शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
प्रदेश

लगानी गर्न तयार छैनन् पोखराका व्यवसायी

‘भवनमात्रै जलेन, उद्यम गर्ने सोचमै आगो लगाइयो’
बिहीबार, २३ असोज २०८२, १० : १६
बिहीबार, २३ असोज २०८२

सारांश

  • पोखराका निजी क्षेत्रले आन्दोलनका क्रममा लुटपाट र आगजनी गर्नेलाई कारबाहीको माग गरेका छन्।
  • आन्दोलनका कारण व्यवसायीहरूले ठूलो क्षति व्यहोरेका छन्, र फेरि आन्दोलन हुने त्रास रहेको छ।
  • व्यवसायीहरूले क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै, सरकारलाई निजी क्षेत्रको संरक्षण गर्न आग्रह गरेका छन्।

पोखरा । आन्दोलनका क्रममा लुटपाट र आगजनी गर्नेलाई तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अघि नबढाए देशमा व्यवसाय गर्ने वातावरण नबन्ने पोखराका निजी क्षेत्रको निष्कर्ष छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा पोखराका कर्पाेरेट हाउसले ठुलो क्षति व्यहोर्नुपर्‍यो । पर्यटकीय राजधानी पोखराको होटल व्यवसायदेखि अटो व्यवसायसम्ममा आगो झोसियो । जसका कारण व्यवसायीलाई पुनः उठ्न सकस परेको छ ।

एकातिर व्यवसाय उठाउने चिन्ता छ भने अर्काेतिर पुनः आन्दोलन हुनसक्ने चिन्ताले गाँजेको छ । उनीहरूले असल माग राखेर गरिएको आन्दोलनमा घुसपैठ गरी अपराध गर्नेहरूलाई हदैसम्मको कारबाही हुनुपर्ने माग राखे ।

पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रियामा व्यवसायीहरूले आफ्ना माग संघ सरकारसम्म पुग्नुपर्ने बताए । आन्दोलनको मौका छोपी विध्वंस मच्चाउनेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनीहरूको प्रमुख माग छ । उद्योग, व्यवसायमा पुगेको क्षतिको क्षतिपूर्ति विध्वंस मच्चाउनेहरूबाटै भराउनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

भ्रष्टाचार अन्त्य, सुशासन र पारदर्शिताको मुद्दामा निजी क्षेत्रको समेत ऐक्यबद्धता रहेको भन्दै उनीहरूले त्यसका नाममा तोडफोड समाधानको विकल्प नहुने बताए ।

पर्यटन क्षेत्रका युवा व्यवसायी प्रतीक पहारी जनआक्रोश जायज भए पनि तोडफोड र आगजनीले पीडा थपेको बताउँछन् । उनको होटल सरोबर जेनजी आन्दोलनको क्रममा कामै नलाग्ने गरी आगजनी र तोडफोड भएको छ ।

‘युवाहरूको आक्रोश जायज थियो । भ्रष्टाचार र बेथिति निकै बढेको पनि थियो, तर शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने थियो,’ उनले भने, ‘युवाहरूको ज्यान गुम्नु अत्यन्तै दुःखद् कुरा भयो । तर युवाहरूको नाममा जुन अराजकता र तोडफोड अनि आगजनी भयो, त्यो पनि निकै पीडादायी भयो ।’

पहारीले भवनसँगै उद्यम गर्ने सोचमै आगो लगाइएको गुनासो गरे । ‘अहिले भवन जलेको पीडा त छँदैछ, तर त्यसभन्दा ठुलो डर उद्यम गर्ने सोचमै आगो लगाइएको हो कि भन्ने हो,’ उनले भने, ‘के हामी विदेशी लगानीकर्ता भित्र्याउने नाममा स्वदेशी लगानीकर्तालाई नै निरुत्साहित त गरिरहेका छैनौँ ?’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले विनाकारण निजी क्षेत्रमाथि आक्रमण हुनु निन्दनीय भएको बताए । ‘जसको नाममा भए पनि निजी क्षेत्रमाथि आक्रमण हुनु गलत हो । यो प्रकारको दण्डहीनताको अन्त्य हुनुपर्छ,’ उनले भने ।

मुल्मीले लुटपाट, चोरी, तोडफोड र आगजनीमा संलग्नलाई कारबाही गर्न र त्यस्ता व्यक्तिबाटै क्षतिपूर्ति भराउन माग गरे । ‘निजी क्षेत्रले आफू पनि आन्दोलनकारी हो भनेन भने सरकारले सुन्दैन,’ उनले भने, ‘आन्दोलनमार्फत निजी क्षेत्रले आफू पनि एउटा शक्ति हो भन्ने सन्देश दिन सक्नुपर्छ ।’

उत्पादन र रोजगारी दिने संयन्त्रलाई संरक्षण गर्न सरकारलाई उनको सुझाव छ ।

पोखरामा आधा दर्जनभन्दा बढी होटलमा आगजनी गरिएको छ । पार्टी प्यालेसदेखि गाडीको शोरुममा समेत आगो झोसिएको छ । जसका कारण व्यवसायीहरू त्रसित बनेका छन् ।

पोखरालाई सरकारले पर्यटनको राजधानी घोषणा गरेको छ । अन्तर्राष्ट्रिय पर्यटकको सिधा पहुँच भएको पोखरा अहिले सुनसान छ । जेनजी प्रदर्शनपछि पोखरामा आउने आन्तरिक पर्यटक शून्य भएको र विदेशी पर्यटकले समेत बुकिङ रद्द गरिसकेका व्यवसायीहरू बताउँछन् ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी पीडा सुनाउने ठाउँ समेत नपाएको बताउँछन् । ‘समस्या जहाँबाट छ, समाधान त्यहीँबाट निस्किन्छ । छलफल एकदम आवश्यक छ, तर यहाँमात्रै छलफल गरेर हुँदैन,’ उनले भने, ‘अब देश शान्त भयो, सबै कुरा भयो, सरकार बन्यो भन्ने अवस्थामा चित्त बुझाएर, चुप लागेर बस्ने अवस्था हाम्रो छैन ।’

उनले एकपछि अर्काे आन्दोलनले देशमा अशान्ति बढेको भन्दै पर्यटकहरू आउन सक्ने अवस्था नबनेको बताए ।

फेरि आन्दोलन हुने सन्देश प्रवाह भइरहेकोतर्फ सङ्केत गर्दै उनले यस्तो सन्देशले विदेशीहरू नेपाल नआउने र यसको पीडा व्यवसायीसँगै सिंगो देशले भोग्नुपर्ने प्रस्ट पारे ।

दसैँ–तिहारको वेलामा खचाखच हुने आन्तरिक पर्यटक पनि यसपालि पोखरा नआएका सुवेदीको भनाइ छ । देशमा स्थिरता नभएका कारण व्यवसायमा पुनः लगानी गर्न व्यवसायी तयार नभएको उनको तर्क छ ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले अर्बाैंको लगानी गरेर सयौँलाई रोजगारी दिने व्यवसायीलाई आन्दोलनका नाममा बारम्बार दुःख दिँदा निजी क्षेत्रको मनोबल गिरेको बताए । उनले पनि दोषीमाथि कारबाही र क्षतिपूर्ति तिराउनुपर्नेमा जोड दिए ।

पोखरामा पर्यटनसँगै अन्य क्षेत्रमा पनि लगानी बढ्दो छ । लयमा गइरहेको निजी क्षेत्र अहिले भाँचिएको छ । लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले निजी क्षेत्रमाथि सुनियोजित रूपमा आक्रमण भएको बताउँदै संलग्नलाई कारबाही नहुँदासम्म उद्यममा फर्कन सम्भव नभएको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप