शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
संकटग्रस्त क्षेत्रबाट स्थलगत अनुभूति

इलाम रोइरहेको छ, तर हारेको छैन

शनिबार, २५ असोज २०८२, १९ : १७
शनिबार, २५ असोज २०८२

सारांश

  • इलाममा अविरल वर्षापछिको बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको छ, जसमा ३९ जनाको मृत्यु भएको छ र सयौं परिवार विस्थापित भएका छन्।
  • इलाम नगरपालिका, माङ्सेबुङ र देउमाई नगरपालिकामा स्थलगत भ्रमण गर्दा ३०० भन्दा बढी घरपरिवार अस्तव्यस्त भएको पाइएको छ।
  • स्थानीय सरकार, जिल्ला प्रशासन र विभिन्न संघसंस्थाले राहत वितरण गरिरहेका छन् भने सरकारले इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

गत असोज १८ र १९ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोले हाम्रो जिल्लाको भूगोल मात्र होइन, यहाँका कैयौं परिवारको वर्तमान र भविष्य नै क्षतविक्षत बनाएको छ । 

यस अकल्पनीय प्राकृतिक विपत्तिमा हामीले ३९ जना आफन्त गुमायौं, सयौं परिवार आफ्नो थातथलोबाट विस्थापित हुनुभएको छ । विपद्को यो घडीमा एक निवर्तमान जनप्रतिनिधिको रूपमा म पीडितको घाउमा मलम लगाउन र उहाँहरूको आवाजलाई सम्बन्धित निकायसम्म पुरÞ्याउन निरन्तर स्थलगत भ्रमणमा छु । यो मेरो कर्तव्य मात्र होइन, मेरो माटोसँगको भावनात्मक सम्बन्ध पनि हो । 

Suhang (7)

मैले इलाम नगरपालिकाका सबै वडाहरू, माङ्सेबुङ गाउँपालिका र देउमाई नगरपालिकाको भ्रमण गरिसकेको छु । अवस्था मैले सोचेभन्दा निकै भयावह र दर्दनाक छ । तथ्याङ्कमा भन्नुपर्दा ३०० भन्दा बढी घरपरिवार पूर्ण रूपमा अस्तव्यस्त हुनुभएको छ । १ सय ४० भन्दा बढी घरहरू अब बस्नै नमिल्ने गरी विस्थापित भएका छन् ।  

देउमाईमा बाढीले विध्वंस मच्चाएको छ भने अन्य धेरै ठाउँमा पहिरो र भूक्षयले विनाश निम्त्याएको छ । इलाम नगरपालिकाभित्रै विकासका पूर्वाधार भनेर बनाइएका थुप्रै सडक र पुलहरू बाढीले बगाएर लगेको छ । मानिसहरूको आवतजावत मात्र होइन, राहत र उद्धार कार्यसमेत प्रभावित बनेको छ । अब हाम्रो टोली सन्दकपुर, माईजोगमाई र फिक्कलतर्फ जाँदैछ । त्यहाँबाट पनि ४०–४० भन्दा बढी घरहरू अस्तव्यस्त भएको प्रारम्भिक जानकारी आएको छ । त्यहाँको वास्तविक अवस्था प्रत्यक्ष नदेखेसम्म यही हो भन्न सक्दिन ।

Suhang (8)

यति ठुलो विनाश र मानवीय क्षतिका बीचमा मैले एउटा यस्तो शक्ति देखें, जसले मलाई थप ऊर्जा दिएको छ । त्यो हो इलामका नागरिकको अटुट आत्मबल र सामाजिक एकता । यस्तो विच्चलीमा पर्दा पनि उहाँहरूको आशा मरेको छैन । आफ्नो सर्वस्व गुमाउँदा पनि उहाँहरूको अनुहारमा निराशा होइन बरु यो संकटबाट कसरी पार पाउने भन्ने दृढता झल्किन्छ ।

कुराकानीका क्रममा उहाँहरूले तत्कालको राहतभन्दा पनि आफ्नो आवाज माथिसम्म पुगोस् र समस्याको दिगो समाधान होस् भन्ने चाहना व्यक्त गर्नुभएको छ । सबै नागरिकहरू एकजुट भएर सरसफाइ र उद्धारका काममा हातेमालो गरिरहनुभएको छ । यो निराशाको बीचमा देखिएको एकताको सकारात्मक दृश्यले हामीलाई छिट्टै उठ्नेछौं भन्ने विश्वास दिलाएको छ । विस्थापित परिवारहरू अहिले आफन्तको घरमा आश्रय लिएर बस्नुभएको छ, तर यो अस्थायी समाधान मात्र हो ।

Suhang (3)

विपद्लगत्तै स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय र विभिन्न संघसंस्थाहरू राहत वितरणका लागि समन्वय गरेर लागिरहनुभएको छ । स्थानीय सरकारले मृतकका परिवारलाई क्षतिपूर्ति तथा विस्थापितलाई पाल र खाद्यान्नजस्ता सामग्री उपलब्ध गराइसकेको छ । तर, बाटोघाटो अवरुद्ध हुँदा प्याङजस्ता विकट ठाउँहरूमा राहत पुर्‍याउन निकै कठिन भइरहेको छ ।

अहिले तत्काललाई खाद्यान्नको ठुलो संकट नदेखिए पनि यो अवस्था लम्बिएमा अर्को संकट निम्तिने खतरा छ । तराईका क्षेत्रबाट आउने पेट्रोलियम पदार्थ र अन्य अत्यावश्यक सामग्रीहरूको आपूर्ति ठप्प हुने अवस्था आउन सक्छ । त्यसैले सबैभन्दा पहिलो प्राथमिकता भनेको अवरुद्ध बाटोहरू खुलाउनु हो, जसमा स्थानीय समुदाय र सरकारी निकायहरू मिलेर काम गरिरहनुभएको छ । 

Suhang (5)

सरकारले इलामलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । यो एक महत्वपूर्ण कदम हो, तर घोषणा मात्र पर्याप्त छैन । यसको प्रभावकारी कार्यान्वयन आजको सबैभन्दा ठुलो आवश्यकता हो । खुसीको कुरा सरकारले यो विषयलाई गम्भीरतापूर्वक लिएको छ । भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ, भौतिक पूर्वाधार तथा गृह मन्त्रालयका सचिवहरू र प्रहरी महानिरीक्षक (आईजीपी) सहितको उच्चस्तरीय टोली अहिले इलाममा स्थलगत अध्ययनका लागि आउनुभएको छ । उहाँहरूले स्थानीय पालिकाका प्रमुखहरू र सिडिओसँग समन्वय गरेर समस्याको छिटोछरितो समाधान निकाल्न पहल गरिरहनुभएको छ । जसले हामीलाई आशावादी बनाएको छ ।

Suhang (6)
यो विपत्ति आउनुअघि नै मैले इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर आवश्यक कदम चाल्न आग्रह गरेको थिएँ । अहिले त्यो घोषणा भएको छ । अब मेरो आग्रह छ— कुनै पनि हिसाबले ढिलासुस्ती नगरीकन आवश्यकता र प्राथमिकताका आधारमा काम अघि बढाइयोस् । अहिले देशका अन्य ठाउँमा यति ठुलो क्षति नभएकोले सरकारलाई काम गर्न पनि सहज छ । त्यसैले, सम्पूर्ण ध्यान इलाममा केन्द्रित गरेर यहाँका जनतालाई सहजीकरण गर्न र उहाँहरूको जीवनस्तरलाई सामान्य अवस्थामा फर्काउन सरकारले शतप्रतिशत प्रयास गर्नुपर्छ भन्ने मेरो जोडदार माग छ । 

अहिले हामी सबैको एउटै लक्ष्य हुनुपर्छ– इलामको पुनर्निर्माण र पुनरुत्थान । यसका लागि तीनै तहका सरकार, नागरिक समाज, निजी क्षेत्र र स्थानीय समुदायबीच बलियो समन्वय आवश्यक छ । हामीले अल्पकालीन राहतसँगै दीर्घकालीन पुनस्र्थापनाको योजना बनाएर अघि बढ्नुपर्छ । विस्थापित परिवारहरूको सुरक्षित बसोबास, बालबालिकाको शिक्षा र जीविकोपार्जनको व्यवस्थापन हाम्रो मुख्य प्राथमिकता हुनुपर्छ ।

Suhang (4)

इलामले भोगेको यो पीडा शब्दमा वर्णन गर्न सकिँदैन । तर, यहाँका मानिसहरूको साहस र एकताले हामीलाई यो संकटबाट बाहिर निस्कने शक्ति दिएको छ । म एक पूर्वजनप्रतिनिधिको हैसियतले यो पुनर्निर्माणको अभियानमा सधैं अग्रपंक्तिमा रहनेछु र इलामको मुहारमा पुनः खुसी फर्काउन कुनै कसर बाँकी राख्ने छैन । इलाम फेरि उठ्नेछ, अझ बलियो भएर उठ्नेछ । 

रातोपाटीसँगको कुराकानीमा आधारित

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुहाङ नेम्वाङ
सुहाङ नेम्वाङ

नेता, नेकपा एमाले

लेखकबाट थप