बोर्डले किन गोप्य राख्छ ‘रियल टाइम बक्सअफिस’ ?
सारांश
- चलचित्र विकास बोर्डले 'रियल टाइम बक्सअफिस' लागु गरे पनि फिल्मको व्यवसायबारे आधिकारिक तथ्याङ्क सार्वजनिक हुन सकेको छैन।
- निर्माता र वितरकले आ-आफ्नो फिल्मले राम्रो व्यवसाय गरेको दाबी गरिरहेका छन्, तर बोर्डले बक्सअफिस रिपोर्ट गोप्य राखेको छ।
- फिल्मकर्मीहरूले रिपोर्ट पारदर्शी बनाउन माग गरेका छन्, भने बोर्डले यस विषयमा छिट्टै निर्णय लिने जनाएको छ।
काठमाडौंँ । करिब तीन महिना अघि अर्थात् असार १६ गते चलचित्र विकास बोर्डले ‘रियल टाइम बक्सअफिस’ लागु गर्यो । बोर्डको २५ औँ वार्षिकोत्सवका अवसर पारेर ‘रियल टाइम बक्सअफिस’ तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङबाट उदघाटन गरिएको थियो ।
देशभर सञ्चालित १६७ वटै हलमा बक्सअफिस जडान भइसकेको र दुई मिनेटभित्रै फिल्मको व्यवसाय थाहा पाउन सक्ने बताइएको थियो । तर अहिलेसम्म पनि फिल्मको व्यवसायबारे आधिकारिक तथ्याङ्क उपलब्ध हुन सकेको छैन । कुनै पनि फिल्मको व्यवसाय सम्बन्धित निर्माता र वितरकले जे भन्छन्, त्यो पत्याउनुपर्ने अवस्था छ । निर्माता तथा वितरकले आफू अनुकूल रिपोर्ट सार्वजनिक गर्दै आएका छन् ।
उदाहरणका रूपमा दसैँको अवसर पारेर फूलपातीदेखि प्रदर्शनमा आएका तीन नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’लाई लिन सकिन्छ । ती फिल्म प्रदर्शनमा आएको दोस्रो सातामा प्रवेश गर्दासम्म पनि कुन फिल्मको व्यवसाय कस्तो रह्यो भन्ने हरहिसाब आधिकारिक रूपमा बाहिरिएको छैन ।
तीन वटै फिल्मका निर्माण पक्ष यतिवेला आ–आफ्नो फिल्मले राम्रो व्यवसाय गरेको दाबी गर्दै आएका छन् । यद्यपि यकिन हिसाब गर्न बाँकी रहेको उनीहरूको तर्क छ ।
फिल्मको वास्तविक व्यवसाय बक्सअफिस रिपोर्टले देखाउँँछ । तर ‘रियल टाइम बक्सअफिस’ नेपालको हकमा ‘हात्ती आयो, हात्ती आयो, फुस्सा’ भनेझैँ भएको छ । किनभने चलचित्र विकास बोर्डले ‘रियल टाइम बक्सअफिस’ सम्बन्धित फिल्मकर्मीलाई मात्र उपलब्ध गराएर अन्यको हकमा लुकाउँदै आएको छ ।
आखिर किन गोप्य राखिन्छ ‘रियल टाइम बक्सअफिस’ ?
चलचित्र विकास बोर्डका सदस्य तथा प्रवक्ता सन्तोष लोहनी बोर्डले यसबारे ठोस निर्णय गर्न नसक्दा ‘रियल टाइम बक्सअफिस’ नियमित सार्वजनिक हुन नसकेको बताउँँछन् । केही दिनभित्र बोर्ड बैठकबाट यस विषयमा निर्णय गर्ने लोहनीको भनाइ छ ।

‘कतिपय फिल्मकर्मी रिपोर्ट सार्वजनिक गर्नु हुँदैन भन्छन् । धेरैले छिटै सार्वजनिक हुनुपर्ने माग गर्दै आएका छन्’, लोहनीले भने, ‘यस विषयमा फिल्मकर्मीहरूले चाहेको अथवा सबैले खोजेको जस्तो कसरी दिन सकिन्छ भनेर बोर्डले केही दिनभित्र टुङ्गो लगाउनेछ ।’
यस विषयमा बोर्डले छिटै निर्णय गर्न चाहे पनि दसैँका कारण केही सदस्य उपत्यका बाहिर भएकाले ढिलो हुन गएको उनको धारणा छ ।
‘अहिले गोप्य राख्नुको कारणचाहिँ के हो ?’ भन्ने प्रश्नमा लोहनीले भने, ‘कतिपय निर्माता गोप्य राख्नुस् भन्छन् । कतिपयले बाहिर ल्याउनुपर्ने माग गर्छन् ।’
यस विषयमा बोर्डले अब नियमित सार्वजनिक गर्ने नियम बनाउने लोहनीले जानकारी दिए ।
बोर्डले दसैँमा रिलिजमा आएका तीन फिल्म ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’को दुई दिनको बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको थियो । तीनमध्ये दुई फिल्म ‘माइतीघर’ र ‘बलिदान’को निर्माण पक्षले आफ्नो फिल्मको व्यवसायमा असर पुग्ने भन्दै बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको विषयमा विरोध जनाएपछि बोर्डले बन्द गरेको थियो ।
लोहनी बक्सअफिस रिपोर्ट बोर्डले लुकाउने नियत नराखेको स्पष्ट पार्छन् । विदेशमा पनि बक्सअफिस रिपोर्ट तुरुन्त सार्वजनिक हुने गरेको बताउने लोहनीले त्यहाँका सिस्टम र उदाहरण हेरेर एउटा नियम बोर्डले बनाउने प्रस्ट पारे । ‘बक्सअफिस नियमित सार्वजनिक हुन्छ । कसैले विरोध गरे पनि रोकिन्न । त्यसका लागि एउटा नियम र मापदण्ड बन्छ,’ लोहनीले भने ।
के भन्छन् फिल्मकर्मी ?
चलचित्र विकास बोर्डले ‘रियल टाइम बक्सअफिस’ रिपोर्ट कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल भैरहेको बताउँदा फिल्मका लेखक सामिप्य राज तिमिल्सेना ‘रियल टाइम बक्सअफिस’को गोपनीयताप्रति असन्तुष्टि व्यक्त गर्छन् । उनी रिपोर्ट पारदर्शी हुनुपर्ने बताउँछन् । उनका अनुसार अहिले पनि वितरक र निर्माताले आफूखुसी दिएको रिपोर्टकै भर पर्नुपर्ने अवस्था छ ।

‘गोप्य राख्नुपर्ने त कुरा नै छैन, किनभने कार्यविधिमै सम्बन्धित पक्षले हेर्न पाउन् भनिएको छ,’ तिमिल्सेनाले भने, ‘संसारभरि नै कुन फिल्मले कति कमायो भन्ने सार्वजनिक हुन्छ ।’
उनी फिल्मलाई अन्य व्यवसायजस्तो नभएर कलाको विशेष व्यापार मान्छन् र यसमा पारदर्शिता आवश्यक रहेको तर्क गर्छन् । ‘यो नुन, तेल, चामलको व्यापार होइन । यसमा हुने लगानीको जोखिमबारे जनताले थाहा पाउनुपर्छ,’ उनले थपे ।
तिमिल्सेनाका अनुसार पारदर्शिताले बिजनेसको मोडालिटी तयार गर्न मद्दत गर्छ, किनकि यसबाट कति लगानी गर्ने र कसरी रिकभर गर्ने भन्ने आइडिया हुन्छ । उनले भने, ‘यसले कुन स्टेशनमा फिल्मको व्यापार राम्रो छ र कुनमा छैन भन्ने बजार विश्लेषणका लागि पनि महत्त्वपूर्ण डाटा उपलब्ध गराउँछ ।’ कम्तीमा हप्ता दिनमा बक्सअफिस सार्वजनिक हुनुपर्नेमा तिमिल्सेनाको जोड छ । उनले दसैँमा रिलिज भएका फिल्मका निर्माताले बोर्डको रिपोर्टमाथि प्रश्न उठाउँदा पनि बोर्डले जबाफ नदिएकोमा आश्चर्य व्यक्त गरे ।
‘मन्त्रीले एक टिकट काट्नासाथ जहाँसुकैबाट पनि हेर्न पाइन्छ भनेको दाबी किन मिलिरहेको छैन ? किन निर्माताहरूले बोर्डको बक्सअफिसलाई च्यालेन्ज गरिरहेका छन् ?’ तिमिल्सेनाले प्रश्न गरे । उनले बक्सअफिस कहिले सार्वजनिक गर्ने भन्ने मोडालिटी स्पष्ट बनाउनुपर्नेमा जोड दिए ।
कलाकार तथा निर्माता संघका अध्यक्ष नवल खड्का ‘रियल टाइम बक्सअफिस’को औचित्यमाथि नै प्रश्न उठाउँछन् । ‘यो बक्सअफिस निर्माता, वितरक र प्रदर्शकले तत्काल हेर्न पाउनुपर्ने व्यवस्था हो, तर अहिले निर्माताले मैले यति करोड क्रस गरेँ भन्दै आएका दाबीहरू कति सत्य र कति झुट हुन् भन्ने कुराको आधिकारिक जिम्मेवारी चलचित्र विकास बोर्डले लिनुपर्छ,’ उनले भने ।

‘रियल टाइम बक्सअफिस’ लागु भएपछि पब्लिकले आजको व्यापार आजै हेर्न पाइन्छ भन्ने अपेक्षा गरेका थिए, जुन पूरा भएको छैन’, खड्काले भने, ‘अहिले त झुटको खेती भइराखेको छ, जसले मुर्गा फसाउने कार्य पनि धेरै भइरहेको छ ।’
खड्का हप्ता दिनभित्र भए पनि बक्सअफिस रिपोर्ट सार्वजनिक गर्नुपर्नेमा जोड दिन्छन् । ‘आजको आजै गर्दा रिलिज फिल्मलाई घाटा भए पनि, एक हप्ताभित्र त सार्वजनिक गर्न मिल्छ । त्यो समय पिकअप हुने फिल्मले पिकअप गरिसकेको हुन्छ,’ खड्काले भने, ‘बोर्डले पारदर्शिता कायम गर्नुपर्छ र यसका लागि एउटा ठोस नीति बनाउनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण