शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

‘रेडफोर्स’मार्फत नयाँ बहस सिर्जना गर्ने स्मृति

उच्चतहदेखि तल्लो तहसम्मका माओवादी नेतालाई हाँक दिँदैछिन् २५ वर्षीया युवती
शुक्रबार, ३१ असोज २०८२, १८ : ५१
शुक्रबार, ३१ असोज २०८२

विराटनगर । मोरङको कटहरी गाउँपालिका–७ तकियाको एक सामान्य किसान परिवारकी २५ वर्षीया युवती स्मृति तिम्सिनाले नेकपा माओवादी केन्द्रका उच्च तहका नेतालाई हाँक दिइरहेकी छिन् । आफूलाई ‘जेनजी रेडफोर्स’को संयोजक घोषणा गरेकी उनी पार्टीभित्रको गुटबन्दी, व्यक्तिवाद र सिद्धान्तहीनताविरुद्ध नयाँ अभियान सुरु गरेको बताउँछिन् । तर स्मृतिको यो विद्रोहको जरा उनको बाल्यकाल र पारिवारिक पृष्ठभूमिसँग जोडिएको छ । जुन कथा दशवर्षे माओवादी जनयुद्ध र त्यसपछिको शान्ति प्रक्रियासँग जोडिन्छ । 

स्मृतिको जन्म २०५७ फागुनमा काभ्रेको धुमखर्कमा भयो । त्यो समय देश सशस्त्र द्वन्द्वको उत्कर्षमा थियो । उनका बुबा विक्रम तिम्सिना २०५४ सालमै काभ्रेबाट माओवादी युद्धमा आवद्ध भइसकेका थिए । ‘म जन्मिँदा बुबा युद्धमै हुनुहुन्थ्यो,’ उनी सुनाउँछिन्, ‘मेरो बाल्यकाल सामान्य बालबालिकाको जस्तो घरको आँगनमा होइन, चितवनको शक्तिखोरस्थित माओवादीको तेस्रो डिभिजन क्याम्पमा बित्यो ।’

उनको घर भनेकै त्यही क्याम्प थियो, जहाँ माओवादी योद्धाहरु बस्थे । उनका खेलौना बन्दुक र गोलीगठ्ठा नभएपनि उनका दौँतरी र अभिभावक भनेकै ती लडाकु थिए । उनले कक्षा ४ सम्मको पढाइ त्यही क्याम्पभित्र पूरा गरिन् । 

‘म त्यहीँ हुर्किएँ, त्यहीँ पढेँ । मेरो वरिपरि जनमुक्ति सेना, युद्धका घाइते र सहिदका परिवार हुन्थे,’ उनी भन्छिन्, ‘मैले त्यो त्याग र बलिदानलाई नजिकबाट देखेकी छु । त्यसैले आज जब पार्टी ती सबै सपना र बलिदानलाई बिर्सेर केही नेताको स्वार्थमा पार्टी चल्छ, मलाई चित्त दुख्छ ।’

दशवर्षे जनयुद्धपछि देशमा शान्ति प्रक्रिया सुरु आयो । स्मृतिका बुबाले पनि अन्य लडाकुसरह अवकाश रोजे । सरकारले दिएको ५ लाख रुपैयाँको ‘गोल्डेन ह्यान्डसेक’ लिएर उनको परिवार मोरङमा बसाइ सर्‍यो । त्यही पैसाले उनीहरूले ११ कठ्ठा जमिन किने र खेतीपाती गरेर नयाँ जीवन सुरु गरे । 

Smriti Timsina3

‘हामी कुनै धनी परिवारका होइनौं, हामी तल्लो मध्यम वर्गीय किसान परिवार हौं,’ उनकी आमा चन्द्रकुमारी लामिछानेले भनिन्, ‘हामीले रगत र पसिना बगाएको पार्टीबाट व्यक्तिगत लाभ खोजेनौं, केवल देश र जनताको परिवर्तन चाहेका थियौं । अहिले छोरीले अभियान चलाउँदा खुसी लागेको छ ।’

अहिले पनि उनको परिवार खेतीपातीमै निर्भर छ । उनका भाइले सिभिल इन्जिनियरिङ (ओभरसियर) सकेर कोरिया जाने तयारी गरिरहेका छन् । जुन नेपालका लाखौं युवाको साझा सपना र बाध्यताको प्रतीक हो । उनका बुबा अहिले पनि सेक्युरिटी गार्डको काम गर्छन् ।

पारिवारिक पृष्ठभूमिले उनलाई राजनीतिमा सचेत बनायो । उनी हाल महेन्द्र मोरङ क्याम्पसमा पत्रकारिता र राजनीतिशास्त्रमा स्नातक तह चौथो वर्षमा अध्ययनरत छिन् । तर उनको सक्रियता काठमाडौंमा बढी हुने भएकाले उनी आरआर क्याम्पसमा गएर कक्षा लिन्छिन् ।

माओवादी पार्टी र त्यसका भ्रातृ संगठनभित्रको चरम गुटबन्दीले उनलाई विद्रोहका लागि बाध्य बनायो । ‘यो वर्षमानको मान्छे, यो जनार्दनको मान्छे’ भनेर क्षमताभन्दा गुटलाई प्राथमिकता दिने प्रवृत्तिले उनलाई दिक्क बनायो । यही निराशाबिच उनले सामाजिक सञ्जालमा एक हप्ता अगाडि गरेको एउटा पोस्टले अभियानको रूप लियो । 

जुन पोस्ट थियो, ‘७७ जिल्लाका कट्टर माओवादी र माओवादीलाई चाइनाको जस्तै एक मात्र पार्टी बनाउन चाहने साथीहरु सबले म्यासेज गर्नुस् । अब तपाईं हामी मिलेर माओवादीलाई फेरि रातो बनाउने, माओवादीलाई बचाउन बिना हतियारको दोस्रो जनयुद्ध लड्नुपर्नेछ । भ्रष्टाचारविरुद्ध, माफियाविरुद्ध… ।’

उनको त्यही आह्वानपछि सयौं फोन आए । हजारौं म्यासेज आए । त्यसपछि रेडफोर्स निर्माणको अभियान तीव्र गतिमा फैलिएको उनी बताउँछिन् । आज उनको ‘रेडफोर्स’ ५५ जिल्लामा फैलिसकेको छ । जहाँ अधिकांश १५ देखि २९ वर्षका युवा छन् । उनी जेनजी विद्रोहलाई सकारात्मक रूपमा लिन्छिन्, तर त्यसलाई वैचारिक नेतृत्व दिनुपर्ने आवश्यकता देख्छिन् । ‘उनीहरूको आक्रोश जायज छ, तर विचार र नेतृत्वविनाको आन्दोलनले गन्तव्य भेटाउँदैन,’ उनी भन्छिन्, ‘हामी उनीहरूलाई वैचारिक नेतृत्व दिन तयार छौं ।’

Smriti Timsina1

प्रत्यक्ष कार्यकारी प्रमुख, धर्मनिरपेक्षता, पूर्ण समावेशिता र नेपालको माटो सुहाउँदो कम्युनिस्ट पार्टी निर्माण उनको प्रमुख लक्ष्य हो । ‘हामी पार्टीलाई ध्वस्त पार्न होइन, शुद्धीकरण गरेर विचारको जगमा बलियो बनाउन आएका हौं,’ उनी आफ्नो अठोट सुनाउँछिन्, ‘जुन सपना बोकेर मेरा बुबा र हजारौं योद्धाहरूले रगत बगाए, त्यो सपनालाई मर्न नदिन यो विद्रोह आवश्यक थियो र छ ।’

जनयुद्धको राप र तापमा हुर्किएकी स्मृति आज त्यही आन्दोलनको विरासत बोकेको पार्टीलाई सही बाटोमा हिँडाउन नयाँपुस्ताको एक आवाज बनेर उभिएकी छन् । उनको यो यात्राले कस्तो मोड लेला, त्यो भविष्यले बताउनेछ । तर उनको विद्रोहले माओवादी पार्टीभित्र एउटा बहस भने सिर्जना गरिदिएको छ । पार्टीका आधिकारिक युवाहरु रहेको विद्यार्थी संगठन र वाइसिएल जस्ता संगठनहरु उनको अभियानले छायाँमा परेका छन् । उनको अभियानपछि उनी आफैं नेतृत्वको नजरमा परेकी छिन् । सयौं घाइते, अपाङ्गता, बेपत्ता र सहिद परिवारका मानिसहरुले उनलाई हौसला दिइरहेका छन् र आशाको नजरले हेर्न थालेका छन् ।

देशविदेशबाट आएको यही रेस्पोन्सलाई आधार मानेर उनले माओवादी पार्टीको भन्दा फरक एजेन्डासहित कार्यक्रमहरु सार्वजनिक गर्न आगामी कात्तिक ९ गते काठमाडौंमा पत्रकार सम्मेलन गर्ने जनाएकी छिन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप