ओलीको नजरमा त्यो हत्या र आगजनी : आन्तरिक र बाह्य षड्यन्त्रको भयानक आक्रमण !
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटनालाई लोकतान्त्रिक व्यवस्था र संविधानमाथि आन्तरिक र बाह्य षड्यन्त्रको भयानक र त्रासदीपूर्ण आक्रमण भनेका छन् ।
‘भदौ २३ र २४ गते संघीय लोकतान्त्रिक गणतन्त्रको प्रणाली र संविधान विरुद्धको आन्तरिक र बाह्य षडयन्त्र भयानक र त्रासदीपुर्ण आक्रमाणका रुपमा प्रकट भयो’, ओलीले आफ्नो विशेष प्रस्तावमा भनेका छन् ।
दुईदिने जेनजी आन्दोलनका कारण सरकारको नेतृत्व नै छाडेर ज्यान जोगाउन केही समय सेनाको सुरक्षामा बसेका ओलीले बुधबारबाट सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा पेस गरेको ६ पन्ने विशेष प्रस्तावमा भदौ २३ पछिको विकसित राजनीतिक परिस्थितिबारे विश्लेषण गर्दै पार्टीका तर्फबाट दृष्टिकोण सार्वजनिक गरेका हुन् ।
आफ्नो प्रस्तावमा आफू नेतृत्वको सरकार वा पार्टीले कुनै गल्ती नगरेको दाबी गर्दै धेरै प्रतिकूलताका बिचमा सरकारले निष्ठापूर्वक धेरै काम गरेको चर्चा गरेका छन् ।
_58CIMGFU9K.jpg)
‘हामीले सरकारमा रहेर वा पार्टीबाट नीतिगत वा व्यावहारिक रुपमा गल्ती गरेका थिएनौं, तर पनि विरोधीहरुले राम्रा कामको अनदेखा गर्ने मात्र होइन, सबै क्षेत्रमा नराम्रो मात्र भयो भन्ने, कुनै खास घटनामा आधारित भएर आलोचना वा विरोध नगरी गोलमटोल भाषामा सर्वत्र भ्रष्टाचार छ भन्ने भाष्य निर्माण गर्ने, लोकतान्त्रिक पार्टी र नेतामाथि घृणा फैलाउने काम र पक्षपोषण हुँदै आएकाले २३ गतेको घटना हुन गएको ओलीको विश्लेषण छ । ओलीले भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै २३ गते शान्तिपूर्ण आन्दोलनमा उत्रिएपनि विभिन्न प्रकारका स्वार्थी तत्व र समूहहरुको घुसपैठले अवस्थालाई भड्काएर हिंसात्मक बनाएको हुनसक्ने ठहर गरेका छन् ।
‘हामी स्पष्ट हुनुपर्दछ, जेनजी युवाहरुले राष्ट्रिय झण्डा ओढेर संसद् भवन, सिंहदरबार,सर्वोच्च अदालत लगायत सार्वजनिक सम्पत्ति र व्यक्तिको निजी सम्पत्तिमा आगो लगाउन सक्दैनन् र लगाएका होइनन्’, ओलीको निष्कर्ष छ ।
१५ बुँदामा पछिल्लो राजनीतिक घटनाक्रमलाई विश्लेषण गरेका ओलीले भदौको २ दिने आन्दोलनपछि मुख्य राजनीतिक दलहरुबिच सहमति निर्माण गर्ने र कुनै पनि अर्थमा प्रतिनिधिसभा विघटन गर्न नहुने स्पष्ट र दृढ अडान राखेको समेत बताएका छन् ।
‘तर त्यो सुझाव विपरीत संविधान बाहिरबाट सरकार गठन गरिएको छ । तसर्थ यो सरकार असंवैधानिक छ’, ओलीले वर्तमान सरकारबारे आफ्नो दस्तावेजमा उल्लेख गरेका छन् । ओलीले त्यसरी बनेको सुशीला कार्की नेतृत्वको सरकारले गरेको प्रनिनिधिसभा विघटन असंवैधानिक मात्र नभएर अलोकतान्त्रिक रहेको भन्दै यसले राजनीतिक रिक्तताको स्थितिमा पुर्याएको र लोकतन्त्र विरोधी शक्तिलाई उत्साहित तुल्याएको ठहर गरेका छन् ।
‘हाम्रो पार्टी असंवैधानिक र अलोकतान्त्रिक ढंगले गरिएको प्रतिनिधिसभा विघटनप्रति आपत्ति व्यक्त गर्दछ र तत्काल पुनर्स्थापना हुनुपर्दछ भन्ने कुरामा जोड दिन चाहन्छ’, ओलीले भने । यही अवस्थामा फागुन २१ को चुनाव नस्वीकार्ने प्रस्ट संकेत पनि उनले गरेका छन् ।
सुशीला कार्की नेतृत्वको सरकारले बनाएको छानबिन आयोगका सम्बन्धमा ओलीले उक्त घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्ने, तर यति ठुलो छानबिनको नेतृत्व जसलाई सुम्पिएको छ, त्यसबाट त्यो सम्भव नहुने भन्दै प्रश्न उठाएका छन् ।
‘जो राजनीतिक दल, नेतृत्व र प्रक्रियाप्रति गम्भीर पूर्वाग्रह र दूषित धारणा राख्छन्,जसले यसअघि नै तत्कालीन प्रधानमन्त्री लगायत राजनीतिक नेतृत्वप्रति आफ्नो फैसला सुनाइसकेका छन्’, ओलीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ अयोगप्रति कटाक्ष गर्दै भने ।
नयाँ सरकार गठनपछि मुलुकको शान्ति सुरक्षाको स्थिति जोखिमपूर्ण बनेको भन्दै ओलीले सुरक्षाकर्मीका झण्डै १२ सय हतियार खोसिएको, एक लाख गोली अझै अपराधीहरुसँगै रहेको तथा ५ हजारभन्दा बढी कैदी जेलबाहिर रहेकाले समाजमा त्रास र भयको अवस्था रहेको बताए ।
‘मारिएका र घाइते साथीहरु, लुटिएका हतियार, ध्वस्त संरचनाका कारण प्रहरीको मनोबल टुटेको छ । बर्बर हत्या एवं आक्रमणका घटनाहरु बढिरहेका छन् । सरकार शान्ति सुरक्षा कायम गर्न असमर्थ छ’, ओलीले भने ।
_PXskKZPmcC.jpg)
भ्रष्टाचार नियन्त्रण र सुशासन कायम हुनुपर्छ भन्ने जेनजी युवाहरुको माग सकारात्मक भएको भन्दै ओलीले अपेक्षित मात्रमा भ्रष्टाचार नियन्त्रण हुन नसकेको स्वीकार गरेका छन् ।
ओलीले राष्ट्रियता, लोकतन्त्र र संविधान पक्षधर सबै राजनीतिक दल, देशभक्त र नागरिक समाजलाई यी उपलब्धिको रक्षा र पुनर्बहालीका लागि एकतावद्ध भएर अगाडि बढ्न आह्वान गरे । उनले पार्टीभित्र समेत सुदृढ एकतामा जोड दिएका छन् ।
‘हालै बसेको केन्द्रीय सचिवालयको बैठकले गम्भीर, खुलाखुलस्त र व्यापक छलफलपश्चात केही महत्त्वपूर्ण निष्कर्षहरु निकालेको छ’, ओलीले भने, ‘मुलुकको असहज परिस्थितिमा पार्टीको एकतालाई थप सुदृढ र उच्च बनाएको छ ।’
देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन आन्दोलनको विकल्प नदेखेका ओलीले आगामी दिनमा जनपरिचालन र जनआन्दोलनका विभिन्न कार्यक्रम तय गर्दै अघि बढ्न सिंगो पार्टीपंक्ति, लोकतन्त्रपक्षधर र राजनीतिक दलसहित आम नागरिकलाई आह्वान गरेका छन् ।
पार्टी नेतृत्व छाड्न दबाब परिरहेका बेला ओलीले आगामी मंसिर अन्तिम साता पार्टीको ११ औं राष्ट्रिय महाधिवेशनको म्यान्डेटअनुसार नयाँ नेतृत्व चयन हुने प्रष्ट बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण