सञ्चालनमा आयो बेनी–दरवाङ सडक
सारांश
- म्याग्दीको बेनी-दरवाङ सडक मर्मतपछि बस र ट्रक सञ्चालनमा आएका छन्।
- सडक मर्मतपछि धवलागिरि, मालिका र मङ्गला गाउँपालिकासँगको यातायात सहज भएको छ।
- सडक मर्मतले जलविद्युत आयोजनाका निर्माण सामग्री ढुवानी गर्न पनि सहज भएको छ।
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रमा रहेका तीनवटा स्थानीय तहलाई सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक मर्मत भएको छ ।
बर्खा रोकिएपछि सडकमा खसेको पहिरो पन्छाएर फराकिलो बनाएपछि बेनी–दरवाङ सडकमा यात्रुवाहक बस र मालवाहक सवारीसाधन सञ्चालन हुन थालेका छन् ।
पूर्वाधार विकास कार्यालयले फापरखेत, लाम्पाटा, पानाबगर र बाङ्गेपहिरोमा सडक मर्मत गरेको जनाएको छ । कार्यालयका सुपरभाइजर राम्जी आचार्यले बर्खा रोकिएपछि सडक मर्मत गरेर ठूला सवारीसाधन सञ्चालन गर्न मिल्ने बनाएको बताए ।
सडकमा पहिरो खसेर साँघुरिएको थियो । पहिरो पन्छाएर सडकलाई फराकिलो बनाएर दुईतर्फी सवारीसाधन सञ्चालन हुने बनाइएको सुपरभाइजर आचार्यले बताए। धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनी बजारसँग जोड्ने २४ किलोमिटर दूरीको बेनी–दरवाङ सडकमा गत असारदेखि ठूला सवारीसाधन सञ्चालन हुनसकेका थिएनन् ।
यो सडक बागलुङको तमानखोलाका बासिन्दाले पनि प्रयोग गर्छन् । पहिरो खसिरहने भएकाले बेनी–दरवाङ सडकको यात्रा कष्टपूर्ण र जोखिमयुक्त बनेको थियो । बर्खायाममा जीप, ट्याक्सी, माइक्रोबस, मोटरसाइकल र ट्रयाक्टर चलेका सडकमा मर्मत भएपछि बस तथा ट्रक सञ्चालन हुन थालेका छन् ।
म्याग्दी मालिका यातायात प्रालिका सञ्चालक अर्जुन आचार्यले सडक सुधार भएपछि दरवाङदेखि काठमाडौन् र काठमाडौँदेखि दरवाङ रात्रिबस सञ्चालन गर्न थालिएको बताए । म्याग्दी नदीमा निर्माणाधीन चारवटा जलविद्युत् आयोजना, सडक, भवन, खानेपानी, पुल, प्रसारण लाइन, सबस्टेशन आयोजनाका निर्माण सामग्री ढुवानी गर्न पनि सहज भएको छ ।
पूर्वाधार विकास कार्यालयमार्फत स्तरोन्नतिको अन्तिम चरणमा रहेको बेनी–दरवाङ सडकको विभिन्न ठाउँमा रहेका पहिरोको दीर्घकालीन रोकथाम नहुँदा बर्खायाममा पश्चिम म्याग्दीको यातायात सेवा प्रभावित हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा एक वर्षमा ५ करोडको अवैध सामान बरामद
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
-
बुकायो साकाको सानदार ह्याट्रिक, इङ्गल्याण्ड ५–३ को मजबुत स्थितिमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण