संसद् सचिवालयमा धमाधम गाडी फिर्ता
सारांश
- संघीय संसद् सचिवालयले विभिन्न समिति र दलका नेताहरूलाई उपलब्ध गराएका २० वटा गाडी फिर्ता भएका छन्।
- दुईवटा गाडी आन्दोलनका क्रममा जलेका थिए भने ५ पूर्वपदाधिकारीमध्ये ३ जनाले मात्रै गाडी बुझाएका छन्।
- सचिवालयले सांसदहरूलाई दिएका रातो पासपोर्ट र ल्यापटप पनि फिर्ता हुने क्रममा रहेको छ।
काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका १० विषयगत समिति र दुई संयुक्त समितिका सभापति, पाँच राजनीतिक दलका प्रमुख सचेतकका साथै सचेतकलाई उपलब्ध गराएका सवारी साधन फिर्ता भएका छन् ।
संघीय संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले प्रतिनिधिसभाका विषयगत समिति र दलका प्रमुख सचेतक र सचेतकहरूलाई उपलब्ध गराइएका गाडीहरू फिर्ता भएको जानकारी दिए ।
प्रवक्ता गिरीका अनुसार अर्थ समिति समिति सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादव, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खान र कानुन न्याय तथा मानवअधिकार समिति सभापति विमला सुवेदीले संघीय संसद् सचिवालयले उपलब्ध गराएको गाडी फिर्ता गरेका छन् ।
त्यस्तै कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति कुसुमदेवी थापा, महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साह, राज्य व्यवस्था तथा सुशासन समिति सभापति ईश्वरीदेवी न्यौपाने र पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंहले पनि सचिवालयले उपलब्ध गराएको गाडी फिर्ता गरेका छन् ।
शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापा र सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले पनि गाडी फिर्ता गरेको प्रवक्ता गिरीले बताए ।
त्यस्तै संघीय संसदका दुई संयुक्त समिति (प्रतिनिधिसभा र राष्ट्रियसभा)का सभापतिले पनि सचिवालयले उपलब्ध गराएको गाडी फिर्ता गरेका छन् । दुवै समितिमा प्रतिनिधिसभा सदस्य सभापति रहेकाले उनीहरूले गाडी फिर्ता गरेका हुन् । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति सभापति ठाकुर गैरे र संसदीय सुनुवाइ समिति सभापति रामहरि खतिवडा गाडी फिर्ता गरेका छन् ।
दलका प्रमुख सचेतक र सचेतकलाई उपलब्ध गराइएका ५ गाडी फिर्ता भए, दुई गाडी जले
प्रवक्ता गिरीका अनुसार सचिवालयले विभिन्न राजनीतिक दलका प्रमुख सचेतक र सचेतक गरी ७ जनालाई गाडी उपलब्ध गराएको थियो । तीमध्ये ५ गाडी फिर्ता भए । दुई गाडी जलेको जानकारी सचिवालयमा आएको छ ।
गिरीका अनुसार सचिवालयले एमालेका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराल, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे र सचेतक रूपा शोशी चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई गाडी उपलब्ध गराएको थियो । तीमध्ये सिंहदरबारस्थित सचिवालय परिसरमा ज्ञानबहादुर शाही र सन्तोष परियारको गाडी जेनजी आन्दोलनका क्रममा जलेको गिरीले बताए ।
५ पूर्वपदाधिकारीमध्य ३ जनाले मात्रै बुझाए
संघीय संसद् सचिवालयले मन्त्रिपरिषद्को निर्णयानुसार संघीय संसद्का ५ पूर्वपदाधिकारीलाई गाडी उपलब्ध गराएको थियो । सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्ले पूर्वपदाधिकारीलाई उपलब्ध गराएका गाडी फिर्ता गर्ने निर्णय गरेपछि तीन पूर्वपदाधिकारीले गाडी फिर्ता गरेका हुन् ।
पूर्वसभामुखद्वय ओनसरी धर्ती र कृष्णबहादुर महराले सचिवालयले उपलब्ध गराएको गाडी फिर्ता गरेको जानकारी गिरीले दिए ।
सचिवालयमा राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेश तिमिल्सिनाले जिल्ला प्रशासन कार्यालय कास्कीमा आफूलाई सचिवालयले उपलब्ध गराएको गाडी बुझाएको जानकारी प्राप्त गरेको गिरीले बताए ।
*पूर्वसभामुखद्वय तारानाथ रानाभाटले सचिवालयले उपलब्ध गराएको गाडी फिर्ता गरेका छैनन् । प्रवक्ता गिरीले रानाभाट दसैँ पछाडि फिर्ता गर्ने बताए पनि अहिलेसम्म गाडी फिर्ता गरिनसकेको बताए । तर पूर्वसभामुख अग्निप्रसाद सापकोटाले भने मंगलबारको मितिमा गाडी फिर्ता गरेका छन् । उनले सचिवालयले गाडी फिर्ता भएकोबारे जानकारी गराएको हो । (*यसबारे सापकोटाको सचिवालयले प्रष्ट पारेपछि समाचार संशोधन गरिएको छ)
त्यस्तै सांसदका हैसियतमा नेताहरूले बनाएको रातो पासपोर्ट र सचिवालयबाट प्रदान गरिएको ल्यापटप पनि फिर्ता हुने क्रममा रहेको गिरीले बताए । केहीले आन्दोलनका क्रममा घर गाडी जल्दा जलेको जानकारी निवेदनमार्फत सचिवालयमा गराएको र अरूले फिर्ता गर्ते क्रम चलिरहेको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण