बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रप्रमुख जनताबाटै निर्वाचित हुने प्रणाली आवश्यक : उपेन्द्र यादव

सोमबार, २७ असोज २०८२, १९ : ३८
सोमबार, २७ असोज २०८२

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा अब संविधान पुनर्लेखन गरी जनताबाट निर्वाचित राष्ट्रप्रमुख हुने प्रणाली आवश्यक रहेको बताएका छन् ।

जनकपुरधाममा सोमबार सुरु भएको पार्टी एकता पश्चातको प्रथम मधेस प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री यादवले अहिलेको व्यवस्था अस्थिर र भ्रष्टाचारमुखी बन्दै गएको आरोप लगाए ।

यादवले भने, “जनताबाट निर्वाचित सरकार प्रमुख हुँदा राष्ट्रप्रमुख पुनः तानाशाह हुन सक्छ। त्यसैले प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली ल्याउनुपर्ने आवश्यकता छ ।”

उनका अनुसार जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख भएमा सांसद किनबेच हुने समस्या अन्त्य भई देशमा दीर्घकालीन स्थिरता कायम हुनेछ ।

उनले अहिलेको निर्वाचन प्रणालीलाई ‘खिचडी प्रणाली’ भन्दै आलोचना गरे । यादवका अनुसार, “दुनियाँका ७१ देशमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली छ, जहाँ उम्मेदवार र दलले पैसा खर्च गर्नुपर्ने हुँदैन ।”

बहुदलीय व्यवस्था आएको झण्डै ३५/३६ वर्षमा कांग्रेस र कम्युनिष्ट पार्टीहरूले पालैपालो शासन गर्दै देश लुटेको आरोप पनि उनले लगाए। “ज्योतिषीलाई देखाएर दुई–तीन जना पटक–पटक प्रधानमन्त्री बने, तर जनताले केही पाएनन्,” उनले भने ।

सुन काण्ड, ओम्नी काण्ड, भुटानी शरणार्थी काण्ड र ललिता निवास काण्ड जस्ता घटनाले युवाहरूमा गहिरो आक्रोश पैदा भएको उल्लेख गर्दै यादवले भने, “आक्रोश पोख्ने सामाजिक सञ्जाल पनि नियन्त्रणमा परेपछि त्यो आक्रोश अब विद्रोहमा परिणत हुँदै छ ।”

यादवले मुलुकमा अहिले चुनावको वातावरण नरहेको, जनता भय र त्रासमा रहेको र संविधान अनुसार सरकार तथा संसद् विघटनको सम्भावना नभएको बताए । 

उनले देशलाई “अनिश्चितता र अन्योलको चक्र” बाट पार लगाउन नयाँ राजनीतिक मार्गदर्शन आवश्यक रहेको पनि बताए ।

त्यस अवसरमा जसपा मधेस प्रदेशका अध्यक्ष बालकिशोर यादवले पार्टीमा हालसम्म ८८ हजार ४ सय सदस्यले नवीकरण गराएको जानकारी दिए । 

उनले पुनः प्रदेश अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोही पदका लागि युवा नेता योगेन्द्र राय यादवले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप