएको परीक्षणमा यो प्रभाव स्पष्ट रूपमा अवलोकन गरिएको थियो ।

मोटोपना नियन्त्रण गरेर अल्जाइमरलाई रोक्न सकिएला ?

भविष्यमा, यी सूक्ष्म–सन्देशवाहकहरूलाई निशाना बनाएर तिनीहरूको हानिकारक सङ्केतहरूलाई रोक्न सकियो भने अल्जाइमर जस्ता रोगहरूको जोखिम कम गर्न सकिनेमा शोधकर्ताहरू विश्वस्त छन् । यस अध्ययनले मोटोपना शरीरको लागि मात्र नभएर दिमागको लागि पनि खतरा भएको सन्देश दिएको छ । 

स्वस्थ आहार, नियमित व्यायाम र सक्रिय जीवनशैलीले शरीरलाई पातलो त राख्छ नै स्मरण शक्ति र मानसिक स्वास्थ्यलाई पनि बलियो बनाउँछ । समग्रमा आफ्नो तौल नियन्त्रण गर्न सक्यौँ भने हामी अल्जाइमर जस्ता गम्भीर रोगहरूबाट एक कदम टाढा हुन सक्छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप